BIZMANDU
www.bizmandu.com

दसैंतिहारका लागि सहुलियत पसल संचालनमा आउँदै, तीन सरकारी निकायको बैठक बस्दै


दसैंतिहारका लागि सहुलियत पसल संचालनमा आउँदै, तीन सरकारी निकायको बैठक बस्दै
दसैंतिहारका लागि सहुलियत पसल संचालनमा आउँदै, तीन सरकारी निकायको बैठक बस्दै


काठमाडौं। सरकारले दसैंतिहारका लागि सहुलियत पसल संचालनमा ल्याउने भएको छ। दसैंतिहारमा उपभोक्तालाई सहुलियतमा अत्यावश्यक खाद्यान्न पुर्‍याउने उद्देश्यले सहुलियत पसल संचालनमा ल्याउन लागेको हो।

Tata
Global Ime

हरेक वर्षजस्तै सहुलियत पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम विनियोजन गरेको छ। मन्त्रालय स्रोतका अनुसार सहुलियत पसलका लागि मन्त्रालयले करिब ४ करोड रुपैयाँ विनियोजन गर्दैछ। यही रकमबाट अत्यावश्यक वस्तु सस्तोमा बेच्ने सरकारी संस्थानलाई अनुदान दिनेछ।

अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले संयुक्त रुपमा सहुलियत पसल संचालन हुनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले सहुलियत पसल संचालन गर्ने निर्णय भएर सम्बन्धित संस्थानलाई निर्देशन समेत गइसकेको जानकारी दिए।

उनका अनुसार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुबाट चाडपर्व लक्षित सहुलियत पसल संचालनका लागि निर्देशन पनि भइसकेको छ। 'मन्त्रीज्यूको निर्देशनपछि हामीले कम्पनीहरुलाई सहुलियत पसल संचालनका लागि पत्र पठाइसकेका छौं,' उनले बिजमाण्डूसँग भने, 'अब कम्पनीको संचालक समितिको बैठक बसेर निर्णय गर्नेछन्।' रेग्मीका अनुसार भदौको अन्तिम सातादेखि सहुलियत पसल संचालन हुनेछ। तीन सरकारी संस्थानले आफ्नो आउटलेटमा सहुलियत पसल खोल्नेछन्। त्यो वाहेक संयुक्तरूपमा पनि चाडपर्व लक्षित पसल संचालनमा ल्याउने स्रोतले जानकारी दियो।

ती आउटलेटमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्री गर्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले सहुलियत पसल संचालनका लागि छलफल चलिरहेको बताउँदै संचालक समिति बैठकबाट स्वीकृत हुन भने बाँकी रहेको बताइन्।

'सहुलियत पसल संचालन हुन्छ। त्यसका लागि छलफल भइरहेको छ। केही दिनमै संचालक समितिबाट स्वीकृत हुनेछ,' उनले बिजमाण्डूसँग भनिन्। यो पटक साल्ट ट्रेडिङसँग चिनीको मौज्दात भने छैन।

साल्ट ट्रेडिङका सूचना अधिकृत कुमार राजभण्डारीले दसैंतिहारका लागि आफ्नो आउटलेटमार्फत खाद्यान्न बिक्री गर्ने बताउँदै मन्त्रालयको छलफलपछि थप प्रक्रिया अगाडि बढाउने बताए।

उनका अनुसार कर्पोरेसनसँग चिनी स्टक नभएकाले सहुलियतमा बिक्री गर्ने सम्भावना कम हुँदै गएको छ। राजभण्डारीले गत वर्ष नै अर्थमन्त्रालयमा ५० हजार टन सहुलियत चिनी किन्न गरेको प्रस्ताव बारे कुनै निर्णय नभएको बताउँदै स्वदेशबाट चिनी किन्न गरेको टेण्डरमा एउटा पनि आवेदन नपरेको जानकारी दिए।

खसीबोका र च्याङ्ग्रा आउँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने प्रस्ताव संचालक समितिमा पेस गर्दैछ। हरेक वर्ष दसैंमा कम्पनीले खसीबोका र च्याङग्रा खरीद गरेर सुपथ मूल्यमा उपभोक्तालाई बेच्दै आएको छ।

कम्पनीले यो वर्ष दुई हजार खसीबोका र एक हजार वटा च्याङ्ग्रा खरिद गर्ने स्रोतले बतायो। यो खरिदका लागि कम्पनीले ६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ। गत वर्षभन्दा कम्पनीले ४५ लाख बढी रकम छुट्याएको हो।

गत वर्ष ६ करोड रुपैयाँ छुट्याएको थियो। गत आर्थिक वर्षमा कम्पनीले तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भनेको थियो। तर च्याङ्ग्राको खरिद मूल्य धेरै भएकाले कम्पनीले २ हजार भन्दा खसीबोका मात्रै ल्यायो।