BIZMANDU
www.bizmandu.com

कोरोना महामारीपछि एनटर्कको बिक्री चम्किँदा शंकर समूहको जगदम्बा मोटर्सको व्यापारमा उछाल 

२०७९ असोज ३

कोरोना महामारीपछि एनटर्कको बिक्री चम्किँदा शंकर समूहको जगदम्बा मोटर्सको व्यापारमा उछाल 
कोरोना महामारीपछि एनटर्कको बिक्री चम्किँदा शंकर समूहको जगदम्बा मोटर्सको व्यापारमा उछाल 



काठमाडौं। शंकर समूहको जगदम्बा मोटर्सले एकै वर्षमा १३ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको छ। टीभीएस र प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२१/२२ मा साढे १३ अर्बभन्दा बढीको  कारोबार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ। 

Tata
Global Ime

टीभीएस एनटर्क १२५ सीसीको व्यापार बढ्दा कम्पनीको कारोबार पनि बढेको छ। कोरोना महामारीका समयमा व्यापार घटेको थियो। संक्रमण दर र प्रभाव घटेसँगै एनटर्कको बिक्री दोब्बरभन्दा बढीले बढेको देखिन्छ। 

२०२१ मा कम्पनीले १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ र २०२० मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। भारतको टीभीएस मोटर्स कम्पनी लिमिटेडले उत्पादन गर्ने दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन जगदम्बा मोटर्सले नेपालमा बिक्री गर्छ।

कम्पनीले युएईको एडीएनओसी लुब्रिकेन्ट्स पनि नेपालमा बिक्री गर्छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार २०२२ मा जगदम्बा मोटर्सले दुई पाङ्ग्रेमा २० प्रतिशत र तीन पाङ्ग्रेमा ३० प्रतिशत बजार हिस्सा ‌ओगट्न सफल भएको छ। 

कम्पनीले मोटरसाइकल सेग्मेन्टमा १०० सीसीदेखि ३१० सीसी, स्कुटरमा ११० सीसी र १२५ सीसी बिक्री गरिरहेको छ। जगदम्बा मोटर्सले होन्डा, बजाज, हिरो, यामाहा लगायतका ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।  

स्टिल, सिमेन्ट, पोलिमर्स, ट्रेडिङ, हस्पिटालिटी, इन्स्योरेन्स लगायतका क्षेत्रमा जगदम्बा समूहको लगानी छ। कम्पनीको समग्र व्यवस्थापन शंकर ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक साहिल अग्रवालले हेर्दै आएका छन्।   

कम्पनीले ५ अर्ब २० करोड रुपैयाँ बैंकिंङ कर्जाका लागि इन्फोमेरिक्सबाट रेटिङ पाएको छ। 

४२ करोड ६३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी प्लस र ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए टु रेटिङ पाएको छ।