काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म स्मार्ट सडक बत्ती जडान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक खण्ड सडकको बीच भागमा रहेको मेडियन स्ट्रीप-आइल्यान्डमा बत्ति जडान गरी सञ्चालनमा ल्याएको हो।
आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका स्मार्ट बत्ती जडान गरेको छ। राति बत्तीको उज्यालोले कोटेश्वर-सूर्यविनायक खण्ड झिलिमिली बनेको छ। विद्युत कम खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा बत्ती जडान गरिएको हो।
काठमाडौं महानगरपालिका, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको यात्रा सुरक्षित बनाउनुका साथै सडक तथा सहरी सौन्दर्य बढाउन स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए।
‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारीचालकलाई फाइदा भएको छ। उज्यालोले सडक सुरक्षित बनेको छ, यसले सहरी सुन्दरता बढाउने काम पनि गरेको छ,' उनले भने।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। कोटेश्वर-सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ। सडक बत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ।
स्मार्ट बत्ति सञ्चालनको प्रणाली प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ।
प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक साँस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ। पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ।