BIZMANDU
www.bizmandu.com

६ वर्षपछि स्पाइस जेट नेपालमा रिब्याक, आधा दर्जन वायुसेवा कम्पनीले व्यवसायिक उडान गर्दै


काठमाडौं।कोभिड संक्रमण नियन्त्रणमा आएसँगै नेपाल उडानका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आवेदन दिन सुरु गरेका छन्।

Tata
Global Ime

भारतको स्पाइस जेट, कुवेतको कुवेत एयरवेज, थाइल्याण्ड बेस रहेको थाइ एयर एसिया, क्याथे प्यासिफिक, गो एयर, इण्डोनेशियाको गरुडा एयर लगायतले नियमित उडानका लागि अनुमति लिने प्रक्रिया थालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

६ वर्ष अघि नेपाल उडान बन्द गरेको स्पाइस जेटले दिल्ली-काठमाडौं साप्ताहिक सात उडान गर्नका लागि प्रक्रिया अगाडि बढाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए। नेपालका लागि आधिकारिक जीएसए जेनिथ ट्राभल रहेको कम्पनीले केही महिनाभित्रै उडान थाल्नेछ।

हाल यो गन्तव्यमा नेपाल वायुसेवा निगम, एयर इण्डिया, इन्डिगो, भिस्तारा लगायतले नियमित व्यवसायिक उडान गर्दै आएका छन्।

नेपाल उडानका लागि भारतकै अर्को वायुसेवा कम्पनी गो एयरले पनि चासो देखाएको छ। यसैगरी कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरवेजले नेपाल उडानका लागि कूटनैतिक तवरबाट प्रक्रिया सुरु गरेको प्रवक्ता भूलले जानकारी दिए। 'कुवेत एयरवेजले कूटनैतिक तहबाट नेपाल उडान थाल्न प्रक्रिया सुरु गरेको जानकारी आएको छ। हामीसम्म आधिकारिक पत्र भने आइपुगेको छैन,' उनले भने।

यो कम्पनीले साताको चारवटा उडान गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढाएको उनले बताए। हाल जजिरा एयरवेजको सीधा उडान रहेको यो गन्तव्य अर्को वायुसेवा कम्पनी थपिएसँगै भाडादर थप सस्तिने जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ करोड नतिरेर तीन वर्षअघि उडान नै बन्द भएको एयर एसिया अन्तर्गतको 'थाइ एयर एसिया' को उडान प्रक्रिया पनि अगाडि बढेको छ। प्राधिकरणले एयर एसियाको यो भगिनी कम्पनीलाई अक्टोबरबाट लागू हुने गरी राती १२:३० बजे अवतरण र १:३० बजे उडान गर्ने गरी बुधबार अनुमति दिइसकेको स्रोतले जानकारी दिएको छ।

तीन वर्षअघि एयरबसको वाइडबडी (ए-३००) सिरिजको जहाजमार्फत साताको सात उडान गर्दै आएको यो कम्पनीले  विमानस्थललाई ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्टअन्तर्गत सेवावापतको शुल्क नतिरेपछि उडान नै बन्द भएको थियो।

'थाइ एयर एसियाको जीएसए प्रक्रियामै छ। यो वायुसेवा कम्पनीको प्रतिनिधि नै जीएसए हुने भएका कारण यतिखेर प्राधिकरणमा दर्ताको प्रक्रियामा छ,' सूचना अधिकारी भूलले बिजमाण्डूसँग भने।

यसैगरी हङकङको ध्वजावाहक वायुसेवा कम्पनी क्याथेले अढाई वर्षपछि अक्टोबर १ बाट काठमाडौं जोड्न आफनो नियमित यात्रु उडान सुरु गर्ने भएको छ। यसअघि प्रयोग गर्दै आएको क्याथे ड्रागन ब्राण्ड बन्द भएसँगै कम्पनीले नेपालमै पहिलोपटक प्यासेफिक ब्राण्डमार्फत आफ्नो सेवा सुरु गर्न लागेको हो।

यो कम्पनीले साताको दुईवटा उडान गर्नेछ। यो कम्पनीको नेपालका लागि आधिकारिक जीएसए अमरावती ट्राभल रहेको छ।

हाल हङकङ-काठमाडौं उडानमा सिंगापुर, थाइ लायन, मलेसियालगायत वायुसेवाले नियमित उडान सेवा दिँदै आएका छन्। क्याथेको सेवा पुनः सुरु भएसँगै भाडादर सस्तिने जनाइएको छ।

यसैगरी आउँदो अक्टोबरदेखि हंगेरी बेस रहेको विज एयरले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान गर्ने योजना बनाएको छ। दक्षिण अफ्रिकाको अल्ट्रा लो कस्ट एयरलाइन्स विज एयरले सेप्टेम्बरबाट साताको सातवटा उडानन तालिका पाइसकेको उनले जानकारी दिए।

विजले एयरबसको ३२१ निओ सिरिजको जहाज संचालनमा ल्याउने योजना बनाएको छ। विजको १ सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यो जहाज हालै एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करण हो।

अक्टोबरबाट इण्डोनेशियाको गरुडा एयरले पनि नेपालमा उडान सेवा सुरु गर्ने योजना बनाएको छ। एक वर्षअघि नै अनुमति पाइसकेको गरुडाका लागि साताको चारवटा उडान तालिका प्राप्त भइसकेको छ। उनका अनुसार यो कम्पनीले बोइङ ७७७ सिरिजको जहाजमार्फत उडान गर्नेछ। यो जहाजको सिट क्षमता ३ सय २८ रहेको छ।

विज र गरुडाको नेपालका लागि आधिकारीक जीएसए सोसाइटी इन्टरनेशनल रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालनमा आएसँगै यतिखेर थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान इजाजत दिन कुनै अप्ठ्यारो नरहेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।