BIZMANDU
www.bizmandu.com

क्षमता विस्तारमा ‘राइड सेयरिङ’ पठाओ, स्थापना भएको चार वर्षमा चितवनमा सेवा विस्तार गर्दै

२०७९ असोज ४

काठमाडौं। राइड सेयरिङ प्लाटफर्म पठाओले स्थापनाको चार वर्षमा काठमाडौं उपत्यका बाहिर पनि सेवा विस्तार गर्ने भएको छ। आफ्नो राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा पठाओले गरेको छ।

Tata
Global Ime

कम्पनीले सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ। यो प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको बताउँदै पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालले भनिन्, 'चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो। करिब सबै तयारीहरू पुरा भइसकेका छन्। पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ। आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ।’

चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारीचालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने उनले जानकारी दिइन्।

कम्पनीको बीमाअन्तर्गत हरेक यात्रामा एक लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध रहेको जनाइएको छ।

पठाओमा कागजात प्रमाणीकरण र तालिमपश्चात् मात्रै राइडर्सहरुले सेवा प्रदान गर्ने भएकाले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको जनाइएको छ ।

सेवा उपभोग गर्दा कुनै समस्या परे २४सै घण्टा कल सेन्टरमा सम्पर्क गरी गुनासो तथा उजुरी गर्न सकिने कम्पनीले जनाएको छ।