काठमाडौं। डेढ अर्ब रुपैयाँ लगानीमा विराटनगरमा शुभ इन्टरनेसनल हस्पिटालिटीले पाँचतारे होटल बनाउने भएको छ।
विराटनगरको भृकुटी चोकमा ८० कोठासहितको पाँचतारे होटल निर्माण हुनेछ। कारनेसन होटल्स प्रालिले होटल व्यवस्थापन गर्नेछ। यो होटल ‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा सञ्चालन हुने बताइएको छ। कारनेसन होटल्स प्रालि भारतको लेमन ट्री होटल्स लिमिटेडको सब्सिडायरी कम्पनी हो।
होटल निर्माणको वित्तीय प्रगति अप्रिलमध्ये २०२२ सम्म ३७ प्रतिशत पुगेको देखिन्छ।
होटल परिसरमा कम्पनीले क्यासिनोसमेत सञ्चालन गर्ने योजना बनाएको छ। जसले भारतीय पर्यटकलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ। पाँचतारे स्तरको होटल त्यस क्षेत्रमा नयाँ भएकाले भारतीय सीमा नजिक रहेकाले होटल भारतीयहरुको रोजाइमा पर्ने कम्पनीले जनाएको छ।
होटलमा कबिन श्रेष्ठको २५ प्रतिशत, विनयकुमार चौधरी अग्रवालको ३० प्रतिशत, सीतादेवी चौधरी अग्रवालको ४० प्रतिशत र गंगा खतिवडाको ५ प्रतिशत सेयर स्वामित्व छ। कबिन श्रेष्ठ कम्पनीको अध्यक्ष छन्।
कम्पनीले ८४ करोड ५० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालबाट रेटिङ गराएको छ। ४९ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका र ३५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि इक्रा नेपालले कम्पनीलाई एनपी एलबी प्लस रेटिङ दिएको छ।