काठमाडौं। दुई वाणिज्य बैंक, चार विकास बैंक र तीन फाइनान्स कम्पनी गाभेको ग्लोबल आइएमइ बैंकले मंसिरभित्र अर्को एक वाणिज्य बैंक गाभ्दैछ। १० वर्षदेखि मर्जरलाई प्राथमिकतामा राखेको यो बैंक आफूभन्दा लामो इतिहास बोकेको बैंक अफ काठमाण्डू (बिओके) लाई गाभेर 'ग्लोबल आइएमइ बिओके बैंक' बन्दैछ।
अर्को संस्थालाई गाभेर उच्च वृद्धि गरेको बैंकले अब बिओकेलाई मर्ज गरेपछि यति ठूलो हुँदैछ, सबैभन्दा धेरै शाखा सञ्जाल भएको वाग्मती प्रदेशको कारोबार मात्रै पनि एउटा अर्को बैंक बराबर हुँदैछ।
ग्लोबलको मर्जर यात्रा आइएमइ फाइनान्सियल इन्ष्टिच्युसन र लर्ड बुद्ध फाइनान्सलाई गाभेर सुरु भएको हो। यसपछि सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, हाथवे फाइनान्सलाई गाभ्यो। ग्लोबलले ‘क’ वर्गका कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल र जनता बैंकलाई समेत गाभेको छ।
चुक्ता पुँजीका हिसाबले नयाँ बन्ने बैंकको ३४ अर्ब ४२ करोड रुपैयाँको हुने छ। निक्षेप (गत आर्थिक बर्षको हिसाबले) ३ खर्ब ८६ अर्ब र ऋण ३ खर्ब ७४ अर्ब रुपैयाँ पुग्दैछ। एकीकृत कारोबार गर्दा (मंसिरसम्म) निक्षेप सजिलै ४ खर्ब रुपैयाँ नाघ्दैछ भने ऋण पनि त्यही छेउछाउ पुग्ने छ।
पुँजीका हिसाबले देशकै सबैभन्दा ठूलो संस्था हुन गइरहेको ग्लोबलले अहिलेबाट सिनर्जी कसरी उत्पन्न गर्ने भनेर काम थालिसकेको छ। यसका लागि दुवै बैंकको संचालक समिति, संयुक्त मर्जर समिति र उच्च व्यवस्थापनले काम थालिसकेका छन्।
सिनर्जीका लागि अहिलेबाटै काम
बैंक अफ काठमाण्डूको शाखा कम छ। १०३ वटा शाखाले १ खर्ब ९ अर्ब निक्षेप उठाएको छ भने एक खर्ब ५ खर्ब ऋण दिएको छ। यसमा करिब एक हजार कर्मचारी खटिएका छन्।
‘यत्तिको व्यापार गर्न अरु बैंकमा करिब १५० शाखा र १५ सय कर्मचारी भएको हामीले देख्छौं,’ ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, ‘तुलनात्मक रूपमा कम शाखा र कर्मचारीमा बिओकेले त्यत्रो व्यापार गरेको छ भने त्यहाँ उच्च प्रोडक्टिभिटीका साथ कर्मचारीले भन्ने प्रमाणित हुन्छ।’
ग्लोबलले पनि त्यो स्ट्रेन्थ देखाएको छ। त्यसले गर्दा दुवैको ‘प्रोडक्टिभिटी’ ले बैंकले नयाँ उचाइ हासिल गर्नेमा बज्राचार्य ढुक्क छन्। ‘हिजो ग्लोबल र आइएमइ फाइनान्स मर्ज हुँदा जुन खालको सिनर्जी आयो त्यसले यसलाई माथि लैजान सहयोग गर्यो। १० वर्षको अवधिमा प्रत्येक मर्जरले बैंकलाई माथि पुर्याइरहेको छ,’ उनले भने, ‘अब बिओके जोडिँदैछ। यो ठूलो ब्रान्ड हो। त्यसो हुँदा यसले अझ राम्रो सिनर्जी दिन्छ।‘
मर्जरपछि नयाँ बैकको व्यापार ४ खर्ब रुपैयाँ सजिलै नाघ्छ। यसलाई व्यवस्थापन गर्न बलियो र परिपक्व व्यवसायिक रणनीति आवश्यक पर्छ। यसमा अहिले दुवै बैंकको व्यवस्थापन मिलेर काम गरिरहेका छन्।
| विवरण (रु. हजारमा) | ग्लोबल आइएमई | बैंक अफ काठमाडौं |
| चुक्ता पुँजी | 23,795,753 | 10,623,994 |
| जगेडा तथा कोष | 13,352,611 | 7,198,004 |
| निक्षेप | 277,492,013 | 109,443,441 |
| कर्जा | 269,102,477 | 104,934,794 |
| कुल सक्पत्ति र दायित्व | 357,690,067 | 139,569,491 |
| ब्रान्च (वटा) | 289 | 103 |
| एक्सटेन्सन काउन्टर (वटा) | 52 | 10 |
‘अहिले प्रदेश कार्यालयलाई सबै अधिकार भए पनि ऋण लगानीको अधिकार छैन। गएको ऋण निगरानी गर्ने, विश्लेषण गर्ने मात्र अधिकार दिएका छौं,’ बज्राचार्यले भने, ‘अब हामी त्यहाँ काम गर्छौं। एउटा बैंक बराबरको प्रदेशको कारोबार हुने भएपछि ऋण विस्तारको अधिकार पनि दिन्छौं।’ बैंकले पहिलो चरणमा वाग्मती प्रदेशबाट यो अधिकार छाड्ने छ। क्रमिकरूपमा यसलाई बिस्तार गर्दै लैजाने छ।
‘यसले गर्दा बैंकमा अर्को खालको सिनर्जी आउँछ। उनीहरुले स्वतन्त्र भएर काम गर्न सक्छन्,’ उनले भने, ‘जसरी पनि मर्ज गरेर जाउँ भनेर जाँदा त्यो फेल हुन सक्छ। मर्जरपछि के गर्ने भनेर अहिलेबाटै सोचियो भने सिनर्जी आउँछ। अहिले हामी त्यही गरिरहेका छौं।‘ बैंकले दुवै पक्षका कर्मचारीलाई तालिम दिन थालिसकेको छ भने विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ।
मर्जरपछि बैंकको कर्मचारी ४ हजार नाघ्ने छ। त्यसलाई व्यवस्थापन गर्न काम सुरु भइसकेको छ। दुवै बैंकका विभागीय प्रमुखहरुलाई संयुक्त रुपमा काम दिइएको छ- कुन विधि उपयुक्त हुन्छ? कति कर्मचारी भए ठिक हुन्छ?
