विराटनगर। एक महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा खाद्य तेलको मूल्य खस्किएसँगै नेपालमा तयारी खाने तेलको मूल्य पनि घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले तयारी उत्पादन पनि घटबढ हुने गर्छ।
सोही अनुसार खाने तेलको मूल्य एक महिनामा लिटरमै ५० रुपैयाँ कम भएको हो। उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले एक महिनायता खाने तेलको मूल्यमा ५० रुपैयाँ घटेको बताए।
उनका अनुसार ४० दिनअघि कच्चा पदार्थको मूल्य अत्यन्त उच्च थियो। इन्डोनेसियामा प्रति टन १ हजार डलरमा बिक्री भइरहेको कच्चा पामोलिनको मूल्य १८ सय डलरभन्दा माथि पुगेको थियो। त्यसबेला नेपालमा तयारी पाम तेलको मूल्यप्रति लिटर ३ सयदेखि ३४० सम्म पुग्यो। अहिले बजारमा प्रति लिटर २५० देखि २९० सम्ममा पाइन थालेको छ।
त्यस्तै अर्जेन्टिनाबाट आयात गरिने भटमासको कच्चा तेलको मूल्य पनि एक–डेढ महिनाअघि टनको १२ सय डलरबाट एकैचोटि १९ सय डलर पुग्यो। यसका कारण नेपालमा तयारी भटमासको तेल एक लिटरको ३३० रुपैयाँदेखि ३४० रुपैयाँसम्म भयो। अहिले झरेर २९०–३०० मा आइपुगेको छ।
काबराले एक महिनाअघि क्वालिटीमा उत्पादित पाम तेलको मूल्यको एमआरपी प्रति लिटर ३२० भएकोमा अहिले २८० रुपैयाँ भएको जानकारी दिए। त्यस्तै भटमासको तेल ३३० बाट २९५ र सूर्यमुखी ३४० बाट ३३० भएको छ। मोरङ व्यापार संघका कार्यकारी सदस्य एवम् पशुपति खाद्य तेल उद्योगका सञ्चालक अमित शारडाले एक महिनाअघि पशुपतिबाट उत्पादित पाम तेलको मूल्यप्रति लिटर ३२६ रुपैयाँ भएकोमा अहिले २७० रहेको जानकारी दिए।
त्यस्तै भटमासको तयारी तेल लिटरको ३३५ रुपैयाँबाट २९० र सूर्यमुखी ३४० बाट ३१० भएको छ। ‘सबै उद्योगले कच्चा खाद्य तेलको अन्तर्राष्ट्रिय मूल्य हेरेर हरेक दिन एमआरपी परिवर्तन गर्ने अभ्यास गर्छन्,’ उद्योगी शारडाले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन पनि यही हो।’ वाग्मती आयलका संचालक मनोज तापडियाले पनि आफ्नो उद्योगले तयारी तेलमा प्रति लिटर ५० रुपैयाँसम्मले एमआरपी घटाएको उल्लेख गरे।
उद्योगी तापडियाले आफ्नो उद्योगमा कच्चा पामोलिनको प्रशोधन नहुने स्पष्ट पार्दै भटमास र सूर्यमुखीको तेलको मूल्य घटाइएको बताए। उनका अनुसार प्रति लिटर ३४० रुपैयाँ पुगेको भटमासको तयारी तेल अहिले २९० र सूर्यमुखी ३५० बाट ३२० भएको छ।
उद्योगी काबराका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा खाद्य तेलको मूल्य कति बेला घटबढ हुन्छ भन्न सकिन्न। लामो समयपछि दुई दिनमा भटमास र पामको कच्चा तेलमा फेरि १५ प्रतिशतले बढोत्तरी भएको छ। अहिले अर्जेन्टिनामा भटमासको कच्चा तेल टनको १५४० र कच्चा पामोलिन ११७० डलर पुगेको छ।
केहीले अझै घटाएनन्
अन्तर्राष्ट्रिय बजार अनुसार केही तेल उद्योगले भने मूल्य घटाएका छैनन्। ब्राण्डेड मानिएका केही उद्योगले मूल्य नघटाएर उपभोक्तासँग बढी रकम असुली रहेको काठमाडौंका एक थोक बिक्रेताले बताए।
'केही उद्योगले तेलको मूल्य घटाएका छन्। तर त्यो पनि अन्तर्राष्ट्रिय मूल्य अनुसार होइन। केही उद्योगले भने अझै पनि मूल्य नघटाई उपभोक्तालाई दोहन गरिरहेका छन्,' ती बिक्रेताले भने, नाम चलेका उद्योगले नै उपभोक्तामाथि ठगी गरिरहेका छन्।'
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा दैनिक मूल्य बढाउने उद्योगीले अहिले भने लिटरमा १० देखि २० रुपैयाँ घटाएर बसिरहेका छन्। 'अन्तर्राष्ट्रिय बजारमा मूल्य १८ सय डलर टन पुगेको भन्दै लिटरकै ३४० पुगेको तेल अहिले १ हजार डलरमा पुग्दा ५० रुपैयाँ मात्रै घटाएर बसिरहेका छन्,' ती बिक्रेताले भने, 'राज्यले समेत यस्तो मनपरीलाई छुट दिएको छ।'