काठमाडौं। किराना पसलदेखि डिपार्टमेन्ट स्टोरहरुसम्म सजाएर राखिने चकलेटहरुमा नेपाली जिब्रोले अझै पनि विदेशी स्वाद नै पछ्याउनुपर्ने बाध्यता हाबी छ।
चकलेटको इतिहास, उत्पादन, खपत र बजार पुरानो भइसकेका विश्वका धेरैजसो देशले सयौं भेराइटीका स्तरीय चकलेटहरु विश्वबजारमा पुर्याइसक्दा नेपालमा भने स्तरीय चकलेटका स्थानीय ब्रान्डहरु अझै पनि प्रभाव सिर्जना गर्न सक्ने गरी आउन सकेका छैनन्।
यद्यपि, नयाँ पुस्ताका उद्यमी-व्यवसायीहरुले अर्बौंको विदेशी चकलेटले दबदबा बनाएको नेपाली बजारमा विस्तारै स्वदेशी चकलेटको व्यवसायिक सम्भावना देख्न थालेका छन्।
चाइचाइ कन्फेक्सनरी त्यस्तै एउटा स्थानीय चकलेटियर हो, जसले नेपालको चकलेट बजारमा मौलिक ब्राण्डका साथ प्रिमियम सेगमेन्टमा आफ्नो छुट्टै पहिचान बनाउने ध्येयले उत्पादन बजारमा ल्याएको छ।
खाद्य वस्तुकै व्यवसायमा केही वर्षको अनुभव बटुलेकी ललितपुरकी शर्मिला श्रेष्ठ (५०) ले आफ्नो फुर्सद सदुपयोग गर्दै सुरु गरेको नेपाली चकलेटको ब्रान्ड नाम हो 'चाइचाइ'।
फुर्सदमा बनाउने चकलेट नै बन्यो व्यवसायको नयाँ बाटो
जीवनको मध्यान्तरतिर आइपुग्दा स्थानीय ब्रान्डबाट चकलेट उत्पादन व्यवसायमा हात हालेकी शर्मिला चाइचाइभन्दा अगाडि पासा: फुड नामक खाद्य वस्तुको व्यवसाय थिइन्। कारणवश पासा फुडमा लामो समय जम्न नसकेपछि उनी त्यसबाट बाहिरिन्।
पासाबाट अलगिएपछि त्यो घरमा नै त्यसै समय बिताइरहेकी शर्मिलालाई लाग्यो – उनको समय त्यतिकै खेर गइरहेको छ। यसरी खालि बसेर समय खेर फाल्नुपर्दा उनको छटपटी मात्र बढाएर आफ्नै केही काम थाल्ने हुटहुटी पनि जगायो।
त्यो हुटहुटीलाई उनले कोरा विचारमा मात्र सीमित हुन दिइनन्। आफ्नो व्यग्रतालाई परिवारसँग साटिन्। उनलाई ठ्याक्कै के काम थाल्ने भन्ने ठम्याउन गाह्रो भइरहँदा परिवारसँगको छलफलहरुपछि नै जन्मिएको बिजनेश आइडिया हो 'चाइचाइ कन्फेक्सनरी'।
खालि बसेर खेर गइरहेको समय फलदायी काममा बिताउन नपाउँदा बेचैन बनिरहेको अवस्थामा परिवारको सल्लाह, सुझाव र साथले आफ्नै चकलेट व्यवसाय सुरु गर्न उत्प्रेरित गरेको शर्मिला बताउँछिन्। चकलेट कै व्यवसायमा उनको रुचिको साइनोबारे शर्मिलाकी दिदीका छोरा अनुरुप श्रेष्ठ भन्छन्, ‘उहाँले पहिला पनि आफ्नो खालि समयमा चकलेटहरू बनाइराख्नु हुन्थ्यो। उहाँको रुचि त्यसमा नै छ भने त्यही काम नै गर्नु ठिक हो भनेर हामी सबैले सुझायौं।’
सबैको सल्लाह अनुसार नै शर्मिलाले चकलेटप्रतिको लगावलाई व्यवसायिक आकार दिन काम सुरु गरिन्।