अब कसरी अगाडि बढ्नेलगायत बारे सुझाव दिन दुवै बैंकका विभागीय प्रमुखले छलफल गर्छन्। उनीहरुले ल्याएको ‘बेस्ट मोडल’ मा प्रणालीमा बैंकलाई ढाल्ने प्रयास हुने छ। ‘आजको भोलि नै नयाँ प्रणालीमा जान नसकिएला तर उनीहरु बसेर तय भएको मोडेलमा क्रमिक रुपमा जान सकिन्छ,’ उनले भने, ‘यसबाट पनि हामीलाई सिनर्जी आउँछ। दुवैको संयुक्त इफोर्टमा काम हुने भएकाले कसैले यहाँ हेपिएको महसुस गर्न पाउँदैन।‘
यसबाहेक कर्मचारी व्यवस्थापनका कुरामा पनि अहिलेबाट काम सुरु भइसकेको छ। जस्तो आन्तरिक लेखापरीक्षण विभागमा ग्लोबलमा २० जना कर्मचारी छन्, बिओकेमा १२ जना छन्। दुवै मिलाउँदा ३२ जना पुग्छन्। तर त्यो विभागमा त्यत्रो नचाहिन सक्छ। विभागले छरितो हिसाबले काम गर्ने गरी संरचना तयार पारिने छ, जुन सम्बन्धित विभागका कर्मचारीले बसेर तय गर्ने छन्।
‘विभाग मात्र जोड्दा त्यो भद्दा हुन सक्छ। यसले गर्दा काम कम भिड ज्यादा हुन सक्छ,’ उनले भने, ‘यसलाई छरितो बनाउनुपर्ने हुन सक्छ। यसमा २५ जना मात्र कर्मचारी भए पुग्ने भयो भने हामी ७ जना अर्को ठाउँमा प्रयोग गर्न सक्छौं। यस्तो खालको टिम वर्कले बैंकको उत्पादकत्व बढ्छ।’
संयुक्त कारोबार हुँदा बैंकमा ४ हजार कर्मचारी पुग्ने छन्। शाखा पनि ४०० हुन्छ। कतिपय शाखा दोहिरिने खालका छन्। जस्तो ज्ञानेश्वरको एउटै बिल्डिङमा दुवै बैंकको शाखा छ। यस्ता शाखा बैंकले बन्द गरेर खर्च घटाउने छ। अहिले बैंक ७७ वटै जिल्लामा छ।
लगानीकर्तालाई के?
ग्लोबल सुरुवाती चरणमा नोक्सानीमा थियो। १५/१६ वर्षको इतिहासमा उसले १० वर्ष यतादेखि भने निरन्तर लाभांश बाँड्दै आएको छ। पोहोर मात्रै बैंकले ४ अर्ब १६ करोड नाफाबाट साढे १३ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो।
पोहोर बोनस सेयर जनता बैंकलाई प्रतिशत सेयर ८५ रुपैयाँका दरले गाभेर उब्रिएको १५ रुपैयाँ जोडेर दिइएको थियो। तर, बैंक अहिले पनि साढे १३ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छ।
‘बढेको पुँजीमा त्यही हैसियतमा लाभांश दिन सक्ने क्षमता बनाउनु भनेको चानचुने कुरा होइन। यो अर्ग्यानिक ग्रोग गरेरै सम्भव हुने हो,’ बज्राचार्यले भने।
पछिल्लो १० वर्षमा बैंकले २०० प्रतिशतभन्दा बढी लाभांश सेयरधनीलाई दिइसकेको छ। ‘यो भनेको हरेक साल बढेको पुँजीमा हो,’ उनले भने, ‘मर्जरबाट जसरी काम गरेर सिनर्जी ल्यायौं, बाँडिएको लाभांश त्यसैको प्रमाण हो।‘
सुरुमा ग्लोबलमा लगानी गर्नेहरुले पोहोरसम्म ४०० प्रतिशतसम्म लाभ पाइसकेको बज्राचार्य बताउँछन्। ‘नगद र बोनस सेयर गरेर १० वर्षमा ४०० प्रतिशत लाभ लिनु भनेको चानचुने कुरा होइन,’ उनले भने।
उनले ग्लोबलको परिचय मर्जर बनेको बताए। ‘मर्जर नगएर सानो भएर बसेको भए हामीले अहिलेसम्म हासिल गरेको उचाइ लिन सक्दैनौं थियौं। हाम्रो स्ट्रेन्थ मर्जर बनेको छ,’ उनले भने ‘अब पनि हामीले मर्जरबाट संस्थालाई माथि पुर्याउनु छ। बोर्ड र व्यवस्थापनको राम्रो तालमेलले यो सम्भव भएको हो, र हुन्छ।‘