BIZMANDU
www.bizmandu.com

भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी, सात ठाउँ पुग्यो आउटलेट, अब दिल्लीमा खोल्ने योजना

२०७९ भदौ १३

भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी, सात ठाउँ पुग्यो आउटलेट, अब दिल्लीमा खोल्ने योजना
भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी, सात ठाउँ पुग्यो आउटलेट, अब दिल्लीमा खोल्ने योजना


काठमाडौं। शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ। स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलिगुडीमा नयाँ आउटलेट खोलेको हो।

Tata
Global Ime

सिलिगुडीको होमल्याण्ड बिजनेस सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार वर्ग फुट क्षेत्रफलमा छ। यसअघि भारतका अरु ६ ठाउँमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले पश्चिम बंगालको सहर सिलिगुडीमा पनि सेवा विस्तार गरेको हो।

चाँडै भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक महलमा समेत आफूलाई लैजाने केटीएम सिटीले जनाएको छ।

नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेटमार्फत बिक्री गर्दै आएको छ। काठमाडौंसहित पूर्वको धरान, पश्चिमको बुटवलसम्म आउटलेट सञ्चालन गरेको छ। भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डको लुगाले सफलता प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ।

‘केटीएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर मात्र बनाएको छैन, अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डको रुपमा आफूलाई स्थापित समेत गर्न खोजिरहेको छ। भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं,’ कम्पनीद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ।

केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो। पछिल्लो समय खेलकुदको क्षेत्रमा पनि आक्रामकरूपमा सेवा विस्तार गरिरहेको यो कम्पनीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत खेलको पोसाक उत्पादन र वितरण गर्दै आएको छ।