काठमाडौं। जावलाखेलस्थित चिडियाखानाबाट बाहिर निस्कने प्रवेशद्वारबाट केहि पर जाँदा ६० वर्ष पुरानो एउटा पुरानो शैलीको रातो घर देखिन्छ। बाहिरबाट हेर्दा यो घर सानो छ। प्रवेश द्वारमा 'लेखिएको भिन्टेज दि होम' ले नै यो घरको पहिचान झल्काइदिएको छ। यो घरकै पहिचान दिने उद्देश्यले रेष्टुरेण्टको नाम 'भिन्टेज दि होम' राखिएको संचालक यमन श्रेष्ठ बताउँछन्।
रेष्टुरेण्ट प्रवेशद्वारबाट भित्र छिर्दा घरसँगै जोडिएको फराकिलो परिसर, सजाएर राखिएको संस्कृति, परम्परा झल्किने पुरानो शैलीको भाँडाकुँडा, लालटिनको झल्को दिने लाइटिङलगायतका आवरणले जो कोहीलाई आनन्दित बनाउँछ।
रेष्टुरेण्टको पश्चिमपट्टी रहेको बाल्कोनीबाट चिडियाखानामा रहेका चराचुरुङ्गीलाई नजिकैबाट नियाल्दै खानपिन गर्न सकिन्छ। हाँस्यकलाकार मदनकृष्णका छोरा यमनको बाबुकै जस्तो ठट्यौली पारा छ। उनी स-साना कुरामा पनि उत्साहित हुने र रमाउने गर्छन्। भिन्टेजबाट पनि उनी ग्राहकलाई ससाना कुराहरुबाट रमाइलो दिने कोशिश गरिरहेका छन्।
रेष्टुरेण्टमा नेपाली संस्कृतिअन्तर्गत विभिन्न भुगोल, जातजातीको भेषभुषासहितको कठपुतली सजाइएको छ। बस्ने ठाउँ छेउछाउमा शान्त र सकारात्मक उर्जा दिनका लागि बुद्धको मूर्ति तथा अन्य चित्रकलाहरु सजाइएको छ।
भिडभाडयुक्त वातावरणमा रहेको भएपनि रेष्टुरेन्ट पस्नेबित्तिकै बाहिरी कोलाहल बन्द नै हुन्छ। त्यहाँभित्रको प्राकृतिक माहोलले जो कोहीलाई शान्त महसुस गराउँछ। पाहुना लागि बनाइएको विभीन्न कक्ष, अनि कुर्सी वरपर सजाइएका विभीन्न फूल तथा बोटविरुवा । मुख्य कुरा त रेष्टुरेण्टको मध्य भागमा वर्षौंदेखि रहँदै आएको कपुरको बोटलाई संरक्षण गरेर जस्ताको तस्तै राखिएको छ।
कोभिड सुरु हुनु केही समय अघि संचालनमा आएको यो रेष्टुरेण्ट केही महिनाअघिदेखि पूर्ण रुपमा संचालनमा आएको हो। कंक्रिटको शहरको बीचमा पनि आधुनिक तवरले बनेको परम्परागत शैलीको भिन्टेज खानपिन र शान्त वातावरणको पर्यायजस्तै बनेको छ।
करिब डेढ दशकको अमेरिका बसाई, कलाकारिता यात्रा हुँदै रेष्टुरेन्ट व्यवसायी बनेका यमन आफ्नो प्रवास यात्रालाई पूर्णविराम लगाउँदै शून्यबाट नेपालमा फेरि आफूलाई उभ्याउन प्रयासरत भएको बताउँछन्। खानपिनमा उनी आफैं शौखिन। व्यवसायमा पनि यसैलाई रोजेका उनी भन्छन्-'जिन्दगीमा शून्यबाट अलिकति अघि बढियो भने केही सकारात्मक त हुन्छ। हिँडेन भने त जहाँको त्यहीँ भइन्छ। एक त म आफैँलाई खाना पकाउनमा रुची छ। पछि गएर आफ्नो सिग्नेचर डिस प्रस्तुत गर्ने योजना बनाएको छु। मलाई विभीन्न रेष्टुरेण्ट घुम्दै हिँड्न मन लाग्ने। यो ह्याङ आउट गर्ने थलोमा आफू पनि आवद्ध हुन मन लाग्यो। त्यसैले व्यवसाय नै बनाउने निधो गरें।'
