BIZMANDU
www.bizmandu.com

फोनको भरमा घर-घरै स्वास्थ्य सेवा दिने ‘डक्टर्स अन कल,’ कस्ता उपचार अस्पताल नपुगी घरमै

२०७९ भदौ ५

फोनको भरमा घर-घरै स्वास्थ्य सेवा दिने ‘डक्टर्स अन कल,’ कस्ता उपचार अस्पताल नपुगी घरमै
फोनको भरमा घर-घरै स्वास्थ्य सेवा दिने ‘डक्टर्स अन कल,’ कस्ता उपचार अस्पताल नपुगी घरमै


काठमाडौं। सन् २०१७ तिर चितवन मेडिकल कलेजबाट सँगै एमबीबीएस सकेपछि पाल्पाका डा. सुयश कार्की, चितवनका डा.सुमन न्यौपाने र सुर्खेतका डा.मोहन भण्डारी एउटै अस्पतालमा जोडिन पुगे। त्यो थियो काठमाडौंको हिमाल अस्पताल।  

Tata
Global Ime

उपचार सेवाका क्रममा उनीहरूलाई धेरै बिरामीका परिवारहरूले घरमा आएर उपचार गरिदिन बारम्बार आग्रह गर्ने गर्थे। सानो सानो जाँचका लागि पनि अस्पताल टेक्नैपर्दा बिरामी र उनीहरुका आफन्त विकल्प सोध्थे। मुख्यतः वृद्धवृद्धालाई अस्पतालसम्म ल्याउन गाह्रो हुने भएकाले घरमै सेवा दिनुपर्ने आग्रह आउँथ्यो।

तीनैजना युवा। कतै न कतै काम नै गर्नुपर्छ। अस्पतालमा दिनदिनै सुन्ने गरेको बिरामी र तिनका परिवारको आग्रह पुरा गर्न के उपाय हुन सक्छ? केही गर्ने मिलेर? उनीहरुबीच सल्लाह हुन थाल्यो। 

‘घातक रोगहरूका बिरामीहरूको संख्या नेपालमा पनि बढ्दो थियो। त्यसमाथि पनि लोन्ली फ्यामिली (छोराछोरीहरू सबै विदेशिएका र घरमा वृद्ध बुबाआमा मात्रै भएका परिवार) दिनप्रतिदिन बढ्दै थिए, अझै पनि त्यो क्रम जारी नै छ,’ सुयश सुनाउँछन्। 

त्यस्ता घरमा न त वृद्धवृद्धालाई अस्पतालसम्म ल्याइदिन कोही हुने, न उनीहरु आफैं आउन सक्ने। त्यस्तै घातक रोग लागेकाहरू पनि सानो सानो टेस्टका लागि पनि अस्पताल धाइरहनु पर्ने हुन्छ। आफ्नै घरपरिवार तथा इष्टमित्र भित्र पनि जेष्ठ सदस्य तथा घातक रोगका बिरामीहरू भएकाले यी समस्याहरूसँग उनीहरू पहिलेदेखि नै साक्षात्कार थिए।

‘तर एउटा संस्थामा काम गरिरहेका हामीलाई धेरै आग्रह आउँदा पनि बिरामीको घरमै गएर उपचार गर्ने अनुमति हाम्रो व्यवसायिक मर्यादाले दिँदैनथ्यो। त्यसै कारणले पनि हामीले धेरैको आग्रह अस्वीकार गर्‍यौं,' डा. सुयश सुनाउँछन्।

तीन डाक्टरको असमञ्जसको जवाफ-  डक्टर्स अन कल

व्यवसायिक मर्यादाले घर घर जान रोके पनि बिरामीका अवस्था बुझेर थाहा नपाएजस्तो गर्न डाक्टरको पेसागत धर्मले त्यसो गर्न दिदैनथ्यो। यी युवा चिकित्सकहरु समस्याको समाधान खोज्न लागे। भेटमा दिनदिनै यही बारे कुरा गर्न थाले। केही महिनाको छलफलले सुयश, सुमन र मोहनले होम हेल्थ सर्भिस प्रदान गर्ने 'डक्टर अन कल'को श्रीगणेश भयो। यो २०१८ को सुरुवाततिरको कुरा हो। 

