BIZMANDU
www.bizmandu.com

सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा थपियो तेल उद्योग, पूर्ण स्वचालित उद्योगमा तेल ७ चरणको फिल्टर


सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा थपियो तेल उद्योग, पूर्ण स्वचालित उद्योगमा तेल ७ चरणको फिल्टर
सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा थपियो तेल उद्योग, पूर्ण स्वचालित उद्योगमा तेल ७ चरणको फिल्टर


विराटनगर। सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा प्रशोधित खाने तेलको अर्को उद्योग थपिएको छ। प्रशोधित तेलको एक मुख्य हबका रूपमा स्थापित भइसकेको यस क्षेत्रमा युवा उद्योगी सञ्जय कोइरालाले एबीसी आयल इन्डस्ट्रीको स्थापना गरेका हुन्। 

Tata
Global Ime

उद्योगमा चुक्ता पुँजी ४५ करोड र जारी पुँजी ५५ करोड गरी १ अर्बको लगानी छ। उद्योगमा बैंक अफ काठमाडौं र माछापुच्छ्रे बैंकको लगानी छ। दसैंपछि उद्योगले थप ५० करोडका लागि माछापुच्छ्रेको नेतृत्वमा कर्जाको प्रक्रिया अघि बढाएको छ।

कोइरालाले एबीसी ब्रान्डमा सूर्यमुखी, भटमास र पामोलिन तेलको उत्पादन र कारोबार सुरु गरेका छन्। उद्योगको प्रतिदिन २ सय टन तेल उत्पादन गर्ने क्षमता छ। कोइराला विगत तीन दशकदेखि कार्टुनको उत्पादन र कारोबारमा सक्रिय छन्। देशमै सर्वप्रथम बोसोरहित साबुनको उत्पादन गर्ने उनी नै हुन्।

उनका डन, धोबी, डन एक्सपोर्ट, डन हर्बल, डन नम्बर वान लगायतका ब्रान्डमा बोसोरहित साबुन बजारमा उपलब्ध छन्। उनी कार्टुन टेप र गम लगायतका केमिकलको उत्पादनमा पनि संलग्न छन्। एबीसी आयलको उद्योग सुनसरीको दुहबी-१ प्रस्टोकी टोलमा छ। कोइरालाका अनुसार एबीसी आयलमा जर्मन प्रविधिको मेसिन जडान गरिएको छ।

उद्योगमा कच्चा तेललाई सात चरणमा फिल्टर गरिन्छ। उद्योगका सबै मेसिन पूर्ण स्वचालित प्रविधिमा आधारित भएकाले प्रशोधनमा रहेको र प्रशोधित खाने तेलमा कुनै पनि कामदारको हात पर्दैन। सबै काम प्यानल बोर्डमार्फत् गरिन्छ। प्यानल बोर्डमा खटिएका कन्ट्रोलरले नै उद्योगको सम्पूर्ण उत्पादन–प्रक्रियाको कन्ट्रोल गर्छन्।

उनको दाबी छ, ‘यस्तो प्रविधि र गुणस्तरीय मेसिन नेपालमा हालसम्म कुनै पनि उद्योगले लगाएका छैनन्। कुनै उद्योगले पनि कच्चा तेललाई पूर्ण स्वचालित मेसिनमा ७ चरणमा फिल्टर गर्दैनन्। त्यसैले यत्तिको गुणस्तरीय तेल नेपालमा कतै उत्पादन गरिँदैन। हामी प्रशोधित खाने तेलका अन्तर्राष्ट्रिय ब्रान्डसँग गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएका छौं।’

उनले क्वालिटी कन्ट्रोलका लागि उद्योगको आफ्नै अत्याधुनिक प्रयोगशाला भएको बताए। प्रयोशालामा हरेक ६ घण्टामा उत्पादित तेलको गुणस्तर परीक्षण गरेर मात्र तेल बजारमा पठाइन्छ। तेल गुणस्तरीय ननिस्किए त्यसलाई पुनः प्रशोधन र फिल्टरमा पठाइन्छ। उद्योगको मेसिन आपूर्ति गर्ने र लगाउने काम मुम्बईको पी म्याक प्रोजेक्टले गरेको उनले उल्लेख गरे।

यो प्रोजेक्ट युरोपियन कोलाब्रेसनमा सञ्चालित छ। पी म्याक प्रोजेक्टले लामो समयदेखि संसारभरिका ब्रान्डेड र ठूला तेल उद्योगमा काम गरिरहेको छ। एबीसी आयलमा मुख्य मेसिनहरू अस्ट्रेलिया र जर्मनीबाट आयात गरिएका छन्।

उनले नेपालमा उत्पादित प्रशोधित खाने तेलमा एबीसी ब्रान्डका तेल सबैभन्दा बढी गुणस्तरीय भएको जिकिर गरे। उनले उद्योगले हाल परीक्षण उत्पादन मात्र सकेको र बजारमा तेल पठाउन भर्खर सुरु गरेको जानकारी दिए। उनले दसैंअगाडि नेपालका मुख्य बजारमा एबीसी ब्रान्डका सूर्यमुखी र भटमासको तेल पठाइसक्ने लक्ष्यका साथ उत्पादन सुरु गरिएको बताए।

कोइरालाले उद्योगको हालको क्षमता २ सय टन भए पनि ४ सय टनको क्षमताका लागि सम्पूर्ण पूर्वाधार तयार रहेको स्पष्ट पारे। उनले भने, ‘तेलको कारोबार र निर्यात अझ वृद्धि भयो भने हामी एक महिनाभित्रै उद्योगलाई ४ सय टनमा अपग्रेड गर्न सक्छौं। त्यही हिसाबले आवश्यक संरचनाहरू तयार गरिसकेका छौं।’

उद्योगमा ७ विदेशी कामदारसहित ६० कामदार छन्।