BIZMANDU
www.bizmandu.com

निर्धन उत्थान लघुवित्तः निराशाजनक वित्तीय प्रस्तुतिले ‘ब्लु चिप’ को मूल्य खस्कँदै


निर्धन उत्थान लघुवित्तः निराशाजनक वित्तीय प्रस्तुतिले ‘ब्लु चिप’ को मूल्य खस्कँदै
निर्धन उत्थान लघुवित्तः निराशाजनक वित्तीय प्रस्तुतिले ‘ब्लु चिप’ को मूल्य खस्कँदै


काठमाडौं। धितोपत्र बजारमा कारोबार हुने केही लघुवित्त कम्पनीहरुले लगानीकर्तालाई वार्षिकरूपमा राम्रै प्रतिफल दिने गरेका छन्। त्यसैले पनि प्राथामिक होस् या दोस्रो बजार, राम्रो प्रतिफल दिने लघुवित्तको सेयर किन्न लगानीकर्ताको तँछाड मछाड हुन्छ। त्यस्तै लगानीकर्ताको चासो रहने एक लघुवित्त हो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड। 

Tata
Global Ime

दशक लामो इतिहास बोकेको लघुवित्त आफैंमा ब्लु चिप समेत रहेको लगानीकर्ताको मान्यता छ। सूचीकरण भएका सुरुवाती समयदेखि नै आकर्षक प्रतिफलद्वारा लघुवित्तले लगानीकर्ताको मन जित्दै आएको छ। सूचीकृत भएको ११ वटा आर्थिक वर्षमा मात्रै कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुल ४०८ प्रतिशत लाभांश वितरण गरिसकेको छ। 

औसत ३७ प्रतिशतका दरले वार्षिक प्रतिफल सेयरधनीको भागमा पर्ने गरेको छ। सँगै पुँजी बजारको टप टायर कम्पनी हो निर्धन उत्थान। लघुवित्त वर्गको संस्था भए तापनि व्यवसायमा कतिपय फाइनान्स र जिल्लास्तरीय विकास बैंकलाई समेत कडा चुनौती दिने क्षमता निर्धन उत्थानमा देखिन्छ। 

संस्था आफैं निर्धन नामक गैरसरकारी संस्थाले प्रदान गर्दै आएको लघुवित्त सेवाहरूको निरन्तरता हो। पछि राष्ट्र बैंकले निर्धन उत्थान लघुवित्तलाई बैंकिङ कारोबारका लागि लाइसेन्स दिएपछि निर्धनले आफ्नो सम्पूर्ण पोर्टफोलियो निर्धन उत्थान लघुवित्तलाई सुम्पिएको थियो। 
विभिन्न वाणिज्य बैंक र लाइफ इन्स्योरेन्सको लगानी समेत यस संस्थामा छ। नबिल, हिमालयन, एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको पनि लगानी यो लघुवित्तमा छ। विश्व बैंक अन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त कोष(आइएमएफ) र बंगलादेशी गरिमा ट्रष्टको लगानी पनि संस्थामा छ।

यस कारण पनि वित्तीय सुशासन बलियो भएको संस्था हो निर्धन उत्थान। यद्यपि, केही समयअघि सर्वाधिक मूल्यको सूचीमा पर्ने यस लघुवित्तको सेयर मूल्य पछिल्लो १० कारोबार दिनयता १३.०६ प्रतिशतले घटेको छ। 

नियमितरूपमा दोस्रो बजारमा कारोबार हुने यस कम्पनीको सेयर मूल्य एक्कासि तल आउनुको कारण हो मुनाफा घटेको हल्ला सँगसँगै आएको वित्तीय विवरण।  यसमा लघुवित्तको मुनाफासँगै प्रति सेयर आम्दानी पनि घटेको पाइएको छ। 

अघिल्लो अर्थात आर्थिक वर्ष २०७७/७८ मा प्रति सेयर आम्दानी ५४.२२ रहेकोमा गत अर्थिक वर्षको अन्तसम्मा घटेर ४६.८५ कायम हुन गयो। कम्पनीको केही दिनअघि सार्वजनिक भएको वित्तीय विवरणमा मुनाफासँगै प्रति सेयर आम्दानी खस्कँदा लघुवित्तका लगानीकर्ता आत्तिएका छन्।

यसै दौरान प्रमुख परिसूचक नेप्से र उपसूचक लघुवित्तले पनि उल्लेख्य गिरावट लिएका छन्। सोही सेयर बजारमा समावेश निर्धन उत्थानले पनि परिसूचक र उपसूचकको पछिल्लो प्रदर्शनीलाई पछ्याएको बुझिन्छ। यो साता मात्रै नेप्से साढे ३ प्रतिशत घट्यो, लघुवित्त उपसूचक पनि झन्डै त्यति नै। 

यस अलावा ‘लो क्याप स्टक’ मानिन्छन् लघुवित्तका सेयर। परिसूचकको सामान्य उतारचढावमा पनि सोही अनुकूल प्रस्तुति दिने प्रवृत्ति यी स्टकहरुको हुने गर्छ। 

पुँजी पनि उचाक्ली ठूलो हुँदैन, जस कारण सूचीकृत कित्ताको संख्या समेत निकै न्यून हुने गर्छ। निर्धन उत्थान लघुवित्तको पछिल्लो तथ्यांकअनुसार संस्थाको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ छ। संस्थाको कुल २ करोड १९ लाख ५० हजार कित्ता नेप्सेमा सूचीकृत भएको पाइन्छ। 

जसमध्ये १ करोड ७ लाख ५५ हजार कित्ता मार्केटमा खरिद-बिक्रीयोग्य छ। बाँकी संस्थापकको सेयर हो। त्यसमध्येबाट पनि नियमित कारोबारमा आउने सेयरको हिस्सा निकै न्यून छ। यस्तो प्रकृतिको स्टकको पछिल्लो मूल्य गतिविधि निराशाजनक हुनुको मुख्य कारण सन्तोषजनक वित्तीय प्रस्तुति नहुनु नै हो भन्न सकिन्छ। 

आशावादी लगानीकर्ताको मानसिकतामा घट्दो नाफाको प्रभाव उल्लेख्य परेको देखिन्छ। वित्तीय विवरण सार्वजनिक भए लगत्तै बिक्रेताको चाप थप बढेको थियो। परिणामस्वरूप तीव्र गतिमा कम्पनीको सेयर मूल्य ऒर्लिएको देखिन्छ।    

तथापि यो वर्ष खुद नाफा घटे पनि लघुवित्तको वितरणयोग्य नाफा भने राम्रै देखिएको छ। लघुवित्तको गत वर्षको वितरणयोग्य मुनाफा ८० करोड २० लाख ५९ हजार देखिएको छ। यसर्थ लघुवित्तले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई  ३६.५४ प्रतिशत लाभांश दिने क्षमता बोकेको छ। 

समग्र  बजारसँगै लामो समयदेखि वियरिस ट्रेण्डतर्फ दौडिएको कम्पनीको सेयर मूल्य गत आर्थिक वर्षको अन्त्य अन्त्यमा उकालो लागेको थियो। कम्पनीको वित्तीय विवरणको  पर्खाइमा रहेका लगानीकर्ता आकर्षकरूपमा लघुवित्तको सेयर खरिद गरिरहेका थिए। तर पुनः बजार घटेसँगै ओरालो लाग्न थालेको सेयर मूल्यले वित्तीय विवरणपछि पुनः निरन्तरता पाएको हो। 

२०७७ कात्तिकबाट प्रतिकित्ता ९७८ बाट उकालोको यात्रा तय गरेको  कम्पनीको सेयर मूल्य सोही वर्षको चैतसम्म आइपुग्दा सर्वाधिक उचाइ अर्थात ११९ मा पुग्यो। जुन १०४ प्रतिशतले बढी थियो। 

यस बीचमा यसरी मूल्य बढ्नुको कारण हो, कम्पनीले लगानीकर्तालाई प्रदान गरेको वार्षिक लाभांश र  त्रैमासिक रुपमा जारी भएको वित्तीय विवरण। 

यस बीचमा कम्पनीले आर्थिक वर्ष ७६/७७  को नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सेयर बजारको सन्दर्भमा जब कम्पनीले  लाभांशको घोषणा गर्छ, तब  सेयरको माग र मूल्यले थप उचाइ  पाउने गरेको छ। 

त्यस्तै उक्त लाभांशका लागि कम्पनीले तोकेको बुक क्लोजभन्दा अघिल्लो दिनसम्म १६९० पुगेको मूल्य, भोलिपल्ट मूल्य समायोजन भएसँगै घटेर १४४० पुग्यो। समायोजन भएको मूल्यमा लगानीकर्ताको सहभागिता देखिनुको सट्टा उल्टै बिक्रेताको चाप देखियो। जसले गर्दा कम्पनीको सेयर मूल्य १३०० को हाराहारीमा आइपुग्यो। उक्त समयमा भने कम्पनीको सेयरमा लगानीकर्ताको तीव्र आकर्षण देखिएको  छ। सो पश्चात निरन्तर बढ्न लागेको मूल्य २०७७ चैत  ३० गते सर्वाधिक उचाइमा पुगेको हो। 

लघुवित्तको मूल्य उक्त उचाइमा पुगेपछि लगानीकर्ताले नाफा बुक गरेर बाहिरिन खोजेका छन्। सो पश्चात कम्पनीको सेयर मूल्य २१.११ प्रतिशतले मूल्य घट्यो। 

उक्त समय बजार बुलिस ट्रेण्डमा गइरहेको थियो। त्यसमा पनि  लघुवित्तको वित्तीय विवरण सार्वजनिक भयो र पुनः मूल्य बढ्ने संकेत देखियो। २१ प्रतिशतले घटेको कम्पनीको सेयर मूल्य पछिल्लो बुलको समयमा २५ प्रतिशतले बढेर १८९५  मा पुगेको थियो। तर त्यो वृद्धिले केही दिनसम्म पनि निरन्तरता पाउन सकेन । त्यसपछि पुनः कम्पनीको सेयर मूल्य वियरिस ट्रेण्डमा  दैडिन थाल्यो। 

अन्य समयमा वित्तीय विवरण र लाभांश  पर्खिरहेका लगानीकर्ताले समग्र बजार नै घटेको समयमा कम्पनीको सेयर मूल्य पनि नियन्त्रण गर्न सकेनन्। फलस्वरुप पछिल्लो लाभांश वितरण गर्ने घोषणा, बुक क्लोजको प्रभाव परेन।

लघुवित्तले पछिल्लो समय अर्थात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ गरी  करिब ३१ प्रतिशत लाभांश वितरण गरेको  थियो। तर सो लाभांश ले पनि कम्पनीको सेयर  मूल्लयमा खासै प्रभाव  पारेन। त्यसमा पनि मूल्य समायोजन  पश्चात  घटेर कायम भएको मूल्यमा पनि तरलता  संकटका कारण लगानीकर्ताको उपस्थिति त्यति चाखलाग्दो देखिएन। मूल्य  निरन्तर घट्न थालेपछि नबढ्ने संकेत देखिएपछि  खरिदकर्ता भन्दा बिक्रेताको चाप देखियो। 

तथ्यांक अनुसार लघुवित्तको सेयर मूल्य पछिल्लो बुलयता समग्र सेयरबजार नै १८०० बिन्दुमा ओर्लिएको दिनसम्म कम्पनीको सेयर मूल्य पनि पछिल्लो बुलयताकै न्यून मूल्यमा आएको हो। अर्थात पछिल्लो बुलबाट  ५३.८३ प्रतिशतले घटेर ८७५  रुपैयाँमा आएको थियो। 

खुद नाफा घटे पनि वितरणयोग्य नाफा ८० करोड बढी
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको खुद नाफा घटेको छ। लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १३.५० प्रतिशतले घटेको हो। 

गत आर्थिक वर्ष लघुवित्तले १ अर्ब २ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/७८ को सोही अवधिमा लघुवित्तले १ अर्ब १८ करोड खुद नाफा आर्जन गरेको थियो। 

गत  आवमा लघुवित्तको खर्च बढेका कारण खुद नाफा घटेको हो। पछिल्लो तथ्यांक अनुसार  लघुवित्तको कर्मचारी खर्च अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा १५.८० प्रतिशत र संचालन खर्च ०.८१ प्रतिशतले बढेको पाइएको छ। तसर्थ खर्चको आकार बढेसँगै मुनाफा खुम्चिएको हो। 

गत आर्थिक वर्षमा सामान्य खुद फी कमिसन ४.९२ प्रतिशतले बढे पनि ११.७६  प्रतिशतले खुद ब्याज आम्दानी घटेको छ। यस्तै सञ्चालन मुनाफा पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सञ्चालन मुनाफा ८.९४ प्रतिशतले घटेर १ अर्ब ४७ करोड ६ लाख ८५ हजार पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ६१ करोड ५० लाख ८३ हजार सञ्चालन मुनाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तमा निक्षेपको आकार १४.९४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब १८ करोड निक्षेप संकलन गरेको छ। 

निक्षेपको आकार वृद्धिसँगै लघुवित्तले कर्जाको आकार पनि वृद्धि गरेको छ। गत आर्थिक वर्ष १५.५९ प्रतिशतले कर्जा विस्तारको आकार फैलाएको हो। यस अवधिमा संस्थाले २७ अर्ब ४३ करोड ७३ लाखभन्दा बढी रकम कर्जामा लगानी गरेको छ। 

यी दुवै  वर्षमा लघुवित्तले निक्षेपभन्दा बढी रकम कर्जा विस्तारमा लगानी गरेको देखिएको छ। यसका साथै गत अघिल्लो आवमा बेस रेट २०.५५ प्रतिशतले बढेको छ भने स्प्रेड रेट २५.०९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा लघुवित्तको बेस रेट १३.४९ प्रतिशत छ भने स्प्रेड रेट ६.६ प्रतिशत छ। 

यस्तै अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको सञ्चित मुनाफा ५०.३१ प्रतिशतले बढेको छ। अघिल्लो  वर्ष ५५ करोड २१ लाख १० हजार रहेको सञ्चित मुनाफा गत आर्थिक वर्षसम्म आइपुग्दा ८२ करोड ९८ लाख ८६ हजार पुगेको छ। 

गत आर्थिक वर्ष लघुवित्तको  जगेडा कोष पनि १२.२५ प्रतिशतले बढेको छ। सो वर्षको तथ्यांक अनुसार हाल जगेडाकोषमा १ अर्ब ८० करोड बढी छ। 

यसका साथै गत आवमा संस्थाको चुक्ता पुँजी  पनि २९.५० प्रतिशतले  बढेको छ। अघिल्लो आवको नाफाबाट लगानीकर्तालाई बोनस सेयर वितरण पश्चात पुँजी बढेको हो। हाल लघुवित्तको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख बढी छ।