BIZMANDU
www.bizmandu.com

एक अर्बको लागतमा वीरगंजमा चिडियाखाना बन्दै, प्राकृतिक चिडियाखाना बनाउन पायो सरकारको अनुमति

२०७९ भदौ ३०

वीरगंज। सरकारले वीरगंजको वडा नं ३१ चोर्नीको रामवनमा प्राकृतिक चिडियाखाना बनाउने अनुमति दिएको छ।

Tata
Global Ime

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेस प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने बाटो खुलेको छ।

वनमन्त्री यादवले मधेस प्रदेशमा पर्यापर्यटन बढाउन र भारतीय पर्यटकलाई अकर्षित गर्न यस भेगमा चिडियाखाना आवश्यक रहेको औल्याउँदै आएका थिए। चिडियाखाना स्थापनापछि अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा मन्त्री यादवको छ।  

उक्त चिडियाखाना १ अर्ब १ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण गरिने भएको मन्त्रालयले जनाएको छ। चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत पेस गरिसकेको छ।

प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाको साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनु पर्ने बताइएको छ।

जैविक विविधता शिक्षा प्रवर्द्धन तथा वन्यजन्तुको कल्याण समेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको चिडियाखाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको सुनिश्चित हुने गरी प्रस्तावित चिडियाखाना स्थापना र सञ्चालन गर्नुपर्ने उक्त अध्ययन प्रतिवेदनको राय छ।

के के हुन्छ चिडियाखानामा

पर्साको सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर छ, जसमा घाँस बुट्यान क्षेत्रले ३९.४ हेक्टर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ।

उष्ण साल वनक्षेत्र रहेको उक्त वनमा वनस्पतिका मुख्य प्रजाति साल, कर्मा छ भने कहिलेकाहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सी, वनबिरालो, पुड्के बँदेल, चौंका छन्। पक्षीमा सुगा, मैना, गरुड र सारस पनि पाइन्छन्। घस्रने जीवमा गोमनसँगै विभिन्न प्रकारका सर्प पाइने गरेकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त ठहर गरिएको बताइएको छ ।