काठमाडौं। टाटा मोटर्स इन्डियाले आफ्नो विद्युतीय गाडीको लाइन-अपमा ह्याचब्याक कार टियागो मोडललाई पनि इलेक्ट्रिकमा ल्याउने भएको छ। कम्पनीले २०२२ को विश्व इभी दिवसको अवसर पारेर एक महिनाभित्र यस ह्याचब्याक कार इभीमा ल्याउने तयारी गरेको जनाएको छ।
टियागो गाडीलाई इभी मोडलमा ल्याउने अवधारणा २०१८ को अटो एक्सपोमा नै सार्वजनिक गरिएको थियो। सोही बमोजिम कम्पनीले यसको उत्पादन थालेको हो। कम्पनीका अनुसार अब यो नयाँ टियागो इभी आगामी महिनाहरूमा बिक्रीमा जानेछ।
टाटाको विद्युतीय गाडीको लाइन-अपमा १० वटा मोडल छन्। यसमा टियागो टाटाको तेस्रो विद्युतीय गाडी हो। यी सबै लाइन-अपहरु २०२६ सम्ममा लञ्च गर्ने टाटाको तयारी छ।
कम्पनीका अनुसार यो गाडीमा दुईवटा ब्याट्री प्याकको विकल्प दिइने छ। जसमा एउटा १६.५ किलोवाट क्षमताको हुने र यसले एक पटकको फुल चार्जमा १६५ किलोमिटर दुरी पार गर्न सकिन्छ। यस्तै अर्को २१.५ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा २१३ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ।
यसको मूल्य १० लाख भारु हुने अनुमान गरिएको छ। हाल नेपालमा उपलब्ध इन्धन भर्सन टियागोको मूल्य भेरियन्ट अनुसार २४ लाखदेखि ३२ लाख रुपैयाँसम्म मात्र छ। यसको पनि यसै हाराहारीमा रहेर बिक्री हुने अनुमान गरिएको छ।
कम्पनीले यसलाई सबैभन्दा सस्तो इभी हुने बताएको छ।