BIZMANDU
www.bizmandu.com

दरबारमार्गका ब्रान्डेड पसलहरुमा लाग्न थाल्यो सेल, चाडबाडलक्षित अफरले ग्राहक लोभ्याउँदै

२०७९ भदौ २४

दरबारमार्गका ब्रान्डेड पसलहरुमा लाग्न थाल्यो सेल, चाडबाडलक्षित अफरले ग्राहक लोभ्याउँदै
दरबारमार्गका ब्रान्डेड पसलहरुमा लाग्न थाल्यो सेल, चाडबाडलक्षित अफरले ग्राहक लोभ्याउँदै


काठमाडौं। दरबारमार्गका ब्राण्डेड पसलहरुमा क्लियरेन्सको सेल अफर लागेका छन्। दसैं नजिकिँदै गर्दा ब्राण्डेड  पसलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्ने गर्छन्। हरेक वर्ष जस्तै यस वर्ष पनि दरबारमार्गका पसलहरुमा सेल तथा फेस्टिभ अफरको स्टिकर टाँस्न सुरु भइसकेको छ।  

Tata
Global Ime

केहीमा क्लियरेन्स सेल्स लागेका छन् भने केहीमा दसैंको लागि फेस्टिभ सेल्स पनि सुरु भएको छ। धेरै ब्राण्डेड पसलहरु यतिखेर चाडबाड लक्षित सेलको तयारीमा छन्। यी हाइ-एन्ड शपहरू आकर्षक छुटसहित ग्राहकहरूको पर्खाइमा रहेको व्यवसायी बताउँछन्।

लिभाइज, स्केचर्स, एडिडास, पुमा लगायतका  ब्राण्डको आधिकारिक बिक्रेता लेबल्समा अहिले 'न्यु अराइभल' अर्थात नयाँ संस्करणका जुत्ता, पाइन्ट, टिसर्ट तथा स्पोर्ट वेयर आदि आइसकेको छ।

भारतीय एथ्निक वेयर ब्राण्ड बिबा, सिटी वाक, युनाइटेड कलर्स अफ बेनिटोन लगायतका ब्राण्डका आउटलेटहरू सिजनल समर स्टक क्लियरेन्स सेल्स चलिरहेको छ।  जसमा ग्राहकहरूले विभिन्न कपडा, जुत्ता, एक्सेसरिजहरूमा १० प्रतिशत देखि ५० प्रतिशतको छुट पाउन सक्नेछन्। 

लिभाइजमा दसैंको लागि नयाँ सामानहरू आइसकेको लिभाइज नेपालका स्टोर म्यानेजर निकेश महर्जन बताउँछन्। नयाँ स्टकमा सेल नलाग्ने तर आउँदो दसैं तथा फेस्टिभ सिजनलाई लक्षित गर्दै १० प्रतिशत छुट हुन सक्ने उनले जानकारी दिए। लिभाइजमा ६,१९९ देखि १२,७९० रुपैयाँसम्मका पाइन्ट पाइन्छन्। यसैगरी ३,१९० रुपैयाँमाथिका टिसर्ट तथा सर्टहरू बिक्रीमा छन्। 

त्यस्तै अर्को अन्तर्राष्ट्रिय जुत्ता ब्राण्ड सिटीवाकमा पनि जुत्ता, स्याण्डलहरू, ब्याग, पर्स लगायतका समानहरूमा ५० प्रतिशतसम्मको छुट चलिरहेको छ। सिटीवाकमा  २३ सयदेखि  १२ हजार  र त्यो भन्दा माथि सम्म मूल्य पर्ने लेडिज ब्याग, लेडिज तथा जेन्स शुज, पर्सहरू पाइन्छ। तीन हप्तादेखि चलिरहेको सेल्स दसैंसम्म नै चल्ने स्टोर म्यानेजर अनोजजंग थापा बताउँछन्। अनोजले हाल व्यापार केही सुस्त भए पनि दसैंमा राम्रै व्यापार हुने अपेक्षा गरे। 

