काठमाडौं। कोभिड अगाडि दसै विदामा विदेश भ्रमण जाने लर्को हुन्थ्यो। विभिन्न ट्राभल एजेन्सीले सस्तो आकर्षक प्याकेज समेत ल्याउँथे। त्यही प्याकेज समेत हेरेर घुम्न जानेको संख्या उल्लेख्य हुन्थ्यो।
तर यो वर्ष दसैंका लागि विदेश जानेको संख्या न्यून छ। ट्राभल एजेन्सीले समेत आकर्षक अफर पनि सार्वजनिक गरेका छैनन्। कोशी टुर एण्ड ट्राभलका संचालक विनय बस्नेतका अनुसार कोभिडपछि धेरै व्यवसाय संकटमा परेका छन्। त्यही भएर महँगो खर्च गरेर विदेश घुम्न जानेको संख्या कम भएको हो। '
कोभिडको दुई वर्ष धेरै व्यवसाय संकटमा परे। त्यसपछि गत वर्ष केही राम्रै भएको थियो। तर तरलता अभााव र विदेशी मुद्रा संचिति घटेपछि अर्थतन्त्रनै समस्यामा परेको छ,' उनले बिजमाण्डूसँग भने, 'अहिले भएकै व्यवसाय कसरी बचाउने भन्ने छ। यस्तो कठिन बेलामा घुम्ने कुरा प्राथमिकतामा रहने कुरै भएन।'
बस्नेतका अनुसार कोभिडपछि नेपाली घुम्ने सबै डेस्टिनेशसनका हवाई भाडा दोब्बरजस्तै भएको छ। 'पहिला थाइल्याण्डको प्याकेज ४५ हजारसम्म आउँथ्यो। अहिले हवाई भाडानै ४५ हजार छ,' उनले भने, 'हवाई भाडाका कारण पनि विदेश घुम्न जाने कम छन्।' उनका अनुसार अहिले समूह बनाएर भन्दा पनि पारिवारिक भ्रमण गर्न जानेको माग मात्रै आइरहेको छ।
कोशीमार्फत भियतनाम, कम्बोडिया, दुवई, माल्दिभ्स, इजिप्ट, बाकु लगायत विभिन्न गन्तब्य भ्रमणका लागि माग आएको बस्नेतले बताए।अधिकांश गन्तब्यमा चार रात पाँच दिनको प्याकेज छ।
लक्की होलिडेजका संचालक सनम शाक्यले दसैंका लागि विदेश भ्रमण गर्न जानेको संख्या एकदमै कम रहेको बताए। 'कोभिड अगाडिको दसैंमा हामीलाई प्याकेजमा जानेहरुको बुकिङ र भ्रमण सेड्युल बनाउन भ्याईनभ्याई हुन्थ्यो। अहिले त फाट्टफूट्ट मात्रै बुकिङ आइरहेको छ,' उनले भने।
उनका अनुसार हवाई भाडा महँगो भएकोले सबैभन्दा सस्तो डेष्टिनेशन थाइल्याण्ड पनि ८५ हजार रुपैयाँ पुगेको छ। कोभिड अगाडि यही प्याकेज ४० हजारमा बिक्री हुने गरेको उनले बताए। शाक्यका अनुसार कोभिड अघि मध्यम वर्गीय समेत विदेश भ्रमणका लागस जान्थे। तर अहिले उच्च मध्यम वर्ग र उच्च बर्ग मात्रै विदेश भ्रमणमा जाने गरेको उनले बताए।
शाक्यका अनुसार अहिले सबैभन्दा सस्तो गन्तब्य थाइल्याण्ड, दुबई र बाकु हो। दुबई र बाकु ९० हजारको प्याकेज रहेको उनले बताए। यो गन्तब्यमा चार रात पाँच दिने भ्रमणका लागि हवाई टिकट सहित करिब ९० हजार रुपैयाँ पर्न आउने शाक्यले बताए।
यसैगरी माल्दिभ्स भ्रमणका लागि एक लाख ६० हजार रुपैयाँ रहेको उनले जानकारी दिए। पहिला माल्दिभ्सको प्याकेज मूल्य ९० हजार रुपैयाँ थियो। प्रेसिडेन्ट ट्राभलका टुर कन्सल्टेन्ट सञ्जीब श्रेष्ठले सरकारी नीतिका कारण पनि विदेश भ्रमण गर्न जान नेपाली निरुत्साहित भएको बताए। उनका अनुसार भिजिट भिसामा न्यूनतम वार्षिक १० लाख आम्दानी र पाँच लाख बैंक ब्यालेन्स हुनुपर्ने नियम लगाउन खोजिएकोले पनि समस्या भएको छ। श्रेष्ठका अनुसार भिसा प्रक्रिया लामो हुँदा पनि विदेश घुम्न जाने घटेका हुन्।
'भिसा प्रक्रिया नै लामो हुँदै आएको छ। अहिले इन्डोनेसियाको भिसा प्रक्रिया ३५ दिन समय लाग्दै आएको छ। थाइल्याण्ड, मलेसिया पनि धेरै समय लाग्छ,' उनले भने।अहिले कस्टुमाइज प्याकेजको माग बढी रहेको उनले जानकारी दिए।
विदेश भ्रमणका लागि इन्क्वाइरी धेरै भएपनि बुकिङ भने कम आइरहेको हाम्रो होलिडेजका संचालक सुमन श्रेष्ठले बताए। कोभिड अगाडिको तुलनामा होटल र हवाई भाडादर महँगिएपछि समस्या भएको उनले बताए।