BIZMANDU
www.bizmandu.com

अब नेपाल प्रहरीको पेट्रोल पम्पमा इभीको लागि चार्जिङ स्टेसन, २५ स्टेसन निर्माणका लागि समझदारी

२०७९ भदौ ७

अब नेपाल प्रहरीको पेट्रोल पम्पमा इभीको लागि चार्जिङ स्टेसन, २५ स्टेसन निर्माणका लागि समझदारी
अब नेपाल प्रहरीको पेट्रोल पम्पमा इभीको लागि चार्जिङ स्टेसन, २५ स्टेसन निर्माणका लागि समझदारी


काठमाडौं। अब नेपाल प्रहरीको मातहातमा रहेका पेट्रोल पम्पदेखि विभिन्न स्थानहरुमा इभीको लागि चार्जिङ स्टेसन निर्माण गरिने भएको छ।

Tata
Global Ime

यसका लागि सोमबार २५ वटा चार्जिङ स्टेसन निर्माण तथा संचालन गर्नका लागि नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्पहरु, प्रस्तावित ४ वटा पेट्रोल पम्पहरु र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ। चार्जिङ स्टेसन दीर्घकालीन रुपमा प्रहरी कल्याण कोष मातहतमा सञ्चालन हुने प्रहरीले जनाएको छ।

सम्झौतामा प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ। उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्ने भनिएको छ। प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको संचालन तथा सुरक्षा गर्नेछ।

यसमा चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको विद्युतको महशुल दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेछ। तर सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्ने जनाइएको छ।

विद्युत वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा प्रहरीको कल्याण महाशाखाले पाउनेछ।

प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरी ५१ स्थानमा छिट्टो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ।

प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने जनाएको छ। ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।