काठमाडौं। असोज ६ देखि ९ गतेसम्म हुने विद्युतीय सवारीको प्रदर्शनी 'नाडा इभी एक्स्पो-२०२२' को तयारी पुरा भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले एक्स्पो बारे सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
मेलामा ७ वटा चारपांग्रे, एउटा तीनपांग्रे र १६ वटा दुईपांग्रे विद्युतीय सवारी ब्रान्डको सहभागिता रहनेछ। यस्तै चार्जिङ स्टेसनका बिक्री गर्ने कम्पनी, बैंकिङ तथा फाइनान्स, स्पेयर पार्टस्, टायर, लुब्रिकेन्ट्स लगायतका गरी ५१ वटा स्टलहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
नाडाका अनुसार मेला ४ दिनसम्म चल्ने ४० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। यस्तै नाडाले मेलाको अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था गरेको छ। सोमबारदेखि नै टिकटको प्रि-बुकिङ गर्न सकिने नाडाले जनाएको छ।
नाडा अध्यक्ष ध्रुवबहादुर थापाले इन्धन गाडीको आयात प्रतिबन्धका कारण अटो बजारमा परेको प्रभावलाई इभी मेलाले केही राहत दिने बताए।