काठमाडौं। काठमाडौं उपत्यकामा मम सस्ता खाजा पसलदेखि पाँचतारे होटलका मेनुमा पनि छुटेको छैन। ग्राहक त्यहाँ जान्छन् जोसँग सफा, मिठो, छिटो र किफायती दरमा पस्कन्छन्। उपत्यकामा त्यस्तो रेस्टुरेन्टमा अग्रणी नाम हो – बोता।
खासगरी युवावर्गले मम खान जान रुचाउने यो रेस्टुरेन्टको बिजनेस लगातार ओह्रालो लागेको छ। तीन वर्ष अघिसम्म आउटलेट संख्या २० पुर्याएको बोता हाल ६ वटा आउलेटमा सीमित भएको छ। ग्राहक संख्या निरन्तर घटेको छ।
जब बोताको परिकल्पना भयो र, योजनाअनुसार आउटलेट विस्तार भयो, त्यो बेला बिजनेस ग्रोथ अमात्य ग्रुपले अपेक्षा गरेभन्दा राम्रो थियो। स्थापनाको सातौं वर्षमा आइपुग्दा व्यवस्थापन पक्ष आफ्नो व्यापार ओह्रालो लाग्नुका कारण समीक्षा गर्दै सुधारको बाटो खोज्दैछ।
०००
काठमाडौंका निवेन अमात्य लण्डनबाट इन्टरनेशनल बिजनेसमा डिग्री गरेर नेपाल फर्केपछि बेरी एन्ड डेयरी क्याफेबाट फुड बिजनेसमा होमिएका थिए। महाराजगञ्जस्थित सो क्याफेले सेवाग्राहीहरूलाई फ्रोयो, बर्गर, स्याण्डविच र विशेषगरी विभिन्न किसिम योगर्ट डिसहरू पस्कने गर्थ्यो।
तर बारम्बार उनीहरूकोमा एउटै खानेकुराको अर्डर धेरै आउँथ्यो, त्यो थियो मम। चाहे किशोरकिशोरी या युवा, जुनसुकै उमेर र जुनसुकै वर्गबाट होस्, सबैको मुखमा मम नै झुन्डिएको थियो। निवेन आफू पनि सानैबाट काठमाडौंका अरु बासिन्दा जस्तै ममको स्वादमा रम्दै हुर्केका थिए। उनलाई काठमाडौंमा ममको महिमाको बारेमा उक्त मागले अझ राम्ररी बुझायो।
यही बुझाइलाई व्यवसायमा परिणत गर्दै निवेनले २०१६ मा बोता ममको स्थपना गरे। बोताको परिकल्पना गर्दा उनले सबैभन्दा छिटो समयमा उच्च गुणस्तरको मम पस्कने रेस्टुरेन्ट हुनुपर्ने योजना बनाएका थिए। जसलाई कार्यान्वयन गर्न उनले क्याफेमा नै आफूले पस्ने ममका प्रकारहरूमा रेसिपीहरू तयार पार्ने, प्रशिक्षण दिने, प्रतिक्रिया लिने र सुधार गर्ने कामहरू गरे। बिजनेस अघि बढ्यो।
उनलाई मम रेस्टुरेन्ट चेन स्थापना गर्नु थियो, उनी आफ्नो लक्ष्यमा प्रष्ट थिए। त्यसैले उनले सुरुमा नै बोताको सेन्ट्रल किचेन, एनपी किचन प्रालि स्थापना गरे। त्योसँगै बोता ममको यात्रा सुरू भयो। बोताले आफ्नो पहिलो आउटलेट कुमारीपाटीमा २० मे २०१६ मा सुरु गर्यो। सोसल मिडिया प्लेटफर्ममार्फत घोषणा गरेर तथा ब्राण्ड एम्बेस्डर समेत राखी उक्त आउटलेट शुभारम्भ भएको थियो। ओपनिङ यति भव्य थियो की ग्राहकहरूको लाइन बाहिरसम्मै लागेको अपरेशन इन्चार्ज जुनेश प्रधान अझै सम्झन्छन्।
'बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म एकदिनमै १३०० जना जति ग्राहकलाई सर्भिस दिनुपरेको थियो। हाम्रो केही दिनको स्टक आधा दिनमा भर्नुपरेको थियो,' उनी भन्छन्।
कुमारीपाटीको आउटलेट सधैंजसो ग्राहकको भीडले भरिभराउ हुने गर्थ्यो। बोताले आफ्नो आउटलेट अनामनगर र कमलपोखरीमा पनि स्थापना गर्यो। स्थापनाको एक वर्षमा नै बोताले काठमाडौंका यी प्रमुख चार स्थानहरूमा आफूलाई फैलाइसकेको थियो।