रेष्टुरेण्ट व्यवसायमा प्रवेश गरेको करिब एक वर्ष भयो। तर कोभिड महामारीबाट यो क्षेत्र बाहिर आउन थालेको भर्खरै भर्खरै हो। उनी रेष्टुरेन्टमा आउने अधिकांश ग्राहकहरुसँग परिवारका सदस्यले जस्तै कुराकानी गर्न रुचाउँछन्। उनीहरुका कुराकानीले आफू अझ उत्साहित हुन्छन्। आफ्नो स्वभावले हसाँउछन्। जसले पनि आएर हौस्याएकाले नयाँ उर्जा थपिएको उनले बताए। हाल यहाँ मुखकै प्रचारको भरले कर्पोरेट हाउस, चलचित्र जगत तथा अन्य उद्यम क्षेत्रबाटै धेरै ग्राहकहरु आइरहेको यमनको भनाई छ। रेष्टुरेण्टमा कहिलेकाहीँ बुबा मदनकृष्ण श्रेष्ठ पनि टहलिँदै पुग्दा आफूलाई छुट्टै उत्साह मिल्ने उनले बताए।
अमेरिकाको आतिथ्यता अनुभव नेपालमा
पाहुनाका लागि उही गुणस्तरको स्वाद, आतिथ्यता कायम गर्नका लागि दक्ष जनशक्ति प्रयोग गर्दै आएको उनी बताउँछन्। रेष्टुरेण्टका सेफ तारे होटलबाटै आएका छन्। त्यसैले उनी यहाँ सबै कामदारलाई निर्देशन दिने भन्दा पनि साथीभाई जसरी सल्लाह लिनेदिने गर्छन्। उनी भन्छन्-'म आफ्नो रेष्टुरेण्टलाई पाठशालाको रुपमा लिन्छु। जहाँ म आफैं पनि सिक्दैछु।'
यमनका लागि रेष्टुरेन्टमा आउने हरेक व्यक्ति आदर्श व्यक्तित्व हुन्। उनीहरु सबैसँग केही न केही गुण हुन्छन्। यहाँका कर्मचारीलाई उनले सिकाएकै के मात्र हो भने –'जो पनि ग्राहक आउनुहुन्छ वहाँहरुलाई आफ्नो आर्दश व्यक्ति सम्झिएर सत्कार गर्नु। यसो भयो भने मनैदेखि आतिथ्यभाव उत्कृष्ट रुपमा आउँछ।'
उनी बेला बेला आफ्नो निर्देशनमा कर्मचारीलाई पाहुना र वेटर बनाएर नाटककै रुपमा सत्कार सिकाउँछन् पनि। यसो गर्दा रेष्टुरेन्टका कर्मचारी रिफ्रेस पनि हुने, क्षमता विस्तार पनि हुने। आफूभित्रको कलाकारितालाई उनले रेष्टुरेन्टमा यसरी पनि प्रयोग गर्दै आएको बताए।
रेष्टुरेण्टमा आफूले सुरु गर्दै आएको यस्तो तालिम अन्तर्राष्ट्रिय हस्पिटालिटी चेन 'एक्सटेण्डेड स्टे अमेरिका'को १३ वर्षे अनुभव अन्तर्गत हो।
जतिबेलापनि यमनको मनमा एउटै मात्र कुरा खेलिरहेको हुन्छ त्यो के भने कसैले पनि यस रेष्टुरेन्टको खाना र आतिथ्यतामा कुनै प्रश्न उठाउन नपाउन्। 'पाहुनालाई केही कुरामा चित्त बुझेन भने त आफ्नो मात्र होइन बाउकै नाक जान्छ नी!'-उनले ठट्यौली पारामा भने।
ग्राहकको माग अनुसार रेष्टुरेण्टमा नेपाली खाना, नेवारी परिकार, इटालियन लगायत विभीन्न परिकार राखिएको उनले जानकारी दिए। रेष्टुरेण्टमा एकपटक आउने पाहुना खानामा चित्त बुझेपछि पटक पटक दोहोर्याएर आउँदा आफ्नो प्राप्ति नै त्यही हो भन्ने यमनलाई लाग्छ।
