काठमाडौं। भारत आफ्नो स्वतन्त्रताको ७५औं वर्षमा प्रवेश गरिरहँदा भारतीय व्यवसायीहरुले विश्वको नक्सामा आफ्नो छुट्टै छाप बनाउन सफल भएका छन्।
ब्रिटेन लगायतका अन्य बाह्य शक्तिले सयौं वर्ष राज गरेको भारतको अहिले संसारभर आफ्नो स्वतन्त्र पहिचान छ। भारत अहिले विश्वको तीव्र गतिमा वृद्धि हुँदै गइरहेको अर्थतन्त्रमध्ये एक हो।
७५ वर्षको लामो यात्रामा भारतीय नागरिकले मुलुकको नाम विश्वभर फैलाएका छन्। दशकौंअघिदेखि नै भारतीयहरूले विश्व परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। विज्ञका रुपमा विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकका खास खास तहमा भारतीय पुगेका छन्, साथमा उद्योग-व्यापारमा संसारका ठुला ठुला कम्पनी हाँकिरहेका छन्।
सिलिकन भ्यालीभरी आफ्नो नाम चिनाउने प्राविधिक विशेषज्ञहरूदेखि लिएर सफल कंग्लोमोरेट्सहरू चलाउने टाइकुनहरूसम्म भारतीयहरू छन्।

यिनैमध्ये एक हुन्, लक्ष्मी निवास मित्तल। विश्वभर स्टिल म्यानको नामले परिचित लक्ष्मीनिवास मित्तलको जन्म भारतको राजस्थानमा भएको थियो।
बाल्यकालको केही समय राजस्थानमा बिताएका उनको बाँकीको हुर्काइ भने कोलकातामा भयो, जहाँ मित्तलका बुबा स्टिल मिल सञ्चालन गर्थे। उनी पढ्दै बुबालाई मिलमा पनि सहयोग गर्थे। केही समय त उनले मिलमा प्रशिक्षार्थी भएर पनि काम गरे।
बुबाको काम र मिलको सिकाइलाई फैलाउँदै उनले सन् १९७६ मा इन्डोनेसियामा आफ्नै स्टिल मिल स्थापना गरे। उनी त्यतिमा नै रोकिएनन्। एक दशकभन्दा बढी समय उनले स्टिल मिललाई कसरी कुशलतापूर्वक चलाउने भनेर अध्ययनमै बिताए।
सन् १९८९ मा मित्तलले ट्रिनिडाड र टोबागोमा राज्यको स्वामित्वमा रहेको स्टिल प्लान्टहरू खरिद गरे। भारी घाटामा रहेको यी प्लान्टहरूलाई उनले एक वर्षमा नै उत्पादन दोब्बर बनाएर नाफामा लगे।
उनले विश्वभरि अधिग्रहणको शृंखला कायम गर्दै स्टिल म्याग्नेटको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन्। उनले प्राय: राज्य-सञ्चालित असफल प्लान्टहरू खरिद गर्दै र त्यसको व्यवसायहरूलाई पुन: संगठित तथा व्यवस्थित बनाउँदै सफलताको नयाँ उचाइमा पुर्याएका छन्।
सन् २००४ मा मित्तलले आफ्नो कम्पनीहरू, इस्पात इन्टरनेशनल र एलयानएम होल्डिङ्स मर्ज गरे र ओहायोस्थित इन्टरनेसनल स्टील ग्रुप अधिग्रहण गरे। जसलाई उनले मित्तल स्टिल कम्पनी यानभि नाम दिए। यही सम्झौताले नै उनलाई विश्वको सबैभन्दा ठूलो स्टील निर्माताको रूपमा चिनायो।
