BIZMANDU
www.bizmandu.com

कियाले आयात प्रतिबन्ध अघिनै सूचना धुतेर मगाएको ६०० गाडी बिक्री गर्न सकेन, दसैंमा पनि गएन

२०७९ असोज २७

कियाले आयात प्रतिबन्ध अघिनै सूचना धुतेर मगाएको ६०० गाडी बिक्री गर्न सकेन, दसैंमा पनि गएन
कियाले आयात प्रतिबन्ध अघिनै सूचना धुतेर मगाएको ६०० गाडी बिक्री गर्न सकेन, दसैंमा पनि गएन


काठमाडौं। नेपालमा कियाको गाडी बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले पहुँचका आधारमा पहिले नै गाडीको आयातमा प्रतिबन्ध लाग्ने सूचना पाएको थियो।

Tata
Global Ime

त्यसपछि उसले हतारहतार नबिल बैंकसँग ६०० गाडीको प्रतितपत्र खोल्यो। पेट्रोलियम इन्धनबाट चल्ने गाडी बिक्री गर्ने अन्य कम्पनीले एलसी खोल्नै पाएनन्।

कियाले एकलौटी ६०० गाडीको एलसी खोलेकाले बजार कब्जा गर्ने अनुमान सबैको थियो। त्यसैले अन्य सबै गाडी बिक्रेताहरुले प्रतिबन्ध नलगाउन माग पनि गरे। प्रतिबन्ध अझै असोज २८ गतेसम्म कायमै छ। तर, कियाले जसरी पहिले सूचना पाएर गाडी भित्र्यायो, त्यो अनुसार भने बिक्री गर्न सकेन।

विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात प्रतिबन्ध लगाएको थियो। शोधनान्तर तथा चालु खाता घाटा बढेका कारण विदेशी मुद्राको सञ्चिति तीब्र रुपमा घटेको थियो।

यही कारण आन्तरिक बजारमा तरलता संकट पर्‍यो भने, ऋण उपलब्ध हुन नसक्दा आर्थिक क्रियाकलाप पनि खुम्चियो। बैंकले ब्याज दर पनि बढाए। राष्ट्र बैंकले अप्रत्यक्ष रुपमा गाडी कर्जामा पनि कडाइ गर्‍यो। 

चौतर्फी कारणले कियाको गाडी जसरी बिक्री हुन्छ भनिएको थियो त्यो अनुसार बिक्री नभएको हो। शंकास्पद ढंगबाट सूचना बाहिरिएको दाबी गर्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन समेत गरेको थियो। 

कम्पनीले यसपालीको दसैंमा १० वटा मात्र गाडी बिक्री भएको जनाएको छ। तर बजारमा कियाबाहेकका कम्पनीसँग स्टकमा धेरै गाडीहरु नभएको अटो व्यवसायीहरु बताउँछन्। कियासँग गाडी धेरै भएपनि हाल कम्पनी गाडी किन्ने ग्राहक कुर्दै बसिरहेको छ। कम्पनीका एक कर्मचारीले गाडी धेरै भएपनि किन्ने ग्राहक नै नआएको बताए।

'बैंकले पनि सपोर्ट गरेको छैन। क्यासमा गाडी किन्ने ग्राहक कम हुन्छन्,' ती कर्मचारीले भने। कियाले सेल्टस र सोनेट बढी मगाएको थियो। कम्पनीले ६०० मध्ये कतिवटा बिक्री भयो भन्ने खुलाएको छैन।