विस्तारै व्यापारले गति लिँदा २० वटा जति आउटलेट पुगिसकेको थियो, जसमा बिराटनगर, बुटवल, काठमाडौंका विभिन्न स्थानमा गरी बोताले आउटलेट खोलेको थियो। थरी-थरीका मममा १० थरी जति अचारको भेराइटी पस्कने बोताको स्वाद विशेषगरी मध्यमवर्गीयले निकै रुचाएका थिए।
कोरोनाकालसँगै घट्यो व्यापार
जुनेशका अनुसार कोरोना महामारी रोकथामका लागि भएको लकडाउनपछि नै बोताले ६ वटा आउटलेट खोलेको थियो। लकडाउन सुरु हुनुभन्दा ठ्याक्कै तीन दिन अघि मात्रै पनि नयाँ आउटलेट खोलेको थियो। पहिलो लकडाउन सकिन नपाउँदै बोताले अर्को तीन आउटलेट थप्यो।
लकडाउनको केही समय पूर्णतया बन्द रहेको बोताले फ्रोजन मम घर-घरमा नै पुर्याउन सुरु गर्यो। जुनेश सुनाउँछन् 'हाम्रो सेल्स राम्रो नै थियो। खोल्दै गयो आउटलेट राम्रो हुँदै गयो।बिजनेस आफैंमा नै रिस्क हो। हाम्रो टिमको काम र ग्राहकहरूको मायाको विश्वासले गर्दा नै हामीलाई त्यो रिस्क लिन ऊर्जा मिल्यो।’
त्यस्तै हरेक नयाँ आउटलेटमा ओपनिङको दिन लाग्ने थाम्न गाह्रो पर्ने ग्राहकको भीडले आत्मबल बलियो बनाएको प्रधान बताउँछन्। उनी भन्छन्,
‘हामीले सुरक्षाका सबै मापदण्डहरू अपनाएर हाम्रो स्टाफ तथा ग्राहकहरू दुवैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नै नयाँ आउटलेटहरू खोल्दै गएका थियौं। हाम्रो ग्राहकहरूलाई हामीले हाइजिन मेन्टेन गर्छौं भन्ने विश्वास छ।'
लकडाउनपछि पुनः सञ्चालन गर्दा व्यापार ५० प्रतिशतले घटेको जुनेश सुनाउँछन्। दुई-तीन वर्ष अघिसम्म २० आउटलेट भएको बोता हाल कमलपोखरी, कुमारीपाटी, कुलेश्वर, चक्रपथ, बानेश्वर, पेप्सीकोला गरि ६ वटामा आउटलेटमा सीमित छ। जसमध्ये पेप्सीकोला र बानेश्वर फ्रेञ्चाइज हो। त्यस्तै बोताले नै लकडाउन अगाडि नै लन्च गरेको म:म: गुरु चाहिँ खुसिबु, गोंगबु, पुतलीसडकमा छ।
जुनेशका अनुसार अहिले बोतामा ग्राहकहरूको फ्लो ३०-३५ प्रतिशतले घटेको छ। यसो हुनुमा उनले महामारीले बजारमा ल्याएको मन्दी र फ्रेञ्चाइज सम्झौता उल्लंघनलाई कारक मानेका छन्।
चेन रेस्टुरेन्ट बिजनेसमा तरंग ल्याएको बोता हाल सुस्ताएको देखिन्छ। उनी विस्तारमा यसको कारणहरू सुनाउँछन्, 'हाम्रो मात्रै होइन सबै मार्केटमा नै मन्दी छाएको अवस्था छ। हालको अवस्था नियाल्ने हो भने मार्केट कि एकदम सस्तो कुराको छ कि त असाध्यै महँगोको।'
बोताले मुख्यतः लक्षित गरेको पनि मध्यमवर्गीयलाई हो। अहिले मानिसहरूको खर्च गर्ने क्षमता (स्पेन्डिङ पावर) पनि खुम्चिएको उनको जिकिर छ।
उनी थप्छन्, ‘जसले गर्दा हाम्रो लक्षित ग्राहक जो मध्यमवर्गमा पर्नु हुन्छ उहाँहरू नै अहिले सकसमा हुनुहुन्छ। लकडाउनले गर्दा पनि मार्केट पनि त्यति राम्रो छैन, बैंकको लोन बन्द, एलसी पनि बन्द, यी कुराहरूको पनि असर पकै परेको नै हो। यो सबै एउटा चेन हो। सबैको आम्दानी कम हुँदै गएपछि खर्च गर्ने क्षमता पनि घट्दै गएको छ।’
