BIZMANDU
www.bizmandu.com

यतीको छैटौं एटीआर काठमाडौं अवतरण, दसैंअघि व्यवसायिक उडान गर्ने

२०७९ भदौ २०

यतीको छैटौं एटीआर काठमाडौं अवतरण, दसैंअघि व्यवसायिक उडान गर्ने
यतीको छैटौं एटीआर काठमाडौं अवतरण, दसैंअघि व्यवसायिक उडान गर्ने


काठमाडौं। यती एयरलाइन्सको छैटौं जहाज काठमाडौं अवतरण गरेको छ। आवश्यक कागजी प्रक्रिया पुर्‍याएसँगै रंगरोगन गरेर दसैं अगाडि नै व्यवसायिक उडानमा उपयोग गर्ने योजना कम्पनीको छ।

Tata
Global Ime

एटीआर ७२-५०० सिरिजको जहाज सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यतीका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

७० सिट क्षमताको उक्त जहाज अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा लिइएको उनले जानकारी दिए। उक्त जहाज क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएका हुन्।

एमएसएन नं. ९८६ सिरिजको यो जहाजको पहिलो उडान सन् २०११ मा भएको कम्पनीले जनाएको छ। हालसम्म यो जहाजले जम्मा १० हजार साइकल मात्र उडान गरेको र यो जहाज नेपालमा उडान गर्ने अन्य विमानको तुलनामा पछिल्लो संस्करण रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार र एटीआर विमानको जम्मा उडान साइकल ७० हजार हुन्छ भने एक अवतरणलाई एक साइकलको रुपमा लिइन्छ।

कम्पनीले यही आर्थिक वर्षभित्र अर्को एउटा जहाज थप्ने र नयाँ गन्तव्यमा सेवा विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए। विमान थप भएपछि पाँचवटा जहाजलाई आधार बनाई उडान गर्ने र एउटा जहाजलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने जनाइएको छ।

एटीआरले नयाँ पुस्ताका जेटभन्दा प्रति यात्रु-किलोमीटरमा करिब ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्ने र पुराना जहाजको तुलनामा तीन गुणा कम कार्बन उत्सर्जन गर्ने जनाइएको छ। हाल यो कम्पनीले पाँचवटा एटीआर-७२ सिरीजको जहाजमार्फत काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जसँगै पर्वतीय उडान पनि गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ चार्टर र नन्-सेड्युल उडान गर्ने अनुमति पाइसकेको छ।

सन् २०११ मा निर्माण भएको उक्त जहाजको मूल्य करिब एक अर्ब रुपैयाँ (८० लाख अमेरिकी डलर) पर्ने प्राधिकरण स्रोतले जनाएको छ।

हाल कुल पाँचवटा एटीआर-७२ सिरिजको जहाजमार्फत कम्पनीले दैनिक २८ वटा उडान भर्दै आएको छ। प्राधिकरणका अनुसार कम्पनीले एउटा एटीआर थपिएसँगै दैनिक ३२ वटा उडान सेवा दिने योजना बनाएको छ।