BIZMANDU
www.bizmandu.com

चाडपर्व लक्षित सवारीको रुट परमिट खुला, जुनसुकै सार्वजनिक सवारी जताको रुटमा पनि चल्न पाउने

२०७९ असोज १०

काठमाडौं। दसैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

Tata
Global Ime

दसैंको कोजाग्रत पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीमा भने बन्देज कायम रहने जनाएको छ।

दसैंका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गतवर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यो वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए।

काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासंघले जनाएको छ।

उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ।’

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक १८ र २० चक्के सवारीसाधन चल्न पाउने छैनन्। विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ। सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए।

दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभी इक्विपमेन्ट’ ठाउँ-ठाउँमा राख्न सडक विभागलाई महासंघले अनुरोध समेत गरेको छ।

चालु वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी छन्। वर्षा नरोकिएकाले ठाउँ-ठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ।