BIZMANDU
www.bizmandu.com

विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय, योगदान गर्न आग्रह

२०७९ भदौ ८

काठमाडौं। सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ। 

Tata
Global Ime

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुवै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन्।

संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि कार्यालयको स्थापना र सेवा शुभारम्भ  गरिएको मन्त्री कुँवरले बताए।

उनले कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रह समेत गरे।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरको भनाई थियो। 

‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो। र, यो आवश्यक्ता अनुसार विस्तार गर्दै लगिनेछ। म रोजगार दाताहरुलाई योगदानकर्ताहरुलाई आग्रह गर्न चाहन्छु–सामाजिक सुरक्षा कोषमा आवद्ध होउ। कतिपय रोजगार दाताहरु, कतिपय घोषित क्षेत्रहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको हामीले देखेका छौं। सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याईनेछ’ उनले भने।

मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरुको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लाहरुमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताए।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताए।

उनले नेपालगंज र वुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारी समेत दिए।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गरे।