.jpg)
काठमाडौं। बुद्ध एयरले कोरोना अघिको व्यापारलाई पनि उछिनेको छ। कम्पनीले सन् २०२१/२२ को नौ महिनामा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१ मा कम्पनीको व्यापार ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ थियो।
कम्पनीले २०२१/२२ को नौ महिनामा महिनाको औसत ८५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। कोरोनाअघि कम्पनीको मासिक औसत ५६ करोड ७० लाख रुपैयाँ थियो।
कम्पनीले २०२० मा ४ अर्ब ९४ करोड २० लाख, २०१९ मा ६ अर्ब ८० करोड ८० लाख र २०१८ मा ६ अर्ब आठ करोड रुपैयाँको कारोबार गरेको थियो। २०२१ मा ५८ प्रतिशत रहेको बुद्धको बजार हिस्सा २०२१/२२ को नौ महिनामा घटेर ५६ प्रतिशतमा ओर्लिएको छ।
कम्पनीको अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत छन् भने उनका छोरा बिरेन्द्रबहादुर बस्नेत प्रबन्ध निर्देशक छन्। २०२२ जुलाईमध्यसम्म बुद्धको शिखर इन्योरेन्समा ६ प्रतिशत सेयर स्वामित्व छ।
बुद्धले १ अर्ब ७५ करोड ४१ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालले पुन:पुष्टि गरिदिएको छ। यसअघि व्यापारमा कोरोनाका कारण धक्का लागेपछि कर्जाको रेटिङलाई रेटिङ एजेन्सीले ‘नेगेटिभ इम्प्लिकेसन’ मा राखेको थियो। अहिले त्यसलाई इक्रा नेपालले हटाएको छ।
८७ करोड ४१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी एल ए माइनस र ८८ करोड रुपैयाको अल्पकालीन कर्जाका लागि कम्पनीले एनपी ए टु प्लस रेटिङ पुन:पुष्टि भएको छ।
हाल बुद्ध एयरले बिचक्राफ्ट, एटीआर ४२, एटीआर ७२ लगायतका विभिन्न सिरिजका १६ वटा जहाज मार्फत् सेवा दिइरहेको छ।