BIZMANDU
www.bizmandu.com

७० अंक ल्याए पास हुने लाइसेन्स निर्देशिका कार्यान्वयन नगर्न वाग्मती प्रदेशको बहानाबाजी

२०७९ असोज ४

७० अंक ल्याए पास हुने लाइसेन्स निर्देशिका कार्यान्वयन नगर्न वाग्मती प्रदेशको बहानाबाजी
७० अंक ल्याए पास हुने लाइसेन्स निर्देशिका कार्यान्वयन नगर्न वाग्मती प्रदेशको बहानाबाजी


काठमाडौं। वाग्मती प्रदेशले असोजदेखि लागु गर्ने भनेको ७० अंकभारमा ट्रायल पास हुने निर्देशिका फेरि स्थगित गरेको छ।

Tata
Global Ime

यातायात व्यवस्था विभागले चैत २०७७ मै निर्देशिका जारी गरे पनि तयारी नपुगेको भन्दै वाग्मती प्रदेशले लागू गरेको थिएन। यो निर्देशिका जारी भएको डेढ वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पहल गरेका थिए।उनकै अगुवाईमा वाग्मती लगायत अन्य प्रदेशले समेत यो निर्देशिका कार्यान्वन गर्ने सहमति भएको थियो।

तर वाग्मती प्रदेशले भने उक्त ७० अंकभार ल्याए ट्रायल पास हुने निर्देशिका लागु गर्न आलटाल गरिरहेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मतीले निर्देशिका तत्काल लागू नगर्ने व्यहोराको पत्र गत शुक्रबार पठाएको छ।

वाग्मती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार यसका लागि तयारी अझै नपुगेको कारण फेरि केही समय यो निर्देशिका लागु गर्न नसकिएको हो।

'हामीले यही महिना लागु गर्ने गरी तयारी गरेका हौं। तर तयारी पुरा नभएका कारण कार्यान्वयनमा ल्याउन कठिन भयो,' उनले भने, 'यसका लागि मन्त्रालयले आन्तरिक रूपमा छलफल गरी छिट्टै निर्णय गरिनेछ।'

यो नयाँ निर्देशिकाअनुसार ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ। अहिले एउटा गल्ती गर्ने बित्तिकै परीक्षार्थी फेल हुन्छन्। फेल हुनेहरुले लाइसेन्स पाउन दलाल र कर्मचारीलाई घूस खुवाएर वा आर्थिक लेनदेनको बाटो प्रयोग गर्छन्।

नयाँ व्यवस्थाले वाग्मती प्रदेशमा ६० प्रतिशतभन्दा बढी पास हुने अनुमान गरिएको थियो।