तीन डाक्टरहरूले 'डक्टर अन कल'को योजनामा काम भने २०१७ को अन्त्यबाट नै सुरु गरेका थिए। ‘यस अन्तरालमा हामीले विदेशमा हेल्थ होम सर्भिस के कसरी चलिरहेको छ, नेपालमा के कस्तो सम्भावनाहरू, चुनौतीहरू छन् भन्ने जस्तो कुरा पनि अध्ययन गर्‍यौं,' सुयश भन्छन्। 

अनि कमलपोखरीको एउटा फ्ल्याटबाट २० लाखको लागतमा तीन डाक्टर, एक स्वास्थ्य सहायक र एक नर्सबाट सुरु भयो 'डाक्टर्स अन कल'को यात्रा। हालसम्म चार वर्षको यात्रा तय गर्दै धेरै चुनौतीहरू पार गरेको डा.सुयशको अनुभव छ।

तीन जना सहसस्थापकहरू नै सबै मेडिकल पृष्ठभूमिका भएकाले संस्था चलाउने कायदाहरू नजान्दा सुरुवाती अवस्थामा निकै समस्या भएको उनीहरू बताउँछन्। साथै डाक्टर, नर्सहरूलाई अन बोर्ड तथा परिचालन गर्न पनि त्यति सजिलो नभएको उनीहरू भोगाइ छ। 

त्यतिबेला हेल्थ होम सर्भिस नेपालको लागि नयाँ अवधारणा थियो। बिरामीको परिवारबाट तथा डाक्टर नर्सहरू दुवै पक्षबाट नै केही हदसम्म अविश्वासको वातावरण हुन्थ्यो। डा. सुयश बुझाउँछन् ‘हामी कुनै बिरामीको घरमा जाँदा उहाँहरूलाई र हामी आफैँलाई पनि असुरक्षाको भान हुनसक्छ। बाहिरको मान्छे घरमा आउँदा, दिनभर हेरचाहमा जुट्दा कस्तो मान्छे पर्ने हो भन्ने डर उहाँहरूको पनि मनमा हुन्छ। त्यस्तै नर्सहरूलाई दिनभर बिरामीकै घरमा बिरामीको हेरचाह गरेर बस्ने हुन्छन्। त्यस्तोमा उहाँहरूलाई पनि आफ्नो सुरक्षाको चिन्ता हुनु स्वाभाविक नै हो।’

सुरक्षाको पक्षलाई बलियो बनाउँदै अघि बढेको डाक्टर्स अन कलको यात्रामा अहिले ५० नर्स, २५ डाक्टर, १० फिजियोथेरापिस्ट, २ डाइटिसियन, २ मनोपरामर्शदाता तथा १५ जना फुल टाइम कर्मचारी जोडिएका छन्। पाँचौं वर्षमा आइपुग्दा सेवा क्षेत्र विस्तार भइसकेको छ। धेरै घरहरुमा बा-आमा एक्लाएक्लै छन्। साना बालबच्चा भएका आमाहरुलाई पनि अस्पताल पुग्न समस्या छ। अस्पताल छन् तर भीड छ। समाधान डक्टर्स अन कलले दिएको छ।

अहिलेसम्म यस संस्थाले १५ हजार जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिसकेको सुयश बताउँछन्। मुख्यतः यसले अस्पतालको ओपीडी सेवा घर पुगेरै दिनुका साथै फिजियोथेरापी, ल्याब टेस्ट, भिडियो कन्सल्टिङ, नर्सहरूद्वारा डे केयर लगायतका सेवाहरू उपलब्ध गराउँछ। 

‘हामीले डाइगोनिस्टिसक कामहरू गर्दैनौं। त्यो काम अस्पतालको नै हो। हामीले विशेषगरी अस्पतालमा उपचार अथवा सर्जरीपछि घर फर्किएका बिरामी, सुत्केरी, वृद्धहरूलाई आवश्यक पर्ने स्याहार तथा सेवाहरू, जुन परिवारले गर्न सक्नुहुन्न, ती सेवाहरू हामी प्रदान गर्छौं,’ उनले सेवाका बारेमा प्रष्ट्याए।

डाक्टरको परामर्शको लागि डक्टर्स अन कलले बिरामीको घरको लोकेसन र डाक्टरको चार्ज हेरेर  १५ सयदेखि २५ सय रुपैयाँसम्म लिने गरेको छ। ल्याब टेस्टको चार्ज भने बाहिर अस्पतालहरूले लिने गरेकै हाराहारीमा लिने गरेको सुयश बताउँछन्। नर्सिंङ  सेवाका लागि भने १२ घण्टाको एक हजार रुपैयाँ शुल्क लिने उनी बताउँछन्।

फोन गरेर घरमा डाक्टर बोलाउने सेवा लिनको लागि डक्टरस् अन कलको वेबसाइट तथा सामजिक सञ्जालका पेज र फोनमार्फत लिनसक्ने उनी बताउँछन्। 

महामारीले बढाएको उपयोगिता 

कोरोना महामारीको बेला धेरैजसो व्यवसाय प्रभावित भए, कतिपय त धराशायी नै भए। डाक्टर्स अन कलले भने नामको चर्चा चलाउन र आफ्नो सेवा विस्तार गर्ने अवसर पाएको डा.सुयश सुनाउँछन्। ‘कोभिडको पहिलो लहरमा त हामी पनि अरू जस्तै अलमल्ल परेका थियौं तर दोस्रो लहरसम्म आइपुग्दा हामीले हाम्रो सेवाहरू पुनः सुरु गर्‍यौं। धेरैले हाम्रो सेवाहरू लिनुभयो,’ उनले भने।

डक्टर्स अन कलले बोलाउनेलाई घर-घरै सेवा दियो। साथमा यसले अक्सिजन सिलिण्डर, कन्सेन्ट्रेटर, सक्शन मेसिन, नेबुलाइजर, पल्स अक्सिमिटर, अर्थोपेडिक, ब्यान्डेज, औषधि, म्यानुअल र मोटराइज्ड ह्‍वीलचियर लगायतका चिकित्सा उपकरण भाडामा दिने तथा बिक्री गर्ने सेवा पनि विस्तार भयो। 

कोरोना महामारीमा संक्रमण आफूमा सर्ने डरले गर्दा अधिकांश मनिसहरू भीडभाडबाट जोगिन खोजिरहेका थिए। अस्पताल जान डराएको अवस्था थियो। यस्तो बेला डाक्टर्स अन कलको उपयोगिता झन बढेको डा सुयशको अनुभव छ। २० लाख लागतमा सुरु भएको यो संस्थाले सन् २०२१ मा २.५ करोडको कारोबार गरेको छ भने यस वर्ष २०२२ मा १५ करोड वार्षिक कारोबार गर्ने लक्ष्य लिएको छ।

अहिले यसको सेवा काठमाडौं उपत्यकामा मात्रै सीमित छ। तर यसलाई हेल्थ टेकको रूपमा विकास गरेर देशको कुना-कुनामा फैलाउने सपना देखेका छन् डा सुयश र उनको टिमले। युवा स्वास्थ्यकर्मीहरु जोडिदै जाँदा उपत्यका बाहिर पनि सेवा विस्तार गर्न गाह्रो भने होइन।

आगामी योजना सुनाउँदै उनी भन्छन्, ‘वैदेशिक रोजगारमा गएका धेरै नेपालीहरू समयमा नै उपचार नपाउँदा धेरै जना बाकसमा फर्केका छन्, विदेशी भूमिमा उपचार पाउन अझ समयमा सही उपचार पाउन उहाँहरु निकै समस्या हुन्छ। हामीले प्राय: खाडी मुलकमा भएका नेपालीहरूलाई लक्षित गर्दै कम शुल्कमा भिडियोको माध्यमबाटै परामर्श सेवा प्रदान गर्ने योजनामा काम गर्दैछौं।’