BIZMANDU
www.bizmandu.com

गौतम अडानी बने विश्वको दोस्रो धनी व्यक्ति, उनको नेटवर्थ आज मात्रै ५ अर्ब डलरले बढ्यो

२०७९ भदौ ३१

काठमाडौं। भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रियल-टाइम अर्बपतिहरूको सूची अनुसार अडानी शुक्रबार फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।

Tata
Global Ime

अडानी र उनको परिवारको कुल सम्पत्ति १५५.४ अर्ब डलर पुगेको छ। अडानी अब टेस्ला प्रमुख इलन मस्क भन्दा पछि छन् जसको कुल सम्पत्ति २७३.५ अर्ब डलर रहेको छ।

फोर्ब्सको सूचीमा शीर्ष १० मा दुई भारतीय छन् भने मुकेश अम्बानी ९२.२ अर्ब डलरको सम्पत्तिका साथ आठौं स्थानमा छन्। अमेजनका संस्थापक जेफ बेजोस १४९.७ अर्ब डलरको कुल सम्पत्तिका साथ तेस्रो नम्बरमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको १०५.३ अर्ब डलर, ल्यारी एलिसन ९८.३ अर्ब डलर र वाल स्ट्रिटका लगानीकर्ता वारेन बफेट ९६.५ अर्ब डलरको नेटवर्थ रहेका छन्।

गत महिना मात्रै अडानीले गेट्सलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका थिए। फोर्ब्समा अडानीको र्‍याकिङमा यो उछाल अडानी समूहको कम्पनीको सेयर बढेर भएको हो। अडानी र मस्क बाहेक शीर्ष १० मा रहेका अरु सबै अर्बपतिहरुको नेटवर्थ शुक्रबार घटेको छ।

अडानीको सम्पत्ति आजमात्र करिब ५ अर्ब डलर बढेको छ। जबकि एनाल्टको कुल सम्पत्ति १.९७ प्रतिशतले ३.१ अर्ब डलरले घटेको छ। अडानी इन्टरप्राइजेज, अडानी पोर्ट र अडानी ट्रान्समिसन सेयर बजारमा सूचीकृत छन्। ती कम्पनीले बीएसईमा आफ्नो रेकर्ड बनाएका छन्।