दुई वर्षपछि मित्तलले मित्तल स्टीललाई युरोपेली स्टिल जाइन्ट आर्सेलरसँग मर्ज गरेर आर्सेलर मित्तल गठन गरे। मित्तलले सन् २०२१ सम्म यस कम्पनीको सीइओका रूपमा काम गरे भने अहिले उनी यस कम्पनीको कार्यकारी अध्यक्षको छन्। सन् २०२० सम्म आर्सेलर मित्तल विश्वको सबैभन्दा ठूलो स्टिल निर्माण कम्पनी थियो भने अहिले यो दोस्रो स्थानमा छ।
चितपुर, कोलकातामा भाडाको अपार्टमेन्टदेखि ‘बिलियनियर्स रो’ भनिने लन्डनको केन्सिङ्टन प्यालेस गार्डेनसम्म,लक्ष्मी निवास मित्तलको रूपमा जीवनकालमा थोरैले मात्र यात्रा गरेका छन् होला। मित्तलले स्टिलको साम्राज्य मात्र निर्माण गरेनन्, उनको सफलताले भारतलाई विश्वको नक्सामा चिनाएको पनि छ। लण्डनमा रहे पनि उनी भारतीय नागरिक नै छन् ।

मित्तल जस्तै विश्वमा आफ्नो छाप छोड्न सफल अर्को भारतीय हुन्, सत्य नारायण नडेला। सन् २०१४ मा माइक्रोसफ्टको सीइओ नियुक्त हुँदा नडेलाले विश्वभर हेडलाइन्स नै बनाएका थिए। उनले सन् १९८८ मा इलेक्ट्रिकल इन्जिनियरिङमा मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेका थिए ।
पछि उनले विस्कन्सिन-मिलवाउकी विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा एमएसको अध्ययन गरे। नाडेलाले युनिभर्सिटी अफ सिकागो बुथ स्कूल अफ बिजनेसबाट एमबीए गरेका छन्।
सन माइक्रोसिस्टम्समा केही समय काम गरेका नडेलाले सन् १९९२ मा युवा इन्जिनियरको रुपमा माइक्रोसफ्टसँग जोडिएका थिए। आठ वर्षको अन्तरालमा माइक्रोसफ्टमा उनले माइक्रोसफ्ट सेन्ट्रलको उपाध्यक्षको रूपमा आफ्नो पहिलो कार्यकारी भूमिका सुरक्षित गरे। त्यसयता भारतीय इन्जिनियरले पछाडि फर्केर हेर्नुपरेको छैन ।
भारतको आन्ध्र प्रदेशको अनन्तपुरममा जन्मेका उनलाई माइक्रोसफ्टलाई सफ्टवेयर निर्माताबाट विश्वको शीर्ष क्लाउड कम्प्युटिङ कम्पनीहरुमध्ये एकको रुपमा परिणत गर्ने श्रेय दिइन्छ।
उनले कम्पनीलाई मोबाइल सेग्मेन्टमा प्रवेश गर्ने जस्ता असफल रणनीतिहरूबाट बाहिर निकालेर अगाडि बढाएका छन्। माइक्रोसफ्टलाई विन्डोजमा मात्रै सीमित नगरेर उनले व्यावहारिक रूपमा अफिसलाई मानिसहरूको हात-हातमा पुर्याए।
माइक्रोसफ्ट वर्ड, एक्सेल, टिम्स, पावरपोइन्ट, ट्रान्सलेटर, प्लानर, सबै अब एन्ड्रोइड र आईओएसमा सित्तैमा डाउनलोड गर्न सकिन्छ। यसको श्रेय पनि नडेला नै दिइन्छ। उनले विश्वव्यापी प्राविधिक नक्सामा माइक्रोसफ्टको पुन: स्थान परिवर्तन गरेको छन्।
उनीअन्तर्गत माइक्रोसफ्टसँग गुगलभन्दा धेरै क्लाउड कम्प्युटिङ आम्दानी छ, नेटफ्लिक्सभन्दा धेरै ग्राहकहरू र लगभग ट्रिलियन डलरको बजार पुँजी छ।

त्यस्तै विश्वको प्रमुख खाद्य र पेय ब्रान्ड पेप्सीकोको प्रतिनिधित्व गर्ने अर्की भारतीय हुन्, इन्द्रा नुयी। भारतको चेन्नइमा जन्मिएकी इन्द्रा पेप्सीको कम्पनीको सीइओका रुपमा सन् २००६ देखि २०१८ सम्म र अध्यक्षका रूपमा सन् २००७ देखि २०१९ सम्म कार्यरत थिइन्।
