BIZMANDU
www.bizmandu.com

भारतमा पेट्रोलियम पदार्थ सस्तो भएपछि सीमा क्षेत्रका पम्पको व्यापार चौपट, ऋण तिर्न हम्मे


भारतमा पेट्रोलियम पदार्थ सस्तो भएपछि सीमा क्षेत्रका पम्पको व्यापार चौपट, ऋण तिर्न हम्मे
भारतमा पेट्रोलियम पदार्थ सस्तो भएपछि सीमा क्षेत्रका पम्पको व्यापार चौपट, ऋण तिर्न हम्मे


विराटनगर। पाँच वर्षअघि भारतले पेट्रोलियम पदार्थको अन्तःशुल्कमा भारी वृद्धि गर्‍यो। भारतको केन्द्र सरकार र उत्तर प्रदेश, विहार लगायतका सबैजसो प्रान्तीय सरकारले अन्तःशुल्कमा वृद्धि गरेका थिए।

Tata
Global Ime

दुवै तहका सरकारको संयुक्तरूपमा अन्तःशुल्कको दर वृद्धि हुँदा लिटरमा नेपालको दरभन्दा भारु २५ रुपैयाँसम्मले विहार र उत्तर प्रदेश र पश्चिम बंगाल राज्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनपुग्यो।

यसअघि भारतका तीनवटै प्रान्त र नेपालमा पेट्रोलियम पदार्थको मूल्य समानजस्तै थियो। कहिले लिटरमा ५ रुपैयाँसम्म भारतमा सस्तो पर्थ्यो र कहिले नेपालमा। तर केन्द्र र प्रदेश सरकारको अन्तःशुल्क वृद्धिपछि नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ उल्लेख्यरूपमा महँगो भयो।

भारतमा महँगो भएपछि भारतीय कार, जिप, भ्यान, बाइक आदि ससाना सवारीसाधन इन्धन भर्न नेपालतिर आउन थाले। स-साना सवारीमात्र नभइ ठुला मालवाहक ट्रक, ट्यांकलरी र कन्टेनर बोक्ने लरीले पनि नेपालमै तेल हाल्न सुरु गरे।

पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका पूर्व अध्यक्ष मुकुन्द न्यौपानेका सम्झनामा नेपालमा भारतमा भन्दा डिजल र पेट्रोल भारु २०-२२ रुपैयाँले सधैं सस्तो भइरह्यो। एक पटक त भारु २५ ले सस्तो थियो।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएपछि भारतीय सवारीलाई लक्षित गर्दै सीमा क्षेत्रमा धेरै पेट्रोल पम्प खुले। एक व्यवसायीका अनुसार प्रदेश नम्बर १ मा मात्र सीमा क्षेत्रमा पाँच वर्षयता २५ वटा पम्प खुलेका छन्।

यसैबीच गत चैतका अन्तिम सातामा भारतले पेट्रोलियम पदार्थमा लगाउँदै आएको महँगो राजस्व घटाइदिएको छ। यसका कारण सीमा क्षेत्रका पेट्रोल पम्पहरूको कारोबार चौपट भएको छ।

हाल विहारमा डिजलको मूल्य प्रति लिटर १५२ रुपैयाँ छ भने मोरङ जिल्लामा २० रुपैयाँ बढी अर्थात् १७२ छ। त्यस्तै विहारमा पेट्रोलको मूल्य १७१ र नेपालको मोरङ जिल्लामा १० ले बढी अर्थात् १८१ छ।

विराटनगरमा रहेर पुर्ख्यौली रूपमा पेट्रोलियम पदार्थको व्यवसाय गर्ने अरविन्द अग्रवालले जोगबनी रोडमा सुनसरी ट्रेडिङ सेन्टर नामको पेट्रोल पम्प साढे चार वर्षअघि खोलेका हुन्।

भारतमा पेट्रोलियम पदार्थ महँगो हुन्जेल त सुनसरी ट्रेडिङको कारोबार आकर्षक थियो। अहिले सर्लक्क सेलाएको छ।‘गत चैतसम्म हामी दिनको न्यूनतम पनि १२ हजार लिटर डिजल बिक्री गर्थ्यौं,' अरविन्दले बिजमाण्डूलाई भने, ‘हिजोआज बढीमा दैनिक ५ सय लिटर बिक्री गरिरहेका छौं। पहिले भारतीय नम्बरका ट्रक, ट्रयांकलरी र लरीहरूले २ सय लिटर डिजल सजिलै भर्थे। अहिले बढीमा २० लिटर भर्छन्। आइसीपीदेखि ९ किलोमिटर दक्षिणमा भारतीय बजार बथनाहा छ। त्यहाँ पेट्रोल पम्प छ। त्यही बथनाहासम्म पुग्न चाहिने डिजल यहाँ भर्छन्।’

राजनीतिक कार्यकर्ता एवम् विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य ओमप्रकाश शाहले पनि भारतमा पेट्रोलियम पदार्थ महँगो भएपछि नेपालको सीमा क्षेत्रमा २ वर्षअघि पम्प खोलेका हुन्। उनको पम्प विराटनगरको आइसीपी जाने बाटामै छ। उनले पनि भारतीय सवारीलाई लक्षित गर्दै पम्प खोलेका हुन्।

