काठमाडौं। सोल्टी होटलमा सञ्चालित 'क्लव प्रिवे' तीन वर्षपछि पुनः सञ्चालनमा आएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै क्लब पुनः सञ्चालनमा ल्याइएको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए।
'पर्यटनसँगै नाइट लाइफ पुनः लयमा फर्किसकेको अवस्था छ। आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै हामीले होटलको क्लब पुनः सञ्चालनमा ल्याएका हौं।' उपाध्यक्ष चापागाईंले भने,'यही अवसरमा हामीले चर्चित भारतीय कलाकारमार्फत विशेष प्रस्तुति दिन लागेका हौं।'
उनका अनुसार यो नाइट क्लब होटलले सन् २०१७ बाट सञ्चालनमा ल्याइएको थियो। सुरुआती समयमा एक वर्षसम्म हङकङको एउटा कम्पनीले व्यवस्थापन गरेको यो नाइट क्लबमा यतिखेर नेपाली कम्पनी पल्ज इन्टरटेन्मेन्टको व्यवस्थापन रहेको उनले जानकारी दिए।
शुक्रबार आयोजना हुन लागेको कार्यक्रमका लागि यतिखेर धमाधम बुकिङ भइरहेको क्लबका सीइओ हितेश विष्टले बताए। यही अवसरमा क्लबमा निरन्तर प्रस्तुतिका लागि कम्पनी र साजिदबीच सम्झौता पनि गर्ने योजना रहेको उनले जानकरी दिए। उनका अनुसार शुक्रबार साजिदसँगै आश किङ, डेनिश साब्री, मिलो डी, हारजोत कौर लगायतको प्रस्तुति रहेको छ।
'नेपालको ट्यालेन्टलाई भारतसम्म पुर्याउने उद्धेश्यले हामीले साजिदसँग व्यवसायसक सम्झौता गर्ने योजना बनाएका छौं,' सीइओ विष्टले भने।
लामो समय पछि पुनः सञ्चालनमा आएको प्रिभेले पछिल्लो समय एज ब्याण्ड, अर्थर गन लगायत विभिन्न नेपाली कलाकारको प्रस्तुति आयोजना गरिसकेको उनले जानकारी दिए। क्लबमा १८ सय जना ग्राहकले एकैपटक सेवा लिन सक्ने क्षमता रहेको उनले बताए।
उनका अनुसार यो प्रस्तुतिका लागि इसेवा र दराज लगायत अनलाइन टिकट दर १५ सय रुपैयाँ र डोर टिकटको दुई हजार रुपैयाँ मूल्य निर्धारण गरिएको उनले जानकारी दिए।