काठमाडौं। दसैंका लागि उपत्यका बाहिरका होटल तथा रिसोर्टमा धमाधम अग्रिम बुकिङ आउने थालेको छ। उपत्यका बाहिर रहेका कसारा, बाराही जंगल लज, द्वारिकाज रिसोर्ट धुलिखेल, जगतपुर लज, फिस्टेल लज, काब्या रिसोर्ट, हेलि रिसोर्ट लगायतमा अग्रिम बुकिङ आएको हो।
विदेशी पर्यटकको सिजन मानिने ती महिनामा अधिकांश हाइ इण्ड रिसोर्टमा विदेशीको तुलनामा आन्तरिक पर्यटकबाट अग्रिम बुकिङ आइरहेको व्यवसायीले बताएका छन्। ४० वटा कोठा भएको द्वारिकाज रिसोर्ट धुलिखेलले यतिखेर अक्टोबर र नोभेम्बरका लागि करिब शतप्रतिशत कोठा बुकिङ भइसकेको जनाएको छ।
'अक्टोबर र नोभेम्बरका लागि बुकिङ राम्रै आइरहेको छ। यस अन्तर्गत सामुहिक र एकल यात्राका लागि नेपाल आउने पर्यटक पनि हुनुहुन्छ।' रिसोर्टका एक कर्मचारीले भने,'यस अन्तर्गत अधिकतम दुई साताका लागि बुकिङ गर्ने पाहुना पनि हुनुहुन्छ।' न्यूनतम तीन रात चार दिनको सुरुवाती प्याकेजका लागि रिसोर्टले एक हजार सात सय अमेरिकी डलर लिने गर्छ।
यसैगरी चितवनको बाराही जंगल रिसोर्टले आउँदो अक्टोबरदेखि नोभेम्बरका लागि आन्तरिक र वाह्य पर्यटकबाट अग्रिम बुकिङ आउन थालेको जनाएको छ। रिसोर्टका अनुसार अक्टोबर देखिका लागि ४० प्रतिशत भन्दा बढी नेपाली पर्यटकबाटै अग्रिम बुकिङ आइरहेको छ।
नेपालीको उल्लेख्य बुकिङ आइरहेको रिसोर्टका संचालक वैभव पौडेलले बताए।
'व्यवसाय प्रि-कोभिड लेवलमा अझै आएको छैन। अक्टोबरबाट नयाँ सिजन लागेसँगै हामी आशावादी छौं। कोभिड भन्दा पहिला विदेशी पर्यटकबाट तीन महीना अगाडिदेखि नै अग्रिम बुकिङ आइरहेको हुन्थ्यो। तर यो शैलीमा परिवर्तन आइसकेको छ,' संचालक पौडेलले भने,'नेपाली पर्यटकको हकमा अन्तिम समयमा आएर बुकिङ हुँदै आएको छ। ९० प्रतिशत नेपालीले अन्तिम समयमा आएर बुकिङ गर्नुहुन्छ।'
रिसोर्टमा एक रात दुई दिनका लागि प्रति व्यक्ति १० हजार देखि २५ हजार रुपैयाँको प्याकेज रहेको उनले जानकारी दिए।
यसैगरी चिवनमा रहेको कसारा रिसोर्टमा आन्तरिक र वाह्य पर्यटकबाट धमाधम बुकिङ आइरहेको शेर्पा ग्रुप एण्ड हस्पिटालिटीका विक्री तथा बजार निर्दशक रिना शेरचनले बताइन्। दसैंका लागि ५० प्रतिशत अग्रिम बुकिङ भइसकेको उनले जानकारी दिइन्।
'नेपाली र विदेशी पर्यटकको माग उत्तिकै रहेको छ। दसैंको समयमा नेपालीको संख्या धेरै हुने देखिन्छ,' उनले भनिन्।
यो रिसोर्टमा कुल ३७ वटा कोठा छ। रिसोर्टमा वाइल्ड लाइफ सफारी, ब्रिडिङ सेन्टर अवलोकन, थारु नृत्य, जंगल वक सागै खानपिन र बसाईको दुई रात तीनको प्याकेज रहेको उनले जानकारी दिइन्। उनका अनुसार यो प्याकेजका लागि प्रति जोडी ४० हजार रुपैयाँ निर्धारण गरिएको छ।
सिन्धुपाल्चोक स्थित हालै चालनमा आएको हेलि रिसोर्टमा पनि दसैंका लागि अग्रिम बुकिङ सुरु भइसकेको विक्री तथा बजार प्रवन्धक शिलु जोशीले बताइन्।
यो समयका लागि अधिकांश पाहुना नेपाली नै रहेको उनले जानकारी दिइन्। वाह्यको तुलनामा आन्तरिक पर्यटकको सहभागिता उल्लेख्य रहेको बताउँदै उनले भनिन्,' कुल ८४ वटा कोठा मध्ये २४ वटा कोठा रहेको रिसोर्टले एक रात दुई दिनका लागि प्रति जोडी १२ हजार रुपैयाँको प्याकेज उपलब्ध छ। उनका अनुसार यो प्याकेजमा यातायातको व्यवस्था आफैँ गर्नुपर्छ। जोशीले ग्राहकले ब्रेकफास्ट, डिनर र अकोमोडेसन प्याकेजभित्रै रहेको जानकारी दिईन्।
हेलिकोप्टरमार्फत सेवा लिनका लागि प्रति व्यक्ति एकतर्फी उडान सहितको सेवाका लागि ३० हजार रुपैयाँ लागु गरिएको उनले जानकारी दिइन्। दुई तर्फी हेलिकोप्टर सेवा सहितको प्याकेजका लागि भने प्रति व्यक्ति ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