काठमाडौं। गाडी बिक्रीका लागि सबैभन्दा राम्रो समय हो दसैं। त्यही भएर दसैंलाई लक्षित गर्दै गाडी बिक्रेताले आकर्षक अफरसहितका योजना सार्वजनिक गर्न थालेका छन्।
तरलता अभावका कारण गाडी बिक्री सन्तोषजनक छैन। त्यसमा पनि विदेशी संचिति घटेको भन्दै सरकारले प्यासेन्जर भेहिकलमा प्रतिवन्ध लगाएको छ। अहिले गाडी बिक्रेताले स्टकमा रहेको गाडी बेच्नका लागि अफर ल्याएका हुन्। अहिले गाडी व्यापारमा पोहोरको जस्तो 'कटथ्रोट कम्पिटिसन' भने छैन।
टाटाको गाडी बिक्रेता सिप्रदी ट्रेडिङले दसै अफर केही दिनभित्रै सार्वजनिक गर्ने जनाएको छ। कम्पनीका कर्पोरेट ब्राण्ड तथा कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले स्टकमा रहेको गाडी बिक्रीका लागि अफर ल्याउने जानकारी दिए।
'यो पटक स्टकमा रहेका गाडी बिक्रीका लागि मात्र अफर ल्याउन सकिने अवस्था छ। नयाँ गाडीको लागि बैंकले सहजीकरण नगर्ने बताएको छ,' उनले भने।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसै-तिहारको अवसर पारेर 'हुन्डाई फेस्टिभ डिलाइट २०७९' अफर योजना ल्याएको छ। कम्पनीले यो योजनामा हुन्डाईको कुनै पनि मोडलको गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको छुट पाउन सकिने बताएको छ।
योजना अन्तर्गत गाडीको खरीदमा उपलब्ध हुने स्क्रयाच कार्डमा एक लाख ५० हजार रुपैयाँसम्मको पनि छुट पाउन सक्ने कम्पनीले जनाएको छ। योजनामा एक वर्षको बीमा तथा सडक कर पनि कम्पनीले ब्योहोर्नेछ।
यस्तै अर्को ब्रान्ड फक्सवागन गाडीको आधिकारिक विक्रेता पूजा इन्टरनेशनलले दसैंतिहारलाई लक्षित गर्दै 'अनबिटेबल फेस्टिभ अफर' ल्याएको छ।
यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चार पांग्रे सवारी साधनको खरिदमा ग्राहकले ०.९९ प्रतिशतदेखि माथि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 'अनबिटेबल कार, अनबिटेबल अफर' योजनामा फाइनान्सिङ सुविधा समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार टेस्ट ड्राइभका लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने छन्।
यसैगरी प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो दसैतिहारलाई लक्षित गरेर नयाँ अफर 'गन्तव्य खुशीयालीको' योजना ल्याएको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिन्छ।
अफरमा पहिलो वर्षको सडक कर र बीमा पाउनुका साथै सहज इनहाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिने कम्पनीले जनाएको छ।
यो अफर प्रोटोनका सागा सेडान र एक्स् -५० र एक्स्-७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गते देखि देशभर सीमित अवधिको लागि मात्र लागु हुनेछ।
चेरी गाडीको आधिकारीक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले 'चेरी चाडपर्व अफर' सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको सो योजनामा चेरीका गाडी किन्ने ग्राहकले ५ लाख ८९ हजार ८०० रुपैयाँ बराबरको स्कीम पाउने जनाएको छ।
सो अफर योजना चेरीका सबै प्रो सिरिज चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रो को खरिदमा लागू हुनेछ।
यी वाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर छुट पाउने कम्पनीले जनाएको छ। त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधा समेत प्राप्त हुने कम्पनीले जनाएको छ।
यसैगरी सिजी मोटरले नेपालमा विक्री गर्दै आएको नेटा भी इलेक्ट्रीक क्रसओभरमा कम्पनीले दसैं अफर ल्याएको छ। 'इलेक्ट्रिफाई दिस फेस्टिभ सिजन' नामक योजनामा कम्पनीले १ लाख ४० हजारसम्मको सुविधा पाउने छन्।
सिजी मोटरले हरेक नेटा भी खरीद गर्ने ग्राहकलाई बीमा र एउटा ६/६ किलोवाटको चार्जर उपलब्ध गराउने जनाएको छ। यसमा अन बोर्ड चार्जर भने ३.३ किलोवाट क्षमाताको आउने कम्पनीले जनाएको छ।
कम्पनीले लक्की ड्र मार्फत सिजीको ७५ इन्च फोर के यूएचडी स्मार्ट टिभी, मेघौली सेराईमा दुई जनालाई छुट्टी मनाउने अवसर र ५५० लिटरको सिजीको रेफ्रिजेरेटर पाउन सक्ने जनाएको छ।
यसैगरी रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले 'चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ' नामक चाडपर्व लक्षित 'रेनो उत्सव' अफर योजना सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अफरमा गाडी किन्ने ग्राहकले एक वर्षसम्म हाल्ने पेट्रोलको पैसा विक्रेताबाट फिर्ता पाउने छन्।
कम्पनीका अनुसार यो योजना अवधिभर रेनोको कुनै पनि मोडलको नयाँ गाडीको खरीदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङको सुविधा पाउने छन्।
रेनो उत्सवमा गाडी किन्ने ग्राहकले एक्सचेन्ज बोनस, ब्राण्ड लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो रेनोको सबै मोडलहरुको खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
चांगन गाडीको आधिकारीक विक्रेता एमएडब्लू वृद्धिले दसैंलाई लक्षित गर्दै 'दसै डिलाइट' अफर योजना ल्याएको छ। अफर अन्तर्गत चांगन एल्सभीन किन्ने ग्राहकले ८ लाख डाउन पेमेन्ट गर्दा पुग्ने योजना ल्याएको हो। साथै, चांगनको हन्टर पीकअप किन्न चाहने ग्राहकले १५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने जनाएको छ।
कम्पनीले ग्राहकलाई आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र एक वर्षको सवारीसाधन कर पाउने अफर पनि ल्याएको छ।
यस्तै फोर्स मोटर्सको आधिकारीक विक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले पनि दसैं-तिहारको अवसरमा फोर्सका गाडी किन्दा आकर्षक नगद छुटको साथमा वासिङ मेसिन, स्मार्ट टिभी, स्मार्ट फोनलगायत उपहार जित्न सक्ने योजना ल्याएको छ।
होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले दसैं-तिहार अफर योजना ल्याएको छ। 'होण्डाको गाडी सुनको चावी' नामक अफरमा भाग्यशाली विजेताले वम्परमा १ तोला सुन उपहार पाउनेछन्।
यसैगरी ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिकको वर्षको कर नि:शुल्क, ५ वर्षसम्म फ्रि सर्भिसिङ, एक वर्षको फ्रि इन्सुरेन्स र नि:शुल्क एसेसोरिज समेत पाउने कम्पनीले जनायो।
नेपाली बजारमा होण्डाको अमेज, सिटी, विआर-भी, ज्याज, सिआर-भी र डव्लुआर-भी लगायत मोडलका कारहरु उपलब्ध छन्।