BIZMANDU
www.bizmandu.com

यतीको छैटौं जहाज यही साता काठमाडौं आइपुग्दै, सिंगापुरबाट केही दिनमै काठमाडौं उड्दै

२०७९ भदौ १९

यतीको छैटौं जहाज यही साता काठमाडौं आइपुग्दै, सिंगापुरबाट केही दिनमै काठमाडौं उड्दै
यतीको छैटौं जहाज यही साता काठमाडौं आइपुग्दै, सिंगापुरबाट केही दिनमै काठमाडौं उड्दै


काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको छैटौं जहाज यही साता काठमाडौं आइपुग्ने भएको छ। कम्पनीको एटीआर-७२ सिरिजको यो जहाज यतिखेर सिंगापुरमा ल्याइपुर्‍याइएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए।

Tata
Global Ime

'जहाज भोलि नै आइपुग्ने कुरा थियो। उता केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले जहाज त्यताबाट हिँड्न केही समय लाग्ने जानकारी आएको छ,' ती अधिकारीले बिजमाण्डूसँग भने,'यो जहाज ल्याएपछि कम्पनीले आफ्नो उडान संख्या विस्तार गर्ने योजना बनाएको छ।'

सन् २०११ मा निर्माण भएको उक्त जहाजको मूल्य करिब एक अर्ब रुपैयाँ (८० लाख अमेरिकी डलर) पर्ने प्राधिकरण स्रोतले जनाएको छ। 

हाल कुल पाँचवटा एटीआर-७२ सिरिजको जहाजमार्फत कम्पनीले दैनिक २८ वटा उडान भर्दै आएको छ। प्राधिकरणका अनुसार कम्पनीले एउटा एटीआर थपिएसँगै दैनिक ३२ वटा उडान सेवा दिने योजना बनाएको छ।

हाल यतीले पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, जनकपुर, नेपालगञ्ज लगायत विभिन्न सुगम गन्तव्यमा नियमित उडान सेवा दिँदै आएको छ।

पछिल्लो तीन वर्षयता आन्तरिक उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीले सानाभन्दा ठूला सिरिजका जहाजको संख्या विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।