BIZMANDU
www.bizmandu.com

८ वर्षपछि युरोपेली युनियनको टोली हवाई सुरक्षा अडिटका लागि आउँदै, कालोसूचीबाट हट्ने !

२०७९ असोज २

८ वर्षपछि युरोपेली युनियनको टोली हवाई सुरक्षा अडिटका लागि आउँदै, कालोसूचीबाट हट्ने !
८ वर्षपछि युरोपेली युनियनको टोली हवाई सुरक्षा अडिटका लागि आउँदै, कालोसूचीबाट हट्ने !


काठमाडौं। मुलुकको हवाई सुरक्षा अडिटका लागि युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी(इआसा) को प्राविधिक टोली आठ वर्षपछि नेपाल आउने भएको छ।

Tata
Global Ime

यो टोलीले दसैंको टिकाको भोलिपल्टैदेखि सम्परीक्षण (अडिट)को काम सुरु गर्नेछ। इआसाको टोली सन् २०१४ मा अडिटका लागि नेपाल आएको थियो। इआसाले आफ्नो टोली सेप्टेम्बरमा आउने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई केही दिन अघि पत्राचार गरेको थियो। यो टोली आउने निश्चिततासँगै नेपाल सुरक्षा सूचीबाट बाहिर आउने सम्भावना पनि बलियो भएको छ।

यो टोलीले अडिट गरेपछि नेपाल युरोप उडानका लागि सुरक्षामा जोखिमको सूचीबाट हट्ने अपेक्षा सरकारी अधिकारीहरुको छ। नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले  २०१३ डिसेम्बर ५ देखि नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो।

आईकाओको सो कार्यसँगै युरोपेली युनियन (ईयू) अन्तर्गका कुनै पनि मुलुकमा नेपाली वायुसेवाको उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 'यो टोलीको अडिटपछि कालोसूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउनेमा हामी विश्वस्त छौं,' प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिजमाण्डूसँग भने, 'यो अडिट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ।'

प्राधिकरणका अनुसार यो हवाई सुरक्षा अडिट चार दिनको रहनेछ। टोलीले विधान,संस्था, एयर वर्दिनेस, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउण्ड एड्स, एक्सिडेन्ट इन्भेस्टिगेसन लगायत आठ क्षेत्रमा अध्ययन गर्नेछ। यो टोली आउने भएपछि नेपाल-अमेरिका सिधा उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु भइरहेको छ। 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले केही समय अगाडि इआसाको अडिटलगत्तै युरोप, अमेरिका लगायतका पश्चिमा मुलुकमा नेपाली वायुसेवाले सिधा उडान सुरु गर्ने बताएका थिए। 'नेपालमा आउने धेरै पर्यटक भारत, चीन र बंगलादेशका हुन्। त्यसपछि मात्र अमेरिका र  युरोपका हुन्। तर हामीलाई पश्चिमा मुलुकका पर्यटक पनि उत्तिकै आवश्यक छ,' मन्त्री श्रेष्ठले भनेका थिए, 'इआसाको अनसाइट अडिटलगत्तै युरोप अमेरिका सिधा उडान हुनेछ।'

पर्यटनमन्त्री श्रेष्ठ हवाई सेवा सेवा प्रदायक र नियमनकारी निकायका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन नगरि कालोसूचीबाट हट्नेमा विश्वस्त छन्। ईयूले कालोसूचीबाट हट्न प्राधिकरण विभाजन गर्नुपर्ने सर्त समेत राखेको थियो।

कालोसूचीबाट हट्ने ती अधिकारीको तर्कमा नेपालले हवाई उड्डयन क्षेत्रमा गरेका केही सुधार मुख्य विषय छन्। गत अप्रिलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को टोली आएर परीक्षण गर्दा नेपालले धेरै नै सुधार गरेको देखिएको थियो। नेपालको विस्तृत सुरक्षा अडिटमार्फत परिपालन दर ७०.१ प्रतिशत कायम भएको आइकाओको अडिटले देखाएको थियो।

आइकाओका अनुसार हरेक मुलुकको हवाई सुरक्षा सुधार ६० प्रतिशत वा सोभन्दा माथि कायम हुनुपर्छ। पछिल्लो समयमा नेपालले विभिन्न मुलुकमा भएको उड्डयन सम्बन्धि सम्मेलनमा नेपाललाई तत्काल सुरक्षा सूचीबाट हटाउन माग गर्दै आएको छ।

कालोसूचीमा रहँदाको नोक्सानी

कालोसूचीका कारण नेपाली वायुसेवा ईयू अन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन्। नेपाल वायुसेवा निगमले महँगो ब्याज तिरेर किनेको वाइडबडीले भारत, मलेसिया, दोहा, साउदी अरब लगायतका गन्तब्यमा मात्रै उडान गर्नुपरेको छ। निगमको सबैभन्दा लामो दुरी भनेको नारिता मात्रै हो। २७४ सीटको जहाज छोटो दूरीमा उडान गर्दा नाफा कम छ।

त्यस्तै चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले समेत युरोप उडान गर्न पाएको छैन। युरोपमा सीधा उडान नहुँदा पर्यटन प्रवर्द्धनमा पनि असर गरेको छ। युरोपका धेरै देशमा अध्ययनका लागि जाने नेपालीको संख्या ठूलो छ। ती देशमा राष्ट्रिय ध्वजावाहक एनसीको उडान भएमा नेपालीहरुलाई पनि सहजता हुनेछ।

त्यति मात्रै होइन सन् २०१३ देखि कालोसूचीमा परेकै कारण श्री एयरलाइन्सले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमबाट फिर्ता आउनु परेको थियो।