नुयीले कोलकाताको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेकी थिइन्। अमेरिका गएपछि, उनले १९८० मा येल स्कूल अफ म्यानेजमेन्टबाट सार्वजनिक र निजी व्यवस्थापनमा अतिरिक्त मास्टर्स डिग्री गरिन्। अर्को ६ वर्षसम्म, नुईले बोस्टन कन्सल्टिङ ग्रुपका लागि सल्लाहकारको रूपमा काम गरिन्।
सन् १९९४ मा नुयी पेप्सीकोमा कर्पोरेट रणनीति र विकासको वरिष्ठ उपाध्यक्षको रूपमा जोडिइन भइन्। सन् २००१ मा उनलाई कम्पनीको अध्यक्ष र प्रमुख वित्तीय अधिकारीको पद दिइएको थियो। उनले सन् १९९८ मा ट्रोपिकाना उत्पादनहरूको अधिग्रहण र २००१ मा क्वेकर ओट्स कम्पनीसँग मर्जरको निरीक्षण गरेकी थिइन्, जुन कम्पनीको अधिक स्वस्थ पेय पदार्थ र खानामा विविधता ल्याउने रणनीतिको एक भागको थियो।
कर्पोरेट अमेरिकामा शीर्षमा थोरै महिलाहरू रहेको समयमा उनी १२ वर्षसम्म पेप्सिकोको प्रमुख कार्यकारीको रुपमा काम गरिन्। उनी एक अग्रगामी सीइओ थिइन्, जसले पेप्सीको तोड्ने प्रयासलाई विफल पारिन्। त्यसपछि उनले आफ्नो बिक्री झण्डै दोब्बर गरिन् र कम्पनीमा स्वस्थ उत्पादनहरू र वातावरणमैत्री अभ्यासहरू प्रस्तुत गरिन्।
उनी अहिले अमेजन र फिलिप्स जस्ता कम्पनीको बोर्डमा आबद्ध छिन्। किताब लेखेकी छन्। पेप्सीको कर्मचारीहरूलाई उनको बिदाइको सन्देश थियो- 'समयको बारेमा सोच्नुहोस्।' नुयीले जीवनभर त्यही मन्त्रलाई पालन गरेकी छन् । इन्द्रा विश्वभरका महिलाहरूका लागि एक प्रेरणादायी व्यक्तित्व बनेकी छन्।

संसारभरका युवाहरूलाई प्रेरणाको स्रोत बनेका अर्का भारतीय मूलका व्यक्ति हुन्, सुन्दर पिचाई। गुगलको मातृ कम्पनी अल्फावेट तथा गुगलका सीइओ पिचाई सुन्दरराजन आज विश्वको सबैभन्दा सफल व्यवसायिक व्यक्तित्वमा गनिन्छन्। चेन्नाइको सामान्य परिवारमा जन्मेका सुन्दरको उदय सरासर कडा परिश्रम को परिणाम हो।
चेन्नाइको दुई कोठाको अपार्टमेन्टमा हुर्केका उनले आइआइटी खड़गपुरबाट इन्जिनियरिङ गरेपछि, स्ट्यानफोर्डबाट स्नातकोत्तर, व्हार्टनबाट एमबीए र म्याककिन्सेमा छोटो कार्यकाल पूरा गरेपछि सन् २००४ मा गुगलमा आबद्ध भएका थिए।
सुरुमा उनले गुगल सर्च टूलबारमा काम गरे। गुगलले आफ्नो ब्राउजर सेट अप गर्ने विचार प्रस्तावित गर्ने पनि सुन्दरकै आइडिया थियो । र, यसको विकासको अगुवाई पनि उनले नै गरे। गुगल ड्राइभ, जीमेल, गुगल म्याप, यी सबैमा पिचाईको छाप छ। यस वर्ष, पिचाईलाई भारतले तेस्रो-सर्वोच्च नागरिक पुरस्कार पद्मभूषणबाट सम्मानित पनि गरेको थियो।