अर्को ब्राण्ड विबामा अहिले समर एन्ड सेल्स चलिरहेको छ जस अन्तर्गत ग्राहकहरूले लेडिज टप्स, कुर्ताहरू जस्ता परम्परागत  पहिरनमा २० प्रतिशतदेखि ५० छुट पाउने व्यवस्था छ। दसैंका लागि छुट्टै सेल्स नलागे पनि थप साथ प्रतिशत छुटको व्यवस्था हुन सक्नेछ। सेलले दैनिक एक सयभन्दा बढी ग्राहकहरूको फुटफल भइरहेको व्यवसायी बताउँछन्। 

अर्को चर्चित ब्राण्ड एरोमा हाल सेल नलागे पनि दसैंको लागि भने १० प्रतिशतको छुटको व्यवस्था हुने स्टोर म्यानेजर बताउँछन्। तीन हजार पाँच सयमाथिका टिसर्ट, सर्ट,  तथा १२ हजार रुपैयाँमाथिका ब्लेजर र पाइन्ट  बिक्री गर्दै आएको आउटलेटमा प्राय: दसैंभन्दा पनि कुशे औंसी लगायतका बेला मात्र धेरै ग्राहक आउने गरेको उनले बताए। 

दुई हजार एक सयदेखि आठ हजार ३९९ सम्मका पुरुष, महिला तथा बालबालिका लागि पाइन्ट, टिसर्ट जस्ता कपडा पाइने युनाइटेड कलर्स अफ बेनिटोनमा पनि ४० प्रतिशतको छुटको सिजनल सेल चलिरहेको छ। त्यस्तै  ५० हजार रुपैयाँबराबरको खरिद गर्दा ५० प्रतिशत छुट हुने अफर पनि चलिरहेको छ। 

जुत्ता र ब्याग ब्राण्ड दा मिलानोमा पनि २० देखि ५० प्रतिशत छुट चलिरहेको छ। लेडिज ब्याग, पुरुषहरूको जुत्ता, लेडिज जुत्ताहरूमा, अफिस ब्यागहरू सबै जसो सामानहरूमा नै सेल लागिरहेको छ। दसैँलाई लक्षित गर्दै सेप्टेम्बर २ देखि एक महिनासम्मका लागि यो अफर कायम हुने स्टोर असिस्टेन्ट म्यानेजर ग्रेसा खड्का बताउँछिन्। 

उनी भन्छिन् 'फुटफल राम्रै छ। हामीले मध्यमदेखि हाइ-एन्ड ग्राहकहरू दुवैलाई हुने गरी सेल लगाएका हौं।’ 

दा मिलानोमा लेडिज ब्याग २० हजार रुपैयाँदेखि ४२ हजार रुपैयाँसम्म पर्छ। यस्तै अफिस ब्याग ३० हजार देखि ६४ हजारसम्म पर्छ। पुरुषका लागि जुत्तामा २० देखि ३० हजार र महिलाका जुत्ता १० हजार देखि २८ हजार रुपैयाँसम्म पर्छ। 

एम्परस्याण्डमा पनि सिजनल सेल लागेको छ।  दसैँको लागि अझै यो भन्दा राम्रो अफर लिएर आउने स्टोरले तयारी गरिरहेको देखिन्छ। हाल एम्परस्याण्डका स्याण्डल तथा  बुटमा  ४० प्रतिशत छुट पाइन्छ। यस्तै पुराना स्टकमा ५० प्रतिशत, टि-सर्टमा ३० देखि ६० प्रतिशत  छुटको व्यवस्था छ। 

न्युनतम २० देखि अधिकतम ६० प्रतिशतसम्म छुटको अफर सार्वजनिक गरेको आउटलेटमा महिलाको दुई हजार तीन सय रुपैयाँदेखि २३ हजार रुपैयाँसम्मका पहिरन राखिएका छन्।

जुत्ता पसल बेन्ट्लेमा भने अबको एक हप्तामा फेस्टिभ अफर सुरु हुनेछ । तर दरबारमार्गमै रहेका चल्तीका ब्राण्ड नाइकी, पुमा जस्ता स्पोर्ट्स वेयर आउटलेटहरुमा भने कुनै अफरको व्यवस्था गरिएको छैन।