BIZMANDU
www.bizmandu.com

बजारमूल्य घट्न थालेपछि खाद्य कम्पनीमा पनि घट्यो तेल, दाल र मैदाको मूल्य 

२०७९ असोज ५

बजारमूल्य घट्न थालेपछि खाद्य कम्पनीमा पनि घट्यो तेल, दाल र मैदाको मूल्य 
बजारमूल्य घट्न थालेपछि खाद्य कम्पनीमा पनि घट्यो तेल, दाल र मैदाको मूल्य 


काठमाडौं। सरकारी कम्पनीको खाद्यान्न खरिद गर्नेहरुलाई दसैंका मुखमा केही राहत हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसलमा बिक्री हुँदै आएको खाद्यान्नको भाउ घटाएकाले तेल, मैदा र दालका मूल्यमा केही राहत हुने भएको हो।

Tata
Global Ime

प्रतिष्पर्धी बजारमा प्रचलित दर क्रमिक घटेकाले कम्पनी दबाबमा परेको थियो। कम्पनीले खानेतेलमा सूर्यमुखी, भट्मास, तोरी तेल, मैदा र मुसुरो दालको मूल्य घटाएको जनाएको छ।

बजारमा खाद्यान्नको मूल्य घट्न थालेपछि कम्पनीले पनि घटाउनु स्वाभाविक भएको सूचना अधिकारी सर्मिला सुवेदीले बताइन। 'कम्पनीले अलि अगाडि खरिद गरेको स्टक थियो, अहिले बजारमूल्य घटेकाले घाटा खाएर भए पनि मूल्य घटाएर बिक्री गर्न लागेको हो,' उनले भनिन्।

सरकारी कम्पनी भएकाले बजारमा प्रचलितका तुलनामा सहुलियत दिने पनि नीति रहेको उनले बताइन। 'उपभोक्तालाई सहुलियत दिने पसलमा बाहिर बजारको भन्दा बढी मूल्य हुँदा नराम्रो असर पर्ने भएकोले मूल्य प्रतिकेजी ८ रुपैयाँसम्म घटाइएको हो,' उनले भनिन्।

जसमा तोरीको  तेल छुटसहित प्रतिलिटर २ सय ७५ र सूर्यमुखी तेल २ सय ८५ रुपैयाँ छ। भटमासको तेलमा ५ रुपैयाँ घटाएको छ। अब भटमासको तेल छुटसहित प्रतिलिटर २ सय ४० रुपैयाँ हुनेछ।

त्यस्तै मुसुरोको दालमा प्रतिकेजी ८ रुपैयाँ घटाएको छ। जसमा प्रतिकेजी १ सय ६० रुपैयाँबाट घटाएर प्रतिकेजी १ सय ५२ रुपैयाँ बनाएको छ। यसमा पनि उपभोक्ताले प्रतिकेजी ७ रुपैयाँ छुट पाउने छन्। कम्पनीले मैदामा ४ रुपैयाँ घटाएर प्रतिकेजी ८७ रुपैयाँ कायम गरेको छ। यसअघि कम्पनीले मैदा प्रतिकेजी ९१ रुपैयाँ तोकेको थियो। 

कम्पनीले खाद्यान्न साल्ट ट्रेडिङ र अन्य व्यवसायीहरुसँग खरिद गर्दै आएको छ।

पछिल्लो समय कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा बिक्री गर्दै आएको खाद्यान्न बाहिर बजारको भन्दा महँगो भएकोमा आलोचना भएपछि पनि मूल्य घटाउन दबाब परेको हो। 

कम्पनीले काठमाडौं उपत्यका र बाहिर आफ्ना शाखा कार्यालय तथा बिक्री कक्षमार्फत खाद्यान्न बिक्री गर्दै आएको छ।