पुराना पुराना आउटलेटहरूमा भने लकडाउनको समयमा घरधनीहरूबाट समस्याहरू आउन थालेपछि बन्द गर्नु परेको जुनेश गुनासो गर्छन्। 'त्यो समय नै त्यस्तै थियो, सबैलाई समस्या परेको थियो। हामी भने दुवैलाई सहज हुने गरेर अघि बढ्न केही समय मागेका पनि थियौं। तर हामीले त्यो समय पाएनौं,', उनले भने, 'लकडाउनको ६-७ महिनाको बेलाको भाडा विस्तारै दिने भनेर तालिका जस्तै नै बनाएका थियौं। चालु महिनाको हामीले दिइरहेकै थियौं।’
नगद कारोबार घटेपछि चौतर्फी असर परेको उनको विश्लेषण छ। 'बोता चल्नका लागि क्यास फ्लो पनि हुनु पर्यो। स्टाफको तलबदेखि भाडासम्म जुटाउन ग्राहो भइरहेको थियो,' उनले भने। त्यसपछि अनामनगर, कौशलटार, झोंछे, कमलपोखरीस्थित बोताकै सिस्टर आउटलेट, मम गुरु, गरी करिब आधा दर्जन आउटलेट बन्द गर्नु परेको सुनेश बताउँछन्।
प्रमुख कारण खानाको गुणस्तर खस्किएर ग्राहकहरूको कमी भएर भन्दा पनि बजारमा छाएको मन्दी हो भन्ने बोता व्यवस्थापनको विश्लेषण छ। सेन्ट्रल किचनबाट नै सबै ठाउँमा मम बनेर जाने हुँदा ग्राहकहरूबाट बोताको खानेकुराको गुणस्तर र स्थिरतामा गुनासो नआएको उनको दाबी छ।
जुनेश भन्छन्, ‘तर कहिले कहिँ सप्लायर्सहरूका तर्फबाट खाद्यवस्तु अलिकति गाह्रो छ र हामीले त्यसलाई पनि राम्ररी नै मोनिटर गरिरहेकै हुन्छौं। ग्राहकले १० पिस मममा नौवटा खाएर लास्ट पिसमा कम्प्लेन गर्नुहुन्छ भने पनि हामी त्यसलाई रिप्लेस गरिदिन्छौं।’
अब कारोबार फेरि कसरी फर्कन्छ लयमा
फ्रेञ्चाइज सम्झौताअनुसार सबैतिर एउटै गुणस्तरको मम पस्किनु अनिवार्य थियो। तर केही ठाउँका कमजोरीले बोताको प्रतिष्ठामा असर परेको भेटियो। आउटलेट थोरै भए पनि गुणस्तरीय सेवा दिएर व्यापार पुनः ल्यमा ल्याउने रणनीतिमा छ बोता।
बजार बिग्रिनुको एउटा कारण फ्रेञ्चाइज सम्झौता उल्लंघन पनि भएको जुनेश सुनाउँछन्, 'सम्झौताका नियम एकदम नै बलियो छ। त्यो भए पनि हाम्रा फ्रेञ्चाइज लिएका केही रेस्टुरेन्ट सञ्चालकहरूले आफ्नै मम बेच्न थाले, केहीले फरक मेन्यु थप्न थाल्नु भयो। त्यसले व्यापारमा असर परेको हो।’
लकडाउनपछि खोलेको बुटवलको आउटलेट अनुगमन गर्दा त्यहाँका सञ्चालकले आफैंले मम: बनाएर बेचेको खुल्यो। 'सम्झौताको उल्लंघन हुने बित्तकै हामी त्यो फ्रेञ्चाइज बन्द गर्ने अधिकार राख्छौं। यसरी नै बुटवल आउटलेट बन्द भएको हो,' प्रधान सुनाउँछन्।
‘त्यस्तै बौद्धको फ्रेञ्चाइजमा सञ्चालकले हामीले रोक्दारोक्दै हाम्रो सेट मेन्यु बाहिर गएर थकाली थप्दा हामी त्यो आउटलेट पनि बन्द गर्न बाध्य भयौं,’ उनले भने।

बोताको अर्को बन्द भएको आउटलेट भनेको विराटनगरको हो। बोतालाई पहिलै रफ्तारमा जान अझै एक/दुई वर्ष लाग्ने अड्कल उनले गरेका छन्। महामारीको असरबाट विस्तारै बोताले पिकअप लिदैँ गरेको जुनेश बताउँछन्। यसै क्रममा बोताले गत जुलाईबाट 'दाउरा थकाली' पनि स्थापना गरेको छ।
जुनेश भन्छन्, ‘यसका लागि हामीले हरेक हप्ता हाम्रो सर्भिस राम्रो बनाउन, मार्केटिङ अझै बलियो बनाउन काम गरिराखेकै छौं। साथै हामी नयाँ नयाँ ठाउँमा रिलोकेट पनि गर्न खोजिरहेका छौं।'