उनी दिनभर चकलेट बनाउँथिन् र आफ्नो परिवार र आफन्तहरूलाई पनि चखाउँथिन्। ‘चकलेट बनाउने प्रक्रिया निकै जटिल हुन्छ। यसका लागि सही तापक्रम, समय, सामग्रीहरूको उपयुक्त संयोजन हुन अन्त्यत जरुरी हुन्छ। यो सबै नमिल्दा चकलेट कति त खेर पनि जान्थे। एक किलो चकलेट बनाउन करिब आठदेखि १२ घण्टासम्म लाग्ने गर्छ,’ उनी सुनाउँछिन्।
चकलेट बनाउने प्रक्रियामा पोख्त हुन उनले एक महिनाजति तालिम पनि लिइन्। गुणस्तरीय चकलेट बनाउनका लागि समय र तापक्रममा निकै ध्यान दिनुपर्ने हुँदा उपयुक्त तापक्रम कायम राख्ने किसिमको कोठा बनाउनलाई नै लगभग आठ लाख लगानी लागेको उनी बताउँछिन्। चाइचाइ कन्फेक्सनरी अहिलेसम्म उनले ज्वागलस्थित आफ्नो घरबाट नै सञ्चालन गरिरहेकी छन्।
भावनात्मकदेखि भौतिकसम्म परिवारको साथ
सन् २०२० को पूरा वर्षजसो नै शर्मिला र उनको सम्पूर्ण परिवार स्तरीय चकलेट उत्पादनको प्रशिक्षण लिने, उत्पादित चकलेट चिनजान र आफन्तहरूलाई चखाउँदै प्रतिक्रिया लिँदै स्तर सुधार गर्ने (प्रोटोटाइपिङ) लगायतका कार्यमा व्यस्त भए। र, एक वर्षको कडा गृहकार्य तथा प्रोटोटाइपिङपछि गत वर्ष (सन् २०२१) बाट शर्मिलाले 'चाइचाइ' को व्यवसायिक यात्रा सुरु गरिन्।
उनलाई परिवारले मौखिक सल्लाहबाट मात्र नभएर भौतिक संलग्नताबाट पनि व्यवसायमा साथ दिइरहेका छन्।
शर्मिलाकी दाइकी छोरी श्रद्धा श्रेष्ठले उनलाई प्याकेजिङमा सघाइरहेका छन्। श्रद्धा इलुस्ट्रेसन आर्टिस्ट भएकाले उनी प्याकेजिङ डिजाइनमा दख्खल राख्छिन्। यस्तै, भतिजा अनुरुप र निर्जल श्रेष्ठले उनलाई व्यवस्थापन र मार्केटिङको काममा मद्दत गरिरहेका छन्।
यसरी परिवारभित्रैबाट आ-आफ्नो सीप र ज्ञान अनुरुप शर्मिलालाई व्यवसाय माथि लैजानका लागि होस्टेमा हैंसे मिलिरहेको छ।
पहिलो वर्षमै थरी थरीका प्रिमियम चकलेट, मूल्य १५०० सम्म
चाइचाइको व्यवसायिक सुरुआतको पहिलो वर्षमै शर्मिलाको कन्फेक्सनरीले विभिन्न प्रकारका प्रिमियम चकलेटहरु बजारमा ल्याइसकेको छ। यसमा मिल्क, डार्क तथा ह्वाइट चक्लेट, काजु तथा बदामयुक्त ड्रयाजी तथा कारमेल, लेमन, स्ट्रबेरी, बनबन लगायतका विभिन्न स्वादका चकलेटहरू रहेका छन्।
यी चकलेट ७५ ग्रामदेखि १५० ग्रामसम्मको प्याकेटमा उपलब्ध छ। यसमा ड्रयागीको मूल्य ७५ ग्रामको २२५ रुपैयाँ र १५० ग्रामको ४६० रुपैयाँ रहेको छ। यस्तै, बनबनको प्रतिप्याकेट मूल्य ५५० रुपैयाँ पर्छ। 'पिनियटा' भने चाइचाइको सबैभन्दा प्रिमियम चकलेट हो जसको मूल्य प्रतिप्याकेट १४९० रुपैयाँसम्म पर्ने शर्मिलाले बताइन्।
नेपालमा ड्रयाजी चकलेट उत्पादन गर्ने एक मात्र स्थानीय चक्लेटियर नै चाइचाइ कन्फेक्सनरी भएको दाबी पनि उनी गर्छिन्। उनी थप्छिन्, ‘हामी हाम्रो प्रडक्टमा कम्पाउन्ड चकलेट नभइ रियल चकलेट प्रयोग गर्छौं। कम्पाउन्ड चक्लेटमा कोको बटरको सट्टा भेजिटेबल वा पाम आयल प्रयोग हुन्छ। रियल चकलेट प्रयोग गरेको हुनाले हाम्रो चकलेट मुखमा हाल्नेबित्तिकै पग्लिहाल्छ, अरू चक्लेटहरू जस्तो मुखमा टाँसिने हुँदैन। यो विशेषताले पनि हामीलाई अरूभन्दा अलग बनाउँछ।’
