ठ्याक्कै ६ वर्षअघि भारतमा टेलिकम कम्पनीको रुपमा भित्रिएको रिलायन्स जिओले छोटो समयमै शीर्ष स्थान खोस्यो। तर, अझै पनि जिओसँग धेरै खर्चालु प्रयोगकर्ता छैनन्।
एसियाका दोस्रो धनाढ्य मुकेश अम्बानीले सन् २०२२ को सुरुआतमा फाइभजी सेवा दिने बारे सो जानकारी दिएका थिए। रिलायन्स मात्रै एउटा यस्तो टेलिकम कम्पनी बन्यो जसले ७०० मेगाहर्ज ब्यान्डको महँगो स्पेक्ट्रम आफ्नो पोल्टामा पार्न सफल भयो। जसका लागि जिओले झण्डै ४ खर्ब भारतीय रुपैयाँ खर्चिएको थियो।
जति बेला जिओका अरु प्रतिस्पर्धी अपरेटरहरुले उक्त एयरवेबलाई त्यत्रो पैसा पर्छ भन्ने सोचेमा पनि थिएनन्। अम्बानीले रिलायन्सको वार्षिक साधारण सभामा जिओको फाइभजी विश्वकै ठूलो र अत्याधुनिक नेटवर्क हुने घोषणा गरेका थिए। जिओले फाइभजीको पछिल्लो भर्सन अर्थात् स्ट्यान्ड अलोन फाइभजी (फोरजी नेटवर्कसँग कुनै प्रकारले पनि निर्भर नहुने) विस्तार गर्ने योजना रहेको अम्बानीले सुनाएका थिए।
जिओको प्रमुख प्रतिस्पर्धी भारती एयरटेलले भने अम्बानीको दाबीलाई चुनौती दिँदै स्ट्यान्ड अलोन र नन स्ट्यान्ड अलोन फाइभजी मोड्समा गुणस्तरका हिसाबले कुनै पनि भिन्नता नरहेको प्रष्ट पारेको थियो। स्ट्यान्ड अलोन मोडको इकोसिस्टम, ७०० मेगाहर्जमा रोलआउट हुने फाइभजी जुन सी-ब्यान्ड (३३००-३६०० मेगाहर्ज) सँग कम्बाइन्ड हुन्छ त्यो निकै खर्चिलो हुने एयरटेलको दाबी छ।
एयरटेलले जिओले बाध्य भएर ७०० मेगाहर्ज ब्यान्ड किन्नु परेको र त्यसका लागि कुनै विकल्प नभएको प्रतिक्रिया दिएको छ। यसका साथै स्ट्यान्ड अलोन फाइभजी मोडका लागि जिओसँग मिड ब्यान्डको स्पेक्ट्रम (१८०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्यान्ड) प्रशस्त नभएको पनि एयरटेलको बुझाइ छ।
केही विज्ञहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले भारत विश्वको सबैभन्दा धेरै मोबाइल डेटा खपत हुने बजार भएको उल्लेख गरेका छन्। तर, सामान्य भ्वाइस कलमा भने त्यति सन्तोषजनक अवस्था नभएको बताएका छन्। फाइभजीमा गेमिङ तथा मनोरञ्जनका लागि हुने सिमलेस डेटा अनुभवका बाबजुद जनघनत्व बढी भएको र साँघुरा क्षेत्रहरुमा प्रिमियम प्रयोगकर्ताहरुलाई भ्वाइस कलको गुणस्तरमा सुधार गर्दै प्रतिस्पर्धीहरुलाई पछि पार्न सक्ने आंकलन गरिएको छ।
‘७०० मेगाहर्ज नै टेलिकम कम्पनीहरुलाई छुट्याउने प्रमुख कारण थियो,’ सीआरआइएसआइएल रिसर्चका निर्देशक अनिकेत दानीले भने।
उनले ७०० मेगाहर्ज सधैं प्रिमियम ब्यान्ड रहँदै आएको बताए। यसले टेलिकम कम्पनीहरुलाई टावरको खर्च कटौती गर्न र नेटवर्क कभरेज प्रदान गर्न सहयोगी हुने दानीले उल्लेख गरेका छन्।
लो फ्रिक्वेन्सी हुने भएकाले यो ब्यान्ड प्रयोग गर्दा भिडभाड र साँघुरा क्षेत्रहरुमा टेलिकम कम्पनीहरुलाई गुणस्तरीय कनेक्टिभिटी प्रदान गर्न सहज हुने बताइएको छ। जसका कारण जिओलाई दिल्ली, मुम्बई, कोलकतालगायतका क्षेत्रमा फाइभजी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिओले ७०० मेगाहर्जको ब्यान्ड प्रिमियम ग्राहकहरुलाई आफ्नो नेटवर्कमा आकर्षित गर्नकै लागि जोडतोडका साथ खरिद गर्न लागि परेको बताइएको छ। हाइ एन्ड प्रयोगकर्ताहरुलाई जिओको सिमकार्ड प्राइमरी बनाउने तयारी कम्पनीको छ।
