काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहरी क्षेत्रको वितरण प्रणाली सुधारका लागि ठूलो लगानी गर्ने भएको छ। सहरी क्षेत्रको प्रणालीले विद्युतको माग नै धान्न नसक्ने अवस्था भएपछि सुधार गर्न लागेको हो।
अत्यन्त पुरानो प्रणाली रहेका कारण प्राधिकरणले विश्वसनीय र गुणस्तरीय विद्युत प्रवाह गर्न नसकेपछि प्रणाली स्तरोन्नति गर्न लागेको जनाएको छ। प्राधिकरणका एक इन्जिनियरका अनुसार सुरुमा बत्ती बाल्नका लागि मात्रै प्रणाली विकास गरिएको थियो।
तर अहिले सहरी क्षेत्रमा बत्ती बाल्नेबाहेक घरायसी उपकरणहरुमा बिजुलीको प्रयोग बढ्दो छ। घरायसी उपकरण बढेसँगै प्रणालीले नधानेर बिजुली झ्यापझ्याप जाने समस्या छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको मुख्य प्राथमिकता प्रणाली सुधार भएको बताए। उनका अनुसार काठमाडौंसहित देशका मुख्य १८ वटा सहरको मास्टर प्लान बनाएर काम सुरु गर्न लागिएको छ। उनका अनुसार ती सहरमा २०५० सम्मको मागको प्रक्षेपणलाई हेरेर १३२ केभी, २२० केभीका अण्डरग्राउण्ड केबलिङ र सबस्टेसनहरु निर्माण गरिनेछ।
'अहिले खाली भएका ठाउँहरु पनि विस्तारै भरिँदै जान्छ। बजार विस्तार हुँदै जान्छ। त्यही भएर ती स्थानमा पूर्वाधार बनाउँदै जान लागेका हौ,' उनले बिजमाण्डूसँग भने, 'सहरहरुमा माग बढ्न थाल्छ। तर त्यस अनुसारको विद्युत दिन सकिँदैन। त्यसकारण अहिले नै काम गर्न लागेका हौं।पछि कामै गर्न सकिँदैन।'
घिसिङका अनुसार वीरगंज, जनकपुर, झापा, विराटनगर, भरतपुर, भैरहवा, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, दाङ, पोखरा लगायतका सहरहरुमा मास्टर प्लान बनाएर काम गर्न लागिएको हो। केही स्थानमा काम समेत सुरु भइसकेको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा अण्डरग्राउण्ड केबलिङको शिलान्यास नै गरिसकेका छन्।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर र ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गर्न लागिएको हो।
उनका अनुसार २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरुको क्षमता बढाउने तथा नयाँ थप्ने योजना छ। दुई वर्षभित्र सक्ने यो योजनाका लागि ७९ लाख ८ हजार डलर र २२ करोड २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
काठमाडौंमा ६० अर्ब खर्चेर प्रणाली सुधार हुँदै
प्राधिकरणले काठमाडौंको वितरण प्रणाली सुधारका लागि ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमानका साथ काम सुरु गरेको छ। गत हिउँदमा उपत्यकामा विद्युतको माग बढ्दा प्रणालीले थाम्न नसकेर एकैपटक करिब ५० वटा ट्रान्सफर्मर जलेको थियो।
उपत्यकाको विद्युत प्रणालीले करिब ५०० मेगावाट धान्न सक्ने प्राधिकरणका इन्जिनियरहरुको भनाइ छ। अहिले उपत्यकाको पिक डिमाण्ड करिब ४५० मेगावाट पुगिसकेको छ। आगामी वर्ष ६०० मेगावाटभन्दा बढी पुग्ने अनुमान छ। यही हिसाबले पनि प्रणाली सुधारमा काम नगर्ने हो भने अर्को वर्ष नै काठमाडौंमा वितरण प्रणालीका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था छ। त्यही भएर प्राधिकरणले अर्को वर्षका लागि करिब ३ अर्ब रुपैयाँ खर्चेर प्रणाली सुधार्ने योजना बनाइरहेको छ।
उपत्यकामा वितरण प्रणाली सुधारका लागि काठमाडौंमा कम्तिमा ३५ वटा ११ केभीए फिडर बनाउन लागिएको छ। सबस्टेसनमा १५/२० वटा सर्किट ब्रेकर प्यानलका साथै एक हजार नयाँ ट्रान्सफर्मरहरु थप्न लागिएको छ।
प्राधिकरणका अनुसार अहिले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहत अण्डरग्राउण्ड केबलिङको काम अन्तिम चरणमा पुगेको छ।महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत ६ सय किलोमिटर, रत्नपार्क वितरण केन्द्रअन्तर्गत ६ सय ५ किलोमिटर तार अण्डरग्राउण्ड गर्न लागिएको हो। विस्तारै उपत्यकाभरि नै विस्तार गर्न लागिएको छ। प्राधिकरणका अनुसार भएका सबस्टेसनहरुको क्षमता थप्न लागिएको छ भने नयाँ सबस्टेसनहरु समेत निर्माण गर्न लागिएको छ।
उपत्यकामा करिब २००० मेगावाट विद्युत प्रवाह गर्न सक्ने गरि मातातीर्थ, चोभार, टेकु, फुटुङ, थिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी लगायतका ९ स्थानमा सबस्टेशन निर्माण भइरहेको छ। टेकु, चपली लगायतका सबस्टेसनको क्षमता थप्न लागिएको छ।