काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएर प्रक्रिया अघि बढेपछि इलामको सूर्योदय नगरपालिकामा संघ सरकारले ५० करोडका कार्यक्रम घोषणा गरेको छ।
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र पारेर एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत आयोजना घोषणा गरिएको हो। खनाल र सहरी विकास मन्त्री मेटमणि चौधरीले शुक्रबार ती आयोजनाअन्तर्गत ६ महत्त्वपूर्ण सडक निर्माणका लागि शिलान्यास गरे।
सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे–छिरुवा सडक, रातमाटे–मानेडाँडा सडक, माने भन्ज्याङ–च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको हो। आयआर्जनजन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षणदेखि पोखरी सौन्दर्यकरणसम्मका योजना रहेको शिलान्यास कार्यक्रममा बताइयो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले सूर्योदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमुना बनाउने बताए। इलाम हिरा हो तर कुद्न बाँकी छ भन्दै खनालले भने, 'रिङरोडको विकास, सन्दकपुरको थप विकास, श्रीअन्तु डाँडाको सुन्दरतामा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तर्राष्ट्रियकरण गरिने छ। व्यापार, बिजनेस थप बढ्ने छ।'
सहरी विकास मन्त्री चौधरीले खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन सहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए। पहिलो पटक इलाम आएको बताउदै मन्त्री चाधरीले सुनाए, 'यहाँका जनताले चाहे जस्तो विकसित सहर बनाउन पहल हुनेछ । सुन्दर चिया बगान देख्दा निकै आनन्द लागेको छ। इलामको विकासमा पैसाको कमी हुने छैन।'
मुलुकमा नयाँ संस्कार बसाल्न जरुरी छ भन्दै मन्त्री चौधरीले भने, 'विकासमा सबैले हातेमालो गर्न जरुरी छ। एक्लैले केही गर्न सकिदैन तर मिल्यौं भने गर्न नसकिने भन्ने केही नै हुँदैन।'
सूर्योदय नगरपालिकाका मेयर रनबहादुर राईले इलामको विकासका लागि पूर्वप्रधानमन्त्री खनाल र सहरी मन्त्री चौधरीले गरेको प्रयासको प्रशंसा गरेका थिए ।
सहरी विकास मन्त्रालयका उपमहानिर्देशक नारायण भण्डारीले एकीकृत सहरी विकास कार्यक्रमले इलामका जनतालाई थप उन्नत बनाउने धारणा राखेका थिए।
त्यसैगरी सघन सहरी तथा भवन निर्माण विभाग झापाका आयोजना प्रमुख सुदीप पौडेल सहरीकरणसँगै आयआर्जनमा पनि सुधार हुनुका साथै सबै आयोजना समयमै सम्पन्न हुने बताए।