BIZMANDU
www.bizmandu.com

डेंगीले बढायो काँचो नरिवल, मेवा र किवीको खपत, मागसँगै मूल्य लाग्यो उकालो

२०७९ भदौ २७

डेंगीले बढायो काँचो नरिवल, मेवा र किवीको खपत, मागसँगै मूल्य लाग्यो उकालो
डेंगीले बढायो काँचो नरिवल, मेवा र किवीको खपत, मागसँगै मूल्य लाग्यो उकालो


काठमाडौं। फलफूल खरिदका लागि निस्कनेले पहिले के किन्छन् ? स्याउ, केरा भन्ने उत्तर आउन सक्छ। हतारिनु भए त्यो उत्तर गल्ती हुनसक्छ। किनभने उपत्यकाका उपभोक्ता यतिबेला काँचो नरिवल, मेवा र किवी खरिद गरिरहेका छन्। 

Tata
Global Ime

यी तीन फलको मागले बजारको सदाबहार स्याउ र केराको कारोबारलाई उछिनेको छ। उपत्यकामा बढेको डेंगी रोगको संक्रमणसँगै नरिवल, मेवा र किवीको खपत बढेको हो। 

डेंगी संक्रमितलाई तागतिला खाद्य पदार्थ खुवाउन र प्रतिरोध क्षमता बढाउन उपभोक्ताहरु स्याउ र केरा छाडेर काँचो नरिवल, मेवा र किवी खाइरहेका छन्।

पछिल्लो समय देशभर गरेर दैनिक ८ हजारभन्दा बढी डेंगीको बिरामी हुन थालेका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले कडा ज्वरो आउने, पखाला लाग्ने, टाउको-जीउ दुख्ने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने आदि लक्षण देखिन्छ। बिरामीलाई खाना रुच्दैन। छिटै कमजोर देखिन्छन्। बिरामीलाई खुवाउन नरिवलको पानी, मेवा र किबी फलदायी हुने भएकाले माग बढेको व्यवसायीले बताएका छन्।

उनीहरुका अनुसार किन्न आउनेले खाने सल्लाह चिकित्सकले दिएको बताउने गरेका छन्। अरुभन्दा महँगो भएकाले सीमित उपभोक्ताले खरिद गर्ने उक्त फलफूलको माग अहिले उच्च भएको कुलेश्वर फलफूल बजार विकास समितिले जनाएको छ। 'डेंगीका बिरामी बढ्न थालेपछि कच्चा नरिवल, मेवा र किवीको माग ह्वानत्तै बढेको छ,' समिति अध्यक्ष अम्बर बानियाँले भने, 'नरिवलको माग झन्डै चार गुणाले बढेको छ।'  

उनका अनुसार उपत्यकाको बजारमा अहिले दैनिक २० हजारवटा नरिवल बिक्री हुन्छ। यसअघि दैनिक ५ हजारवटा हाराहारीमा बिक्री हुने गरेको थियो। 'नरिवलको खपत गर्मी महिनामा धेरै हुन्थ्यो। डेंगी भएकाले नरिवलको पानी खान्छन्, खपत एकाएक उच्च भएर आयो,' उनले भने, 'महँगो भए पनि बिक्री बढ्यो।' 

हाल बजारको मागका अनुपातमा फलफूलको आपूर्ति पर्याप्त छैन। आयात परिमाण घट्दा मूल्य उच्च भएको छ। पछिल्लोपटक गत आइतबार ठूलो परिमाणमा नरिवल भित्रिएको थियो, त्यसयता मूल्य सामान्य घटेको छ। शनिवारसम्म प्रतिगोटा १७० रुपैयाँ रहेको नरिवल घटेर थोकमा एक सय २५ रुपैयाँ आइपुगेको अध्यक्ष बानियाँले बताए।

अन्य समयमा काँचो नरिवल प्रतिगोटा ८० देखि एक सय रुपैयाँसम्म पर्ने गरेको थियो। अहिले स्वदेशी नरिवलको अफसिजन हो। जसले गर्दा दैनिक २५ देखि ३० हजारवटा नरिवल आयात हुने गरेको छ।

त्यस्तै,  डेंगीले मेवाको खपत पनि बढाएको छ। हाल दैनिक एक सय टनभन्दा बढी आयात भइरहेको कुलेश्वर बजारले जनाएको छ। यस अघि व्यवसायीले ठूलो परिमाणमा आयात गर्दैनथे। अहिले बजारमा माग बढेर राम्रो भाउ पाउन थालेको अध्यक्ष बाँनियाले बताए। 

मेवा थोकमा प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी छ। पहिले मेवा प्रतिकेजी ८० रुपैयाँभन्दा कम मूल्यमा उपभोक्ताले खरिद गर्दै आएका थिए।
यस्तै अरुबेला बेच्नै गाह्रो हुने किवीको खपत अहिले बढेको छ। बजारमा यतिबेला बिक्री भइरहेको किवी स्वदेशी भने होइन। किवी हाल थोकमै प्रतिकेजी ६ सय रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीले बताएका छन्। 

भारतबाट मूल्य बढेर आएको हुनाले महँगो भएको हो। यस अघि किवी प्रतिकेजी ४ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो। स्वदेशी उत्पादन नभएकाले यति बेला भारतीय किवीले बजारको माग धानिरहेको कुलेश्वर फलफूल बजार विकास समितिले जनाएको छ।

किवी आयात दैनिक हुने होइन। एकपटकमा भित्रिएको करिब १० टनसम्मलाई पालो मिलाएर बिक्री गर्ने गरिएको व्यवसायीले बताएका छन्। माग उच्च भएयता आपूर्ति परिमाण पनि बढाउनुपर्ने भएको छ।

गत वर्ष स्वदेशी उत्पादित किवीले आयातित भन्दा राम्रो मूल्य पाएको थियो। व्यवसायीहरुका अनुसार स्वदेशी किवी प्रतिकेजी ५ सय रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको थियो। उक्त फलसँगै बजारमा अनारको पनि मूल्य बढेर प्रतिकेजी ३ सय ५० रुपैयाँ पुगेको छ।