BIZMANDU
www.bizmandu.com

वीरगंज भन्सारमा साउनको लक्ष्यभन्दा १५% कम राजस्व उठ्यो, आयातमा कमीले असुली प्रभावित

२०७९ भदौ ८

वीरगंज। प्रमुख भन्सार कार्यालयको रुपमा चिनिने वीरगंज भन्सारले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ।

Tata
Global Ime

आव २०७९/०८० को पहिलो महिना साउनमै वीरगंज भन्सारले लक्ष्यभन्दा २ अर्ब २१ करोड ८ लाख ३२ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो। वीरगंज भन्सारले लक्ष्यको ८५.५ प्रतिशत मात्र राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।

भन्सार विभागले साउनमा वीरगंज भन्सारलाई १५ अर्ब २० करोड ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर उसले लक्ष्यभन्दा १४.५ प्रतिशत कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ संकलन गरेको हो।

साउन महिनामा वीरगंज भन्सारले भन्सार महसुलतर्फ लक्ष्यको ६७ प्रतिशत, अन्त:शुल्क लक्ष्यको ८९ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको १ सय १२ प्रतिशत र अग्रिम आयकर लक्ष्यको ७८ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको पौडेलले बताए।

बढी राजस्व असुली हुने मालसामानको आयात नै कम भएका कारणले त्यसको नकारात्मक असर असुलीमा परेको भन्सार कार्यालयको जिकिर छ।

'अहिले बजारमा पैसाको अभाव छ,उद्योगी व्यवसायीले सामान ल्याउन कम गरेका छन्, जसले गर्दा राजस्व संकलनमा पनि असर पुगेको हो,' उनले भने।

यसका साथै भन्सारको यार्डमा अहिले १६ सयभन्दा बढी नयाँ गाडी जाँचपास हुन नसकेर थन्किएको उनले बताए। सरकारले ड्राइ फुड, प्लाष्टिकजन्य खेलौना इत्यादि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको उनको भनाइ छ।  

आर्थिक वर्ष २०७२/७३ देखि लगातार राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल हुँदै आएको वीरगंज भन्सार गत आव २०७८/७९ मा भने वार्षिक लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको थियो।

वीरगंज भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो।