काठमाडौं। विश्वमा रहेका ठुला अटोमेकरहरुले इभीका लागि आवश्यक पर्ने ब्याट्री निर्माण गर्न ५० अर्ब डलर लगानी गरेका छन्। अटोमेकरहरू हालका महिनाहरूमा विभिन्न साझेदारहरूसँग इभीको लागि ब्याट्री प्लान्ट योजनाहरू घोषणा गर्न हतार गरिरहेका छन्।
यतिखेर अटो व्यवसायीहरु इभीको उत्पादन बढाउने योजनामा काम गरिरहेका छन्। त्यसका लागि ब्याट्री सबैभन्दा आवश्यक कम्पोनेन्ट हो। हालै टोयोटाले आफ्नो ब्याट्री प्लान्ट निर्माण गर्न साढे ५ अर्ब डलर लगानी गरेको छ।
यस्तै यस हप्ता होन्डाले पनि नयाँ अमेरिकी ब्याट्री प्लान्ट निर्माणको लागि एलजीसँग मिलेर साढे ४ अर्ब डलर लगानी गरिसकेको छ। यसैगरी हुन्डाईले मे महिनामा जर्जियामा ब्याट्री प्लान्ट निर्माण गरिरहेको बताएको थियो। यसमा त्यस प्लान्टका लागि साढे ५ अर्ब डलर लगानी गरेको छ।
फोर्डले पनि गत वर्ष एलजी प्रतिद्वन्द्वी एसके इनोभेसनसँग इभी एसेम्बली प्लान्टसहित तीनवटा ब्याट्री प्लान्ट निर्माण गर्न ११.४ अर्ब डलर लगानी गर्ने बताएको थियो।
मर्सिडीज बेन्जले यस वर्षको सुरुमा अलाबामामा ब्याट्री प्लान्ट खोलेको थियो। फिएट क्रिसलर र फ्रान्सेली अटोमेकर पीएसए समूहको मर्जरबाट बनेको स्टेलान्टिसले गत वर्ष एलजीसँग ब्याट्री प्लान्ट योजनाहरू घोषणा गरेको थियो। यसले ७.६ अर्ब डलरको लगानी उक्त प्लान्टमा खर्च गर्नेछ।
यस्तै टेनेसी र मिचिगन मिलेर ७.२ अर्ब डलर आफ्नो ब्याट्री प्लान्टको लागि लगानी गर्ने भएका छन्।