चाइचाइले आफ्नो व्यवसाय दर्ता गरेर गुणस्तरको आवश्यक जाँचहरू गराइ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट डीएफटिक्युसी नम्बर पनि लिइसकेको छ। यस दौरान उद्यम गर्न खोज्नेका लागि कम्पनी दर्ता तथा आवश्यक जाँचहरूसम्मका सबै सरकारी प्रक्रिया निकै झन्झटिलो रहेको भोगाइ शर्मिलाको छ।
उनी साना उद्यमीले भोग्नुपर्ने थप चुनौतीहरूको अनुभव सुनाउँछिन्, ‘त्यस्तै चकलेट बनाउन चाहिने कच्चा पदार्थहरू सबै आयात गर्नुपर्ने हुँदा निकै धेरै कर बुझाउन पर्छ। प्याकेजिङ गरिएको विदेशी चकलेट आयात गरेर बेच्दा थोरै कर लाग्ने र हामीले जसरी आयातित कच्चा पदार्थबाट नेपालमा नै चकलेट उत्पादन गर्दा निकै महँगो पर्ने हुन्छ। प्याकेजिङ पनि एकदमै महँगो छ।’
युवाहरुबीच लोकप्रिय, ३०० केजी पुर्याउँदै उत्पादन
चाइचाइले आफ्नो व्यवसायलाई स्थापित गर्न फार्मर्स मार्केट प्लेस, आइप्लेक्स मल, लाबिम मल लगायतका मार्केट प्लेसहरूमा आफ्ना चकलेटहरू ग्राहकहरूलाई चखाउने तथा प्रतिक्रिया लिने गर्छ। प्रतिक्रियाका आधारमा उत्पादनमा सुधार र लक्षित वर्ग निर्धारण तथा सोही अनुरुप चकलेट बजारमा ल्याउने सोच अपनाएको छ। यसले खासगरी युवाहरुलाई निक्कै नै आकर्षित गरेको भनाइ शर्मिलाको छ।
उनी भन्छिन्,‘अधिकांशलाई हाम्रा चकलेटहरु मन परेको छ। यस्तै मार्केट प्लेसहरू र वर्ड अफ माउथबाट नै हाम्रो राम्रो प्रचारप्रसार भइरहेको छ। खासगरी किशोरकिशोरीहरूबीच हाम्रो चकलेट लोकप्रिय छ।’
चाइचाइले अहिले महिनामा १० देखि २० केजीसम्म चकलेट उत्पादन गर्छ। यो क्षमतालाई एक वर्षभित्रै बढाएर ३०० केजी पुर्याउने लक्ष्य रहेको शर्मिलाले जानकारी दिइन्।
चाइचाइका चकलेटको लोकप्रियता र माग बढ्दै गएकाले नै उत्पादन क्षमता बढाउने योजना बनाएको शर्मिला बताउँछिन्। अहिलेसम्म चाइचाइले इन्स्टाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत अडर लिएर चकलेट बिक्री गर्दै आएको छ।
तर अहिले कुनै भौतिक आउटलेटबिनै सीमित मार्केटप्लेसमा पाइने यसका चकलेटहरु अब छिट्टै नै काठमाडौं उपत्यकाका सुपरमार्केटहरूमा उपलब्ध गराउने तयारी भएको पनि उनले जनाइन्। साथै, निकट भविष्यमा अझै धेरै किसिमका फ्लेवरमा चकलेटहरु उत्पादन गरेर उपत्यकाबाहिर पनि देशका विभिन्न ठाउँमा बजार विस्तार गर्ने सोच शर्मिलाको छ।
उनी भन्छिन्, ‘व्यवसाय विस्तार हुँदै जाँदा महिलालाई काम सिकाएर महिला सशक्तिकरणमा सहयोग पुर्याउने चाहना मेरो छ।’