काठमाडौं। चार महिना अघि संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेशविन्दु खुलाउने पहल थालेको छ।
नयाँ सरकार आएपछि महेन्द्रनगर प्रवेश विन्दुका लागि भारतसँग 'नेगोसिएसन' अगाडि बढाएको थियो। शेरबहादुर देउवा सरकारप्रति भारत सकारात्मक रहेकाले पनि महेन्द्रनगर विन्दुमा 'नेगोसिएसन' राम्रो भइरहेको स्रोतले बतायो।
भैरहवासँगै संचालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि महेन्द्रनगर प्रवेश विन्दु 'लिमा ६२६' नै उपयुक्त रहेको हवाई विज्ञले बताएका छन्।
अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा 'गल्फ ५९८' प्रवेश विन्दुमात्र प्रयोग गर्दै आएका छन्। यो प्रवेश विन्दु मार्फत काठमाडौं र भविष्यमा संचालनमा आउन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त हुने ठहर छ। पर्यटन मन्त्रालयले भैरहवा, नेपालगंज र महेन्द्रनगर तीनवटै विन्दुका लागि कुटनीतिक तवरले भारतसँग पहल भइरहेको पर्यटन मन्त्री जीवनराम श्रेष्ठले बताए।
महेन्द्रनगर हवाई प्रवेश विन्दु अन्य प्रवेशविन्दुको तुलनामा राम्रो रहेको बताउँदै ती प्राविधिकले बिजमाण्डूसँग भने-'महेन्द्रनगर प्रवेश विन्दु खुला भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा, पोखरा, निजगढ लगायत सबै विमानस्थलमा सहज हुन्छ।' उनका अनुसार महेन्द्रनगर प्रवेश विन्दु भएमा भैरहवा विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याउन सहज हुन्छ।
'सिमरा प्रवेशविन्दु भन्दा महेन्द्रनगरबाट जहाज आउन पाएमा गौतम बुद्धमा २० मिनेटको अन्तर हुने देखिएको छ,' उनले भने,' दिल्लीबाट महेन्द्रनगर प्रवेश विन्दु हुँदै भैरहवा आउँदा छोटो दुरी पर्न आउँछ। तर सिमरा प्रवेश विन्दु हुँदै भैरहवा आउँदा पुर्व गएर पश्चिम आउँदा त दुरी बढ्नु स्वभाविक हो।' हाल भारतले महेन्द्रनगर र भैरहवा प्रवेश विन्दुबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई बाहिर जान मात्र दिएको छ।
सरकारले पहल गरेको हवाई प्रवेशविन्दु मध्ये महेन्द्रनगर नै उपयुक्त हुने उड्डयन विज्ञ एवं पूर्व वरिष्ठ पाइलट कृष्ण विक्रम क्षेत्री बताउँछन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि सिमरा प्रवेश विन्दु प्रयोग गर्दा १० देखि २० मिनेट हवाई दुरी लामो रहने उनले जानकारी दिए।
'महेन्द्रनगर प्रवेश विन्दुबाट आउन दियो भने सहजै भैरहवा र पोखरा अवतरण गर्न सकिन्छ,' उनले भने, 'तर भैरहवा प्रवेशविन्दु खुला गर्दा भारतले कम उचाईमा स्पेश दिनुपर्ने हुन्छ। यसका लागि २० हजार फीटमा आउन दियो भने सहज हुन्छ। तर ३२ हजार फीट उचाईमा प्रवेश विन्दु दियो भने सहज हुँदैन।'
नेपालगंज प्रवेश विन्दु त्यति उपयुक्त नरहने बताउँदै उनले भने,'नेपालगंज र भैरहवाबीच एउटा विन्दु छ। यो मार्फत दाङ हुँदै भैरहवा छिर्न सहज हुन्थ्यो। तर बागडोरा, जोगवनी, रक्सौंल, गोरखपुर, रायबरेली लगायत क्षेत्रमा रहेको एयरफोर्सका कारण देखाउँदै भारतले यो प्रवेश विन्दु नदिएको हो।'
अहिले निजगढमा बनाउन लागिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि सिमरा प्रवेश विन्दु नै उपयुक्त हुने जनाइएको छ। उनका अनुसार यस अघि नेपालले यी चार प्रवेश विन्दुसँगै जनकपुर र विराटनगर प्रवेशविन्दु खुलाउन माग गरेको थियो।
अहिले २० वटा भन्दा बढी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक उडान गर्दै आएको छ। भारत, चीन, बंगलादेश, कुवेत, दुवई, साउदी अरेबिया, जापान, थाइल्याण्ड, सिंगापुर, ओमान, मस्कट, कतार, मलेसिया, टर्की लगायत विभिन्न मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ।
सरकारले पछिल्लो समय अस्ट्रेलिया, अमेरिका र इण्डोनेसियामा पनि सिधा उडान गर्ने योजना अगाडि बढाएको छ।