BIZMANDU
www.bizmandu.com

पनौतीका ७३ घरलाई पुरानै शैलीमा बनाइँदै, नगरपालिकाले प्रतिघर पौने चार लाखसम्म सहयोग गर्ने

२०७९ भदौ २६

पनौतीका ७३ घरलाई  पुरानै शैलीमा बनाइँदै, नगरपालिकाले प्रतिघर पौने चार लाखसम्म सहयोग गर्ने
पनौतीका ७३ घरलाई पुरानै शैलीमा बनाइँदै, नगरपालिकाले प्रतिघर पौने चार लाखसम्म सहयोग गर्ने


काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती शहरमा पुरानो शैलीका घर बनाइँदैछन्।

Tata
Global Ime

नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो। यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरिरहेको छ।

नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो।

नगरको सहयोगमा स्थानीयले पूरातत्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास निर्माण गर्नुपर्ने हुन्छ। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगान, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्तिम स्वीकृत गराउने काम गर्दै आएको छ।

सम्पदामैत्री घर निर्माण गर्न परम्परागत इँटा, सुर्की, चुना, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पूरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्ड तोकिएको छ।

सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतका अनुसार मापदण्डबमोजिम आवास निर्माण गर्नेलाई प्रोत्साहनवापत एक वर्षमा चरणवद्धरुपमा २९ स्थानीयलाई ८४ लाख ६३ हजार तीन सय ३० रुपैयाँ प्रदान गरिएको छ। नगरपालिकाले घरको बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्गफिट पाँच सय रुपैयाँका दरले प्रोत्साहनवापत सहयोग उपलब्ध गराउँदै आएको हो।

‘विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेकाले संरक्षित क्षेत्र ऐतिहासिक शहर पनौतीमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्सहानस्वरुप गत आर्थिक वर्षदेखि नै आर्थिक सहयोग दिन थालेका हौं,’ अधिकारीले भने।

उनका अनुसार विभागले तोकेको पुरानो शैलीका घर बनाउँदा हाल महङ्गो पर्ने भएकाले पुरानो शहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो। नगरपालिकाले प्रतिघर ९९ हजारदेखि तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गर्दै आएको छ।

प्रोत्सहान रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पूरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको अधिकारीले बताए। उनका अनुसार ७३ परिवारले नै पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेश गरेका छन्।