काठमाडौं। ट्राफिक प्रहरीले चाडपर्वमा लामो दुरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगीबाट जोगाउन र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो।
थानकोट, नागढुंगा, जगाति, फर्पिङ, बाइपास, बालाजु लगायतका स्थानमा लामो दुरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ। ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ।
यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने गाडीलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ।
कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ।
राजधानीबाट विभिन्न गन्तव्यमा जान लाग्ने भाडादर र यात्रुलाई त्यहाँसम्म सजिलै जानका लागि आवश्यक समन्वय यात्रु सहायता कक्षमार्फत गर्ने प्रवक्ता भट्टले बताए।