औसत आम्दानी प्रति ग्राहक (एआरपीयू) उच्च बनाउन जिओले घर भित्रको (इन्डोर) भ्वाइस कलको गुणस्तर बढाउनेदेखि फाइभजीको अफरलाई छुट्याएर दिने तयारी थालेको बुझिएको छ। जिओले गुगलसँग मिलेर अल्ट्रा-लो कस्ट फाइभजी स्मार्टफोन विकास गरिरहेको छ। जसले जिओलाई आफ्नो फाइभजीको पहुँच बढाउन ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ।
स्ट्यान्ड अलोन फाइभजी भर्सेस नन-स्ट्यान्ड अलोन फाइभजी
भारतका अहिले चर्को बहस भइरहेको विषय टेलिकम अपरेटरहरुले स्ट्यान्ड अलोन फाइभजी नेटवर्कबाट लगानीगत प्रतिफल (आरओआइ) पाउँछन् त भन्ने छ। किनकि स्ट्यान्ड अलोन फाइभजी आफैंमा निकै खर्चिलो प्रविधि मानिएको छ।
भारती एयरटेलका सीइओ गोपाल भित्तलले केही समयअघि स्ट्यान्ड अलोन फाइभजी नेटवर्कमा प्रति जीबी खर्च नै करिब ५० प्रतिशतले बढ्ने बताएका थिए। जसका लागि डिभाइस इकोसिस्टमको अभाव रहेकाले स्ट्यान्ड अलोन फाइभजी प्रविधि महँगो हुने उनले दाबी गरेका थिए।
एयरटेलले फाभइजी नन स्ट्यान्ड एलोन मोडमा लन्च गर्ने तयारीमा छ। अक्टोबरमा फाइभजी लन्च गर्ने एयरटेलको तयारी छ। सन् २०२३ को मार्चसम्ममा भारतको हरेक सहर र मुख्य ग्रामीण भेगमा फाइभजी पुर्याउने एयरटेलको तयारी छ।
तर, जिओले भने ७०० मेगाहर्जसहितको स्ट्यान्ड अलोन नेटवर्कले उपभोक्ताहरुलाई गुणस्तरीय सेवाको अनुभव गराउन सक्ने दाबी गरेको छ। जसले कम्पनीको आम्दानीसहित बजार हिस्सा बढाउने र नेटवर्क सञ्चालन खर्च घट्ने अनुमान गरिएको छ।
७०० मेगाहर्ज ब्यान्डमा ब्रोडब्यान्ड सेवा दिनु २१०० मेगाहर्ज ब्यान्डभन्दा सस्तो पर्छ। सब गिगाहर्ज ब्यान्ड जुन १००० मेगाहर्जभन्दा कम छ त्यसले राम्रो कभरेज र कम पावरमै बढी स्पिड दिने बताइएको छ।
७०० मेगाहर्ज ब्यान्डको स्ट्यान्ड अलोन नेटवर्कले कम्पनीलाई दीर्घकालीन फाइदा पुग्ने बताइएको छ। जस्तै, उच्च गुणस्तर अल्ट्रा लो ल्यानटेन्सी फाइभजी अनुभव र व्यवसायिक प्रयोगका कारण कम्पनीलाई दीर्घकालीन फाइदा पुग्ने विश्वास जिओको छ।
यस्तै, दोस्रो ठूलो खेलाडी एयरटेलसँग फोरजी कोरमा नन स्ट्यान्ड अलोन नेटवर्क लन्च गर्न मिड ब्यान्ड (१८०० मेगाहर्ज र २१०० मेगाहर्ज) पर्याप्त छ। जिओको तुलनामा एयरटेलसँग मिड ब्यान्ड स्पेक्ट्रम बढी छ। त्यसैले जिओले शीर्ष टेलिकम खेलाडी बन्ने महत्वकांक्षा लिएर ७०० मेगाहर्ज ब्यान्ड छानेको अनुमान गरिएको छ। जसले फोरजीसँग कुनै भर नपरी शुद्ध फाइभजी दिने योजनामा जिओ रहेको दानीले बताएका छन्।
७०० मेगाहर्ज फाइभजी ब्यान्ड लो फ्रिक्वेन्सीमध्येमा पर्छ। फोरजी फ्रिक्वेन्सी भने ७०० र २५०० मेगाहर्ज भित्र पर्छ। जिओ वा एयरटेल कसले भारतको फाइभजी बजार कब्जा गर्छ भन्ने हेर्न केही समय कुर्नैपर्ने हुन्छ। भारतको फाइभजी बजारमा जिओ र एयरटेललाई नै मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ। (एजेन्सीहरुको सहयोगमा)