BIZMANDU
www.bizmandu.com

क्रिप्टो र हाइपर फण्ड बारे राष्ट्र बैंक: सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापको जोखिम

२०७९ साउन ३०

क्रिप्टो र हाइपर फण्ड बारे राष्ट्र बैंक: सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापको जोखिम
क्रिप्टो र हाइपर फण्ड बारे राष्ट्र बैंक: सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापको जोखिम


काठमाडौं। क्रिप्टो करेन्सीदेखि हाइपर फण्डसम्मको कारोबार फेरि बढेपछि राष्ट्र बैंकले 'गैरकानुनी कदम' भएको भन्दै सर्वसाधारणलाई त्यसतर्फ नलाग्न अपिल गरेको छ।

Tata
Global Ime

राष्ट्र बैंकले बिटक्वाइन, क्रिप्टोकरेन्सी कारोबार र  भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेको भन्दै बिगतमा पनि सचेत गराएको थियो। २०७४ सालबाटै राष्ट्र बैंकले गैरकानुनी कारोबारमा नलाग्न अपिल गरेपनि यसको कारोबार बढिरहेको छ।

केही समयअघि क्रिप्टो कारोबारमा संलग्न केही व्यक्तिहरु पक्राउ समेत गरेका थिए। यस्ता कारोबार दैनिक रुपमा बढ्दै गएपछि राष्ट्र बैंकले सोमबार फेरि कारोबार नगर्न अपिल गरेको हो।

यस्ता कारोबारले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यो पूर्ण रुपमा गैरकानुनी रहेको राष्ट्र बैंकले जानकारी गराएको छ।

यस्ता करेन्सी र फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने पनि राष्ट्र बैंकले जनाएको छ। 

'नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका यस्ता कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने छ,' राष्ट्र बैंकको अपिलमा भनिएको छ।