BIZMANDU
www.bizmandu.com

बिर्तामोडमा साढे ४ अर्ब लगानीमा पाँचतारे होटल ‘एट्रियम क्यासिनो होटल’ ल्याउँदै दुर्गा प्रसाईं


बिर्तामोडमा साढे ४ अर्ब लगानीमा पाँचतारे होटल ‘एट्रियम क्यासिनो होटल’ ल्याउँदै दुर्गा प्रसाईं
बिर्तामोडमा साढे ४ अर्ब लगानीमा पाँचतारे होटल ‘एट्रियम क्यासिनो होटल’ ल्याउँदै दुर्गा प्रसाईं



काठमाडौं। पूर्वका व्यवसायी दुर्गा प्रसाईँले बिर्तामोडमा साढे ४ अर्ब लगानीमा 'एट्रियम क्यासिनो होटल' ल्याउने भएका छन्। क्यासिनोसहितको होटल आगामी वैशाखबाट सञ्चालनमा ल्याउने लक्ष्य छ। होटलको निर्माण कार्य ७० प्रतिशत सकिएको दाबी संचालक प्रसाईँले गरे।

Tata
Global Ime

आन्तरिकसँगै भारतीय पर्यटकलाई लक्षित गर्दै क्यासिनोसहितको पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउन लागेको उनले जानकारी गराए। होटलमा क्यासिनो सञ्चालनका लागि मकाउका केही कम्पनीले चासो देखाइरहेको उनले बताए।

'नेपालमा क्यासिनोमा मनोरञ्जन गर्न भारतीय र भारत हुँदै विभिन्न देशका पर्यटक आइरहेका छन्। ३० किलोमिटर नजिकै रहेको बागडोगरा एयरपोर्ट हुँदै भारतको २७ वटा राज्यसँगै भुटान, बंगलादेश, थाइल्याण्ड लगायतका देशबाट आउने पर्यटकलाई लक्षित गर्दै यो होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ संचालक प्रसाईंले बिजमाण्डूसँग भने।

विदेशी पर्यटकका लागि सहज पहुँच भएको ठाउँमा होटल सञ्चालनमा ल्याएसँगै पर्यटन उद्योग मात्र नभइ मुलुककै आर्थिक वृद्धिदरमा टेवा पुग्ने उनले जानकारी दिए।

एट्रियम अर्थात् 'बैठक कक्ष' नामको अवधारणामा निर्माण गरिएको होटलको आर्किटेक्चरल डिजाइन प्रसिद्ध कम्पनी माथेमा पार्टनर्स (म्याप) ले गरेको छ। होटल संरचनामा अत्यधिक सिसाको प्रयोग गरिएको छ।

यो होटलमा पाहुनाले अत्याधुनिक सेवा पाउने प्रसाईंले दाबी गरेका छन्। आकर्षक आतिथ्यतासहितको सेवा दिनका लागि होटलमा भारतीय व्यवस्थापन ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिए। यतिखेर होटलले भारतको चारवटा कम्पनीसँग छलफल सुरु गरेको छ।

१ सय १५ वटा कोठा रहेको होटलमा पाँचवटा भिल्लासँगै २५ सय जना क्षमताको बैंक्वेट हल, साउना, फिटनेस सेन्टर, स्विमिङ पुल लगायतको सुविधा रहने उनले जानकारी दिए। पर्यटन विभागको रेटिङ लिन र होटलले रुमदेखि बैंक्वेट हलको रेट भने निर्धारण गर्न बाँकी नै रहेको उनले बताए।

'तत्काल कमाइ हालौं भन्दा पनि धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्य लिएका छौं। यही उद्देश्य अनुसार हामी अगाडि बढ्नेछौं। पर्यटकको आवागमन वृद्धि भएपछि आम्दानी विस्तारै हुँदै जान्छ,’ उनले भने।

होटलमा अहिले एसी जडानको काम भइरहेको छ। होटलमा प्रयोग भइरहेका अधिकांश निर्माण तथा तयारी सामग्री भारतबाट आयात गरिएको उनले जानकारी दिए। 'जनशक्ति दसैं तिहारको बिदामा छन्। तिहारलगत्तै निर्माण कार्यले थप गति लिनेछ,’ उनले भने।

होटलमा प्रयोग गरिएको सिसामा मात्र ३० करोड रुपैयाँ खर्चिएको उनले सुनाए। चार बिघा क्षेत्रफल (५३ रोपनी ४ आना) मा निर्माण भइरहेको होटलको १० हजार वर्गफिट क्षेत्रफलदमा फुड एण्ड बेभरेज, माइसका लागि २१ हजार वर्गफिट र क्यासिनोका लागि १३ हजार वर्गफिट क्षेत्रफल छुट्याइएको छ।