काठमाडौं। नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी तीन अर्ब पुर्याउँदै नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेको छ। बोर्डको हालै बसेको संचालक समिति बैठकले धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गर्दै नयाँ स्टक एक्सचेन्जको बाटो खोलेको हो।
बोर्ड अध्यक्ष रमेशकुमार हमालले नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएको जानकारी दिए। 'हामीले नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएका छौं। पाँच करोड रुपैयाँ मात्रै भएको चुक्ता पुँजी ३ अर्ब पुर्याइएको छ,' उनले बिजमाण्डूसँग भने।
अर्थमन्त्रालयबाट केही दिनमै यो प्रस्ताव क्याबिनेट जानेछ। क्याबिनेटबाट स्वीकृत भएर आएपछि नयाँ स्टक एक्सचेन्ज दिने प्रक्रिया अगाडि बढ्नेछ। स्रोतका अनुसार चुनाव अघि नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ।
स्टक एक्सचेन्जका लागि विभिन्न व्यवसायिक घराना इच्छुक छन्। निजी क्षेत्रको एउटा मात्रै कम्पनीले स्टक एक्सचेन्जको लाइसेन्स पाउनेछन्। नयाँ स्टक एक्सचेन्जमा अधिकतम १५ प्रतिशत होल्डिङ रहनुपर्ने व्यवस्था राखिएको छ। यसअघि १० प्रतिशत मात्रै राख्न पाउने व्यवस्था थियो। हमालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राखेको जस्तै गरेर १५ प्रतिशतको प्रावधान राखिएको हो।
विनियमावलीमा स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने व्यवस्था थप गरिएको छ। यसअघि बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी र सूचीकृत भएका कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था थियो।
हमालले स्टकमा लगानी गर्ने दायरा संकुचन नहोस् भनेर संस्थागत लगानीकर्तालाई बाटो खोलेको बताउँदै व्यक्तिगत लगानीकर्ताले भने लगानी गर्न नपाउने स्पस्ट पारे।
प्रक्रिया पुर्याएर लाइसेन्स
हमालले प्रतिस्पर्धाकै आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बताए।
'प्रतिस्पर्धा कै आधारमा सबै प्रक्रिया पुर्याएर नयाँ स्टकको लाइसेन्स दिइनेछ,' उनले बिजमाण्डूसँग भने, 'निजी क्षेत्रलाई ल्याउँदा त्यसले सकारात्मक प्रभाव पारेको छ। त्यही भएर निजी क्षेत्र आउँदा बजारको विस्तारमा सघाउँछ।'
उनले नेपाल टेलिकमको उदाहरण दिँदै एउटा मात्रै अपरेटर हुँदा टेलिफोन लिन २५ हजारसम्म तिर्नुपरेको बताए। 'हामीले अन्यत्र जानै पर्दैन। नेपाल टेलिकम मात्रै हुँदा टेलिफोन लिन लामो लाइन र २५ हजार रुपैयाँ तिर्नुपर्थ्यो। अहिले हामीले सित्तैमा सीम पाउँछौं', उनले भने, 'भारतमै पनि बीएसई र एनएसई दुई वटा स्टक एक्सचेन्ज छन्। पहिला एउटा मात्रै हुँदा कति लगानी थियो र अहिले विदेशबाट कति लगानी भित्रिरहेको छ।'