काठमाडौं। डेढ महिना भित्र फाइभजीलाई आवश्यक उपकरण नेपाल टेलिकमले ल्याउने भएको छ। नियामक नेपाल दूरसंचार प्राधिकरणले फाइभजी परीक्षणलाई आवश्यक उपकरण ल्याउन नेपाल टेलिकमलाई सिफारिस दिइसकेको छ।
अबको एकदेखि डेढ महिना भित्र फाइभजीलाई आवश्यक उपकरणहरु नेपाल भित्र्याउने गरि काम भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
‘ठ्याक्कै यति समयमै कन्ट्र्याक्टरले ल्याउला भन्न त म सक्दिन। सामान आउने क्रममा छ। सामान आएर जडान भएपछि फाइभजी ट्रायल सुरु हुन्छ। दूरसंचार प्राधिकरणले सामान ल्याउन सिफारिस गरिसकेको छ। तर, अबको डेढ महिनामा सामानहरु आइपुग्छ कि भन्ने छ। टेलिकमले छानेको सप्लायरले चीनबाट फाइभजीलाई आवश्यक उपकरण ल्याउँदैछ,’ अधिकारीले बिजमाण्डूसँग भने।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न आवश्यक उपकरण आयातका लागि प्राधिकरणले सिफारिस गरिसकेको बताए।
काठमाडौंसँगै पोखरा, वीरगंज र विराटनगरबाट फाइभजीको परीक्षण गर्ने योजना सरकारको छ। परीक्षण अवधिभर उपभोक्ताहरूलाई नि:शुल्क फाइभजी डेटा दिने तयारी सरकारको छ।
फाइभी संचालनका लागि लो ब्यान्डअन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मिड ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र हाइ ब्यान्डको २६ गिगाहर्ज ब्यान्डको फिक्वेन्सी फाइभजीका लागि सिफारिस भएको थियो।
सेवा प्रदायकहरुलाई न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत एक सय मेगाहर्जसम्म र उच्च ब्यान्डमा एक हजार मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन फोरमले सिफारिस गरेको छ।
प्राधिकरणले फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि २०७८ साउनमा ल्याएको थियो। उक्त कार्यविधिले फाइभजीलगायतका नयाँ प्रविधिको परीक्षणका लागि सेवा प्रदायकहरुलाई सहज भएको छ।
निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेललाई भने सरकारले फाइभजी परीक्षणको अनुमति दिएको छैन। एनसेलले पनि फाइभजी परीक्षण गर्न आफूहरु तयार भएको भन्दै अनुमति दिन आग्रह गर्दै आएको छ।
अम्बानीको जिओले दिवालीसम्म भारतमा फाइभजी रोलआउट गर्ने
यता भारतमा भने अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी रिलायन्स जिओ फाइभजीको व्यवसायिक रोलआउटमा आक्रामक देखिएको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष एवं प्रबन्ध निर्देशक मुकेश अम्बानीले जिओले स्ट्यान्डअलोन आर्किटेक्चरमा आधारित फाइभजी सेवा तिहार भित्रै ल्याउने घोषणा गरेका छन्।
रिलायन्स जिओले भारतको दिल्ली, मुम्बई, चेन्नई र कोलकत्तामा तिहारभित्रै फाइजी रोलआउट गर्ने जनाएको छ। त्यसपछि डिसेम्बर २०२३ अर्थात् १८ महिना भित्रै भारतभर फाइभजी आक्रामक रुपमा विस्तार गर्ने तयारी जिओको छ।
‘जिओको फाइभजी प्यान इन्डिया डिसेम्बर २०२३ सम्ममा लन्च गर्छौं। यो विश्वको सबैभन्दा आधुनिक फाइभजी हुनेछ,’ सोमबार कम्पनीको ४५औं वार्षिक साधारणसभामा अम्बानीले भने, ‘जिओको महत्वकांक्षी फाइभजी रोलआउट योजना संसारकै सबैभन्दा छिटो हुनेछ।’
अम्बानीका अनुसार जिओले भारतमा फाइभजी विस्तारका लागि २० खर्ब भारु लगानी गर्ने अम्बानीले बताए। कम्पनीले आफ्नै एन्ड-टु-एन्ड फाइभजी स्ट्याक समावेश गरेको छ। अम्बानीले उक्त स्ट्याक तीन वर्षको अवधिमा जिओका दुई हजार इन्जिनियरहरुले विकास गरेको जानकारी दिए।
जिओको फाइभजी नेटवर्क स्ट्यान्डअलोन हुने र यो फोरजी नेटवर्कमा शून्य निर्भरता रहने अम्बानीले दाबी गरेका छन्। स्ट्यान्डअलोन आर्किटेक्चरले जिओलाई फोरजीमा निर्भर नभइ फाइभजीको पूर्ण कभरेज, क्षमता, गुणस्तर र किफायती बनाउने उनले बताए।
‘फाइभजी स्ट्यान्डअलोनले जिओलाई नयाँ र शक्तिशाली सेवाहरु जस्तै लो ल्याटेन्सी, विशाल मेसिन-टु-मेसिन कम्युनिकेसन, फाइभजी भ्वाइस, एज कम्प्युटिङ र नेटवर्क स्लाइसिङ र मेटाभर्स उपलब्ध हुनेछन्,’ अम्बानीले भने।
जिओले सबै स्मार्टफोन ब्राण्डहरुसँग फाइभजी स्ट्यान्डअलोन सेवालाई सपोर्ट गर्नेगरी कुराकानी गरिरहेको जनाएको छ।
‘फाइभजीको साथमा जिओले अर्बौं स्मार्ट सेन्सर जसमा इन्टेलिजेन्स लन्च गर्नेछ। यसले इन्टरनेट अफ थिङ्ग्स र चौथो औद्योगिक क्रान्तिमा थप बल पुग्छ।सबै क्षेत्रलाई उच्च गुणस्तर र किफायती डेटाले जोड्नेछ,’ अम्बानीले भने।