सेवा गुणस्तर निरन्तर कायम गर्नका लागि रेष्टुरेण्टले भेजिटेबल प्युरिफायर प्रयोग गर्दै आएको उनले जानकारी दिए। ल्याइएका तरकारीहरु पहिले यस प्युरिफायरले धोइपखाली गर्ने अनि मात्र पकाइने हुँदा स्वास्थ्यबर्द्धक हुने उनको भनाई छ।
४७ वर्षको उमेरमा रेष्टुरेन्ट व्यवसायमा छिरेका यमन समयको माग अनुसार नै यस क्षेत्रमा आएको बताउँछन्। 'आज म जुन अवास्थामा छु त्यो सबै आजका दिनसम्म मैले गर्दै आएको कामको फल हो। भोलिका दिनमा ममा अझै नयाँ सोच र नयाँ बाटोहरु अवश्य नै आउँछ। समयको माग अनुसारको यात्रा गर्नुपर्छ भन्ने मैले आफ्नै जीवनको अनुभवबाट सिकेको छु।'
रेष्टुरेण्टमा ५६ थरी परिकार र ७७ थरी पेय पदार्थको मेनु राखिएको छ। यस अन्तर्गत परिकारमा न्यूनतम दुई सय रुपैयाँ र पेय पदार्थ न्यूनतम एक सय २० रुपैयाँदेखि सुरु हुन्छ।
यस अन्तर्गत पाहुनाले सुप, सलाद, नन भेज स्न्याक्स, भेज स्न्याक्स, स्याण्डविच, बर्गर, सिजलर ,चाउमिन, थुक्पा, मःमः, नेपाली खाजा सेट, स्पेशल जापनिज रामेन, थकाली खाना सेट, भिन्टेज ओभन पिजा, पास्ता, विरीयानी, ग्रिल्ड चिकेन लेग, पोर्क स्टीक, ट्राउटलगायत परिकारको स्वाद लिन सक्ने छन्।

तीन तल्लाको भवनमा करिब दुई सयजना अट्ने क्षमता रहेको उनले जानकारी दिए। यो घरको तेस्रो तल्लालाई कार्यालय प्रयोजनमा राखेको रेष्टुरेण्टले निकट भविष्यमा थप कक्ष विस्तार गर्ने योजना समेत बनाइरहेको छ। उनका अनुसार हाल रेष्टुरेण्टमा १६ जना कार्यरत छन्।
झण्डै १३ वर्ष विदेशमा बिताएका उनी आफ्नो बसाई अवधिभर पढाई गरे, काम गरे। अनेक दुख सुख संगाले। तर बिदेशमा जति समय बिताए त्यसमा उनलाई कुनै पश्चाताप छैन। उनी भन्छन्-' जिन्दगीमा खुशी खोज्दा खुशी मात्र मिल्दैन, दुःख पनि पाइहालिन्छ नि!'
अमेरिकामा बसेर उनले एमबीएको पढाई सके। बिजनेस पढेपनि उनलाई बच्चैदेखि कलाकारितामा रुची थियो। बुवा नेपालकै चर्चित कलाकार। घरमा कला क्षेत्रकै व्यक्तित्वहरुको आवतजावत हुने। सानैदेखि कलाकारहरुको सानिध्य भएकाले उनमा पनि त्यो रुची गढ्नु स्वाभाविकै थियो। तर विदेशिएपछि धेरै कुराहरुमा मन मार्नु पर्यो यमनले।। फेरि नेपाल फर्केपछि भने आफूले धेरै अवसर पाएको उनी उत्साहित हुँदै सुनाउँछन्।
नेपाल फर्केपछि उनले अभिनय गरे। गीत गाए, बिभिन्न मञ्चमा आफ्नो कला प्रस्तुत गरिरहे। कला सँगसँगै उनले अमेरिकाको हस्पिटालिटी अनुभवलाई नेपालमै उपयोग गर्नकै लागि भिन्टेज रेष्टुरेन्ट सुरु गरेका हुन्। उनी भन्छन्-'यस रेष्टुरेन्टलाई खानाको मात्र होइन कलाकारिताको भोक मेट्ने थलोका रुपमा पनि अघि बढाउन चाहन्छु।'