देवमोना ट्रेडर्स भन्ने उनको पम्प उनकी आमाका नाममा छ। तर पेट्रोलियम व्यवसायीका हैसियतमा एसोसिएसनमा ओमप्रकाश आफैँ क्रियाशील छन् र कार्यसमितिका सदस्य छन्।

‘अहिले त हामी लोकल अटो, बाइक र टेम्पोलाई मात्र बिक्री गरिरहेका छौं,’ ओमप्रकाशले बिजमाण्डूलाई भने, ‘चैतभन्दा पहिले हामी दैनिक न्यूनतम १२ हजार लिटर डिजल बिक्री गर्थ्यौ। अहिले बढीमा २ हजार लिटर हुन्छ।’

नेपाल र भारतका पम्पमा भएको पेट्रोलियम पदार्थको मूल्यका अन्तरको फाइदा उठाउन सीमा क्षेत्रमा मात्र नभई मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा पनि साढे ५ वर्षअघि २ ठूला पेट्रोल पम्प खुले।

दुवै पम्पमा पेट्रोलियम पदार्थ ढुवानी संघ कोसीका निवर्तमान अध्यक्ष गुणराज निरौलाको अगुवाइमा अन्य पार्टनरहरूले लगानी गरेका छन्।

जसअनुसार एसिया फ्युल सेन्टरमा निरौलासहित गुरुदेव सिंह र मुकेश शर्माको लगानी छ। त्यस्तै नेपाल फ्युल सेन्टरमा निरौलासहित महेन्द्र अटल, सुनिल बिडला, गोपाल श्रेष्ठ, ललित पुनियाँ र ध्रुव सिग्देल गरी ६ साझेदार छन्।

‘नेपाल सरकारले जानी-जानी हामीलाई अप्ठ्यारो पार्ने काम गरेको छ,’ एसिया फ्युलका सञ्चालक गुरुदेवले बिजमाण्डूलाई भने, ‘हामीले बिक्रीको सम्भावना देखेर बैंकबाट कर्जा लिएर पम्प खोल्यौं। सरकारले अहिले अकस्मात् भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थलाई महँगो पारेको छ र हाम्रो व्यवसायलाई चौपट बनाइदिएको छ। बैंक ऋण कसरी तिर्ने भन्ने अवस्थामा हामी छौं। आगामी असोज मसान्तमा कसरी किस्ता तिर्ने भन्ने समस्या उत्पन्न भएको छ। नेपाल सरकारको एउटै नीतिले सयौं व्यवसायी अप्ठ्यारोमा परेका छन्।’

गुरुदेवका अनुसार भारतीय सवारीले तेल हाल्न छाडेका छन्। कसैले बढीमा ५० लिटर हाल्छन् । पहिले २ सय, ३ लिटरसम्म हाल्थे। मन्दीका कारण होला, नेपाली नम्बरका ट्रक पनि आधामात्र चलिरहेका छन्। चैतभन्दा अघि दैनिक १५ हजार लिटर डिजलको बिक्री थियो। अहिले हजार–१५ सयमा झरेको छ।

तस्करी पनि बन्द

नेपालमा नै पेट्रोलियम पदार्थ महँगो भएपछि यसको तस्करी पनि बन्द भएको छ। खासगरी मोरङ, सुनसरी, झापा, सिरहा र सप्तरीका सीमान्त क्षेत्रमा खुलेका पम्पबाट डिजलको तस्करी गर्ने गरिन्थ्यो।

सीमा वारि र पारिका धेरै युवाहरू पेट्रोलियम पदार्थको अवैध ओसारपसारमा सक्रिय हुन्थे। अहिले ठप्प छ। त्यस्तै भारतका सीमा क्षेत्रका ट्रयाक्टर नेपालमै तेल भर्न आउँथे र किसानहरू साइकल वा मोटर साइकलमा जर्किन बोकेर डिजल खरिद गर्न नेपालकै सीमावर्ती पम्प आइपुग्थे।

डिजलको बिक्री घट्यो – एनओसी

आयल निगमको प्रदेश नम्बर १ कार्यालयले वैशाख लागेपछि डिजलको बिक्रीमा ह्रास आएको जनाएको छ। कार्यालयका अनुसार २०७७ को वैशाखमा कोभिडका कारण कार्यालयबाट १ करोड २५ लाख लिटरमात्र डिजलको बिक्री भयो। तर २०७७ को जेठमा २ करोड ४९ लाख र असारमा २ करोड ८८ लाख लिटर डिजलको बिक्री गरिएको छ।

त्यस्तै २०७८ को वैशाखमा २ करोड २७ लाख, जेठमा १ करोड ९३ लाख र असारमा २ करोड ४० लाख लिटर डिजलको बिक्री भएको छ।

नयाँ वर्ष २०७९ लागेपछि भने प्रति महिना २ करोड लिटर डिजलको बिक्री कहिल्यै पुगेको छैन। सबैभन्दा बढी वैशाखमा १ करोड ९४ लाख लिटर बिक्री भएको छ। त्यस्तै जेठमा १ करोड ६५ लाख र असारमा १ करोड ९१ लाख लिटर बिक्री भएको छ।