BIZMANDU
www.bizmandu.com

प्रतिबन्धले आइफोन १४ नेपाल आउने अनिश्चित, फोन नआउँदा अरु एसेसरिजको व्यापार पनि चौपट


प्रतिबन्धले आइफोन १४ नेपाल आउने अनिश्चित, फोन नआउँदा अरु एसेसरिजको व्यापार पनि चौपट
प्रतिबन्धले आइफोन १४ नेपाल आउने अनिश्चित, फोन नआउँदा अरु एसेसरिजको व्यापार पनि चौपट


काठमाडौं। अमेरिकी टेक जायन्ट एप्पलले बुधबार सार्वजनिक गरेको आइफोन १४ विश्वभर विशेष चासोका साथ हेरिएको सेट हो। स्टाइलिस डिजाइन, नयाँ फिचर, क्यामरादेखि भिडियोका लागि गेमचेन्जर मानिएको आइफोन १४ किन्न खोज्ने धेरै नेपालीहरु भने निराश छन् किनभने सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाखदेखि नै महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको छ। 

Tata
Global Ime

पछिल्लो पटक तीन सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि त्यसको सबैभन्दा ठूला धक्का नेपालमा एप्पललाई लागिरहेको छ। एप्पलका सबै स्मार्टफोन सरकारको प्रतिबन्धको तारो बनेका छन्। सरकारले आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ। जसका कारण उक्त मितिसम्म एप्पलले बुधबार सार्वजनिक गरेका आइफोन १४ का कुनै पनि मोडल नेपाल भित्रिने अवस्था छैन। 

नेपालमा एप्पलको आधिकारिक स्टोर ओलिज स्टोरका निर्देशक लोकेश ओलीले सरकारले असोज २८ पछि आयात खुलाए मात्रै आइफोनका नयाँ मोडलहरु सहज रुपमा आउने अवस्था रहने बताएका छन्। आयात प्रतिबन्ध नखोले आइफोन १४ नेपाल भित्रिने मिति अनिश्चित हुने उनको भनाइ छ।   

'पछिल्लोपटक सरकारले आयात प्रतिबन्ध नलम्ब्याइदिएको भए आइफोन १४ का मोडलहरु समयमै नेपाल आउन पाउँथ्यो। तर, अरु समयमा पनि आइफोन लन्च हुने वित्तिकै नेपालमा कहिले पनि आउँदैन। बाहिर देशका बजारमा पनि लन्च भएको १५ दिनपछि आउने हो। नेपालमा भने बाहिर आएको पनि एक महिनापछि आइफोनका नयाँ मोडल भित्रिने गर्छ,' ओलिज स्टोरका निर्देशक लोकेश ओलीले भने, 'असोज २८ पछि सरकारले आयात खोल्यो भने त समस्या नै भएन। खुलेन भने त कुरै सक्कियो!'

एप्पलले बुधबार राति नेपाली समय १०:४५ पछि नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको थियो। एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका थिए।

कहिले आउँछ आइफोन?
एप्पलका अनुसार आइफोन १४ प्रोको प्रि-अर्डर कम्पनीले भोलि अर्थात् सेप्टेम्बर ९ शुक्रबारबाट लिँदैछ। सेप्टेम्बर १६ बाट आइफोन १४ प्रो बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

आइफोन १४ र आइफोन १४ प्लसको प्रि-अर्डर पनि सेप्टेम्बर ९ बाटै खुल्दैछ। आइफोन १४ सेप्टेम्बर १६ बाट किन्न सकिने कम्पनीले जनाएको छ। आइफोन १४ प्लसको बिक्री भने अक्टोबर ७ बाट हुनेछ।   

एप्पलले अमेरिका, क्यानडालगायतका धेरै देशहरुमा उक्त मितिअनुसार आइफोन बिक्री अघि बढ्ने जनाएको छ। 

आयात प्रतिबन्धले अरु एसेसरिजको व्यापार सुख्खा!

एप्पलका आइफोन आयात रोकिएपछि त्यसको चेन इफेक्ट अरु एसेसरिजहरुमा परिरहेको ओलीले जानकारी दिए। जसका कारण आफूहरुको व्यापारमा धेरै धक्का लागेको उनले बताए।

साथै वैध आयात रोकिँदा अवैध रुपमा आइफोनहरु बजार आइरहेको बताउँदै ओलीले सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेर मात्रै आयात रोक्नुपर्ने बताए। 

'यो चेन इफेक्ट नै हो। कोही मान्छेले आइफोन किन्यो भने त त्यसका अरु एसेसरिजहरु एयरपड्स, हेडफोन, आइफोन प्रोटेक्सनलगायत बिक्ने हो। आइफोन नै नआएपछि त्यसका अन्य एसेसरिजहरु केही पनि बिक्दैन।,' ओलीले भने, 'चेन इफेक्टले गर्दा समग्र बिजनेस नै स्लो डाउन हुन्छ। व्यापार कम भएपछि सरकारलाई दिनुपर्ने भ्याटदेखि अन्य करहरु घट्दै गइरहेको छ। आयात बन्द हुँदा बजारभर अवैध फोन छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेर आयात प्रतिबन्ध लगाएको भए अवैध फोन भित्रिन रोकिन सक्थ्यो कि!' 

पुराना ग्राहकको छैन एसेसरिजमा मोह
आइफोनका पुराना मोडलहरु बोक्ने प्रयोगकर्ताहरुले त्यसको एसेसरिज किन्ने चलन हाम्रोमा ज्यादै न्यून रहेको ओली बताउँछन्। हामीले नयाँ फोन किन्यौं भने पनि पुरानै कभर प्रयोग गर्ने बानी छ। 

'जसले पुरानो फोन बेच्छ नि बरु नयाँ किन्ने मान्छेले त्यसका एसेसरिज किन्न सक्ने सम्भावना हुन्छ। नभए अरुले खासै रुचि राखेको देखिँदैन,' ओलीले भने। 

यो पनि पढ्नुहोस्

एप्पलको आइफोन १४ का मोडलहरु सार्वजनिक, मूल्य ७९९ डलरदेखि, एयरपड्सदेखि स्मार